प्रस, वीरगंज, १५ वैशाख/
पिसफोर दलित्स फाउन्डेशनले नयाँ शैक्षिकसत्र २०८० का लागि ‘समयमैं भर्ना, समयमैं ज्ञान ः गुणस्तरीय शिक्षा सबैको अभियान’ नारासहित विद्यालय भर्ना अभियान शुरू गरेको छ ।
पर्सा जिल्लासहित मधेस प्रदेशका आठ जिल्ला तथा नेपालका विभिन्न जिल्लामा विद्यालयबाहिर रहेका दलित बालबालिकाहरूको सङ्ख्या उच्च रहेको विभिन्न तथ्याङ्कले देखाउँदै आएको र यस्तो अवस्थामा विद्यालयबाहिर रहेका विद्यालय उमेर समूहका दलित बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहन गर्ने प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार, स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ तथा विद्यालयहरूलाई फाउन्डेशनले आग्रह गरेको छ ।
विद्यालयबाहिर रहेका दलित बालबालिकाहरूको लगत सङ्कलन, विद्यालयबाहिर रहनुका कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा विद्यालय भर्ना अभियान प्रभावकारी हुने भएकोले विद्यालयबाहिर रहेका दलित बालबालिकाहरूको सङ्ख्या उच्च रहेका गाउँ, टोल र क्षेत्र पहिचान गरी शिविर सञ्चालन गर्ने, जन्मदर्ता नहुँदा विद्यालय भर्ना हुनबाट वञ्चित भएका बालबालिकालाई शिविरमैं जन्मदर्ता गरेर तत्काल भर्ना गरी स्वागत तथा शिविरबाटै पाठ्यपुस्तक उपलब्ध गराउने कार्य गर्नका लागि समेत फाउन्डेशनले आग्रह गरेको छ ।