प्रस, परवानीपुर, १३ वैशाख/

२०८० सालको शैक्षिकसत्र भर्खरै शुरू भएको छ। हरेक अभिभावकलाई आफ्नो छोराछोरीका लागि पाठ्यपुस्तकदेखि शैक्षिक सामग्री जोहो गर्न हम्मेहम्मे परेको छ।

यसै क्रममा वार्षिक करोडौं रुपियाँको कारोबार हुने वीरगंजमा पाठ्यपुस्तकको अभाव देखिएको छ। सूची अनुसारका पाठ्यपुस्तक नपाएको अभिभावकहरूले गुनासो गरेका छन्। सरकारी तथा निजी विद्यालय दुवैमा अध्यापन गराइने पाठ्यपुस्तकको वीरगंजमा हाहाकार भएको हो। आर्थिक मन्दी, बैंकबाट ऋण नपाउनु तथा कागजको मूल्यवृद्धिले गर्दा पुस्तक छपाइमा ढिलाइ भएर पर्याप्त मात्रामा पुस्तक बजारमा आउन नसकेको पुस्तक विक्रेताहरू बताउँछन्।

अहिले कागजको मूल्यमा अत्यधिक वृद्धि भएको, बैंकले ऋण दिन नसकिरहेको, प्रत्येक वर्ष पाठ्यक्रम फेरबदल हुने गर्दा बजारमा पाठ्यपुस्तक नपाएको पुस्तक विक्रेताहरू बताउँछन्। सामाजिक शिक्षा र सामान्य ज्ञानमा विषयवस्तु थपेर आउँदा यी पुस्तकहरू प्रत्येक वर्ष छपाइ गर्नुपर्ने छ।

पर्साका वीरगंजलगायत जिल्लाभरि चार सयको हाराहारीमा सामुदायिक र निजी विद्यालय छन्। ग्रामीण भेगका विद्यालयमा पनि पाठ्यपुस्तक सहजरूपमा उपलब्ध हुन सकेको छैन। पाठ्यपुस्तक आपूर्तिमा अर्को समस्या भनेको गुणस्तर पनि हो। केही प्रकाशनका पुस्तकमा कमसल कागजसँगै छपाइ र विषयवस्तुमा पनि धेरै अशुद्धि देखिएका छन्, जसले विद्यार्थीहरूमा अन्योलता बढाएको छ।  ओसिस पब्लिकेशनको कक्षा १ को अङ्ग्रेजी विषय ‘वन्डर इङ्गलिश’ र अन्य पब्लिकेशनका विज्ञान विषयमा पनि धेरै गलती भेटिएका छन्।

चालू आवमा सरकारले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइ गर्न निजी कम्पनीलाई जिम्मेवारी दिएको छ भने कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ। सरकारी पुस्तकमा नौ प्रतिशत र निजी विद्यालयको पुस्तकमा पाँचदेखि २० प्रतिशतसम्म पुस्तक व्यवसायीहरूले कमिशन लिने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here