ओमप्रकाश चौधरी, सेढवा, १३ वैशाख/

गर्मी बढेसँगै पर्साको ग्रामीण भेगमा सर्पदंशका घटनामा वृद्धि भएपछि ठोरीमा स्थापना भएको सर्पदंश उपचार केन्द्रको सेवा प्रभावकारी साबित भएको छ।

गत चैतमा पाँचजना र वैशाखमा एकजना गरी छजना सर्पको टोकाइबाट घाइते भई उपचारका लागि सो केन्द्रमा आएका र उनीहरूको सकुशल उपचार भएको केन्द्रले जनाएको छ।

सर्पदंशबाट अधिकांश जीराभवानी गाउँपालिकाका मानिस रहेको केन्द्रले जनाएको छ। यसबाहेक जगरनाथपुर, ठोरी तथा पटेर्वासुगौली गापाबाट पनि सर्पदंशका बिरामीहरू आउने गरेका केन्द्रको तथ्याङ्कमा उल्लेख छ। यसका साथै चितवनको माडी नगरपालिका, बाराको कलैया, वीरगंजको नारायणी अस्पतालबाट रिफर गरिएका बिरामीहरू उपचारका लागि यस केन्द्रमा आउने गरेका केन्द्रका प्राविधिक प्रमुख पियुषकुमार रानाभाटले बताए।

यो उपचार केन्द्र ठोरी गापा–४ स्थित नेपाली सेनाको सिद्धिबक्स गण निर्मलबस्ती पानीटङ्कीमा २०७६ फागुन १८ गते प्रशासनबाट अनुमति लिई २४ गतेबाट सेवा सुचारु गरिएको उनले बताए। अहिलेसम्म यहाँ ४३४ जना सर्पदंशका बिरामीले उपचार पाएको र दुर्ईजनाको उपचारको क्रममा मृत्यु भएको रानाभाटले बताए। केन्द्रमा विषालु सर्पको टोकाइबाट विष लागेका, अरिङ्गाल तथा बिच्छीले टोकेर विष लागेका बिरामीहरूको निश्शुल्क उपचार हुने गरेको उनले बताए।

केन्द्रका संस्थापक अध्यक्ष मानबहादुर श्रेष्ठले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्ष रहेका बेला नेपाली सेनाको समन्वयमा आफ्नो नेतृत्वमा सामूहिक प्रयासले केन्द्रको स्थापना भएको बताए। केन्द्रको व्यवस्थापनका लागि ठोरी गापा कार्यालय, सयपत्री बचत तथा ऋण सहकारी संस्था, विजयबस्ती तथा अन्य सङ्घसंस्थाले  सहयोग गरेको उनले बताए। बिरामीको उपचारका लागि आवश्यक एन्टिस्नेक भेनम स्वास्थ्य व्यवस्थापन कार्यालय, हेटौंडाबाट निश्शुल्क ल्याउने गरिएको अध्यक्ष श्रेष्ठले बताए।

सर्पदंश उपचार केन्द्रको सेवा प्रभावकारी तथा व्यवस्थापनमा ठोरी गापाको कार्यालयले पनि सहयोग गरिरहेको समितिका अध्यक्ष श्रेष्ठले बताए। हालै सोलार प्यानलबाट विद्युत् आपूर्तिमा समस्या आएपछि गापाले जेनेरेटर जडान गरेको श्रेष्ठले बताए।

ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठले सर्पदंश उपचार केन्द्र जङ्गलभित्र रहेकोले सेवाग्राहीहरू पुग्न अलमलमा परिरहेकाले आगामी आवदेखि जङ्गलसँग जोडेर पक्की भवन निर्माण गर्ने बताए। यसका साथै केन्द्रमा कुनै बेला चिकित्सक  नहुँदा बिरामी आएको खण्डमा भेन्टिलेटरको व्यवस्थासमेत मिलाउने बताए। यसका अलावा केन्द्रलाई आवश्यक पर्ने सामग्री आपूर्ति गर्ने अध्यक्ष्F श्रेष्ठले बताए। पर्सामा सर्पदंश उपचार केन्द्र, ठोरीमा मात्र छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here