राधेश्याम पटेल, वीरगंज, १२ वैशाख/

वैशाख १० गते भएको तीन जिल्लाको उपचुनावको नतीजामध्ये दुईवटा जिल्लाको नतीजा आइसकेको छ भने बारा २ को नतीजा आउन बाँकी छ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले र चितवन २ मा सोही पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजय भएका छन् भने बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाबीच प्रतिस्पर्धा छ ।

सोमवार बिहान ११ बजेदेखि बारा २ को मतगणना शुरू भएको थियो । करीब ३६ घण्टामा कुशवाहा एकपटक मात्रै जसपा अध्यक्ष यादवलाई पछि पार्दै अग्रता लिएका थिए । बाँकी समयको गणनामा यादलकै अग्रता रहँदै आएको छ । यादवको मतान्तरलाई कुशवाहाले कम गर्दै गइरहेका छन् ।

कलैयास्थित गङ्गापुरको शैक्षिक तालीम केन्द्रमा भइरहेको मतगणनामा  राति १० बजेसम्म यादव कुशवाहाभन्दा दुई हजार ७४३ मतान्तरले अगाडि छन् । सो बखतसम्म यादवले २२ हजार ८९५ मत ल्याएका थिए भने कुशवाहाले २० हजार १५२ मतले पछयाउँदै थिए ।

त्यसैगरी, तेस्रोमा एमालेका पुरुषोत्तम पौडेलले छ हजार ७१५, चौथोमा रास्वपाका रमेश खरेल दुई हजार ६८९ मतले चौथो र आम जनता पार्टीका अरुण ज्ञवाली दुई हजार ६२३ मतले पाँचांै स्थानमा छन् ।

कुशवाहाको गढमा प्रवेश भएपछि घट्यो मतान्तर

बारा २ का छवटा पालिकाका ४४ वटा वडा पर्छन् । जसमा करैयामाई गापाका आठ, देवताल गापाका सात, सुवर्ण गापाका आठ, पचरौता नपाका नौ, महागढीमाईका ११ र कोल्हवी नपाको एकमात्र ८ नम्बर वडा गरी ४४ वटा वडा पर्छन् ।

मतदानको दिन कुल ६९ हजार १०७ मत खसेको थियो । यो समाचार तयार पार्दासम्म ५६ हजार ३२८ मत गणना भइसकेको छ । १२ हजार ७७९ मत गणना गर्न बाँकी छ । कुल गणना भएको ५६ हजार ३२८ मतमा ५५ हजार ०७४ मत सदर र १२५४ मत बदर भएका छन् ।

मतान्तर घट्नुमा जनमत पार्टीका उम्मेदवार कुशवाहाको गृहनगर महागढीमाई नपाले सहयोग गरेको छ । उक्त पालिकाका ११ वटा वडामा ३१ हजार ८५५ मत खसेको छ । ११ वटा वडा रहेको महागढीमाईमा हालसम्म १, ७, ८, ९, १०, ११ गरी छवटा वडाको मतगणना भइसकेको छ भने बाँकी २ देखि ६ नम्बर वडासम्म मत गणना हुन बाँकी छ ।

त्यसैगरी, पचरौता नगरपालिकाका सबै वडाको मत गणना गर्न बाँकी छ । महागढीमाईमैं गणना हुन थालेपछि जनमतको हर्नको रफ्तार बढेको हो भने छाताको मत कम निस्किंदा मतान्तर घटेको हो । यो मतान्तर महागढीमाईका सबै वडाको गणना सकेपछि कुशवाहाले अग्रता लिने जनमत पार्टीका नेताहरूको दाबी छ । “उपेन्द्रजीलाई महागढीमाईमैं पछि पार्छौं, नत्र मतान्तर न्यून बनाउँछौं,” जनमत पार्टीका नेता बिपी साहले भने, “पचरौताको मतपरिणामले उपचुनावको नतीजा निकाल्नेछ ।” जसपाका सांसद प्रदीप यादवले अन्त्यमा उपेन्द्र यादवकै जीत हुनेमा विश्वस्त रहेको स्पष्ट पारे । “पचरौतामा उपेन्द्रजी ३–४ हजार मतान्तरले विजयी बन्नुहुनेछ, म विश्वस्त छु,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here