इस्लामाबाद, १२ वैशाख/ एएफपी
उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआतङ्कवाद कार्यालयमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।
विस्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् ।
विस्फोटमा परी चालीसजनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । विस्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र विद्युतीय त्रुटिका कारण दुर्घटना भएको सरकारी अधिकारीहरूले अनुमान गरेका छन् ।
अफगानिस्तानको छिमेकी खैबर पख्तुनख्वामा प्रान्तीय प्रहरीका प्रवक्ताले गोलाबारुदमा आगलागी हुँदा विस्फोट भएको हुन सक्ने बताएका छन् ।
पाकिस्तानी तालिबानी समूहले विगत केही समयदेखि सुरक्षा बललाई लक्षित गरी धेरै आक्रमण गर्दै आएको छ तर यो विस्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।
प्रतिआतङ्कवाद विभागका क्षेत्रीय प्रमुख सोहेल खालिदले पनि कार्यालयमा भएको विस्फोट आतङ्कवादीले गराएको नभई, दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आफूलाई प्राप्त भएको बताएका छन् ।
कार्यालयमा राखिएका हातहतियार गोलाबारुदमा लापरवाहीका कारण आगो सल्केर विस्फोट भएको हुन सक्ने उनको अनुमान छ । रासस