• राजेन्द्रप्रसाद कोइराला

२०४६ सालको राजनीतिक परिवर्तन पछि अहिलेसम्म हामीले ३४ वर्ष पार गरिसक्यौं ।  राज्यसत्ता दशकौंदेखि गलत हातमा गएकोले नेपाल सुन्दर र  साधनस्रोत हुँदाहुँदै पनि जताततै अव्यवस्था र कुशासनले देशका सम्पूर्ण निकाय पूरै असफल भइसकेको अवस्था छ । तापनि पिण्ड खान लागेका नेताहरूले देशलाई दोहन गर्न छाडेका छैनन् । उनीहरूकै अकर्मण्यता र नालायकीपनले देश अहिले असफल हुने अवस्थामा पुगेको छ ।

विगतका कुरा गर्ने हो भने जुन उचाइ राजा महेन्द्रले प्राप्त गरेका थिए, राजा वीरेन्द्रले आफ्नो शासनकालको ३० वर्षमा त्यसलाई दिगो राख्न सकेनन् । किनकि उनमा आफ्नो बुवाको जस्तो दूरदर्शिता र जुझारूपनको अभाव हुन गयो ।

सन् २००८ अर्थात् २०६४ मा देश, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएदेखि अहिलेसम्म कुनै उपलब्धि प्राप्त हुन सकेको छैन । नागरिकको जनजीवन हिजोभन्दा आज अधोगतितिर गइरहेको छ । देश असफलतातिर अग्रसर भएकोले सामाजिक  र भूराजनीतिक सङ्कटतिर लम्कँदै छ । देशमा कतै पनि सकारात्मक परिवर्तन देखिंदैन । विकासको सूचकाङ्क साह्रै निराशाजनक छ । तथापि राजनीतिक दलहरूले जनतालाई भ्रमित पार्ने घोषणा र बयानबाजीबाहेक केही गरेको देखिंदैन ।

कुनै पनि राजनीतिक दलका प्रमुखहरूमा भिजन, मिशन र  उद्देश्य कार्यान्वयन गर्ने, साकार पार्ने जानकारी नै नभएजस्तो लाग्छ । उनीहरूका सल्लाहकारहरूले समस्याको जानकारी गराउँछन् तर समाधानबारे सोच्ने समय नै पाउँदैनन् । चेतमैं कुम्ल्याउने ध्याउन्न छ । ड्राइभिङ लाइसेन्स, सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट, विदेशी राहदानी, सडक ट्राफिक बत्ती मिलाउने, काठमाडौंका सडकमा खाल्डाखुल्डी भर्ने जस्ता कार्यमा नै यिनीहरूले समय खर्चिन्छन् ।

सम्झौता गर र शासन गर :

भ्रष्टाचारजस्ता अपराधसम्बन्धी सम्भावित कानूनी आरोपहरू सामना गर्नुपर्छ भन्ने डरले गर्दा सत्ता र शक्तिको घेरामा आफ्नो दीर्घायुको लागि सिन्डिकेट बनाउने प्रमुख राजनीतिज्ञहरूको फाइदाको लागि संविधानमा पूर्वनियोजित त्रुटि र अस्पष्टता भरिएको छ । सत्ताको चरम दुरुपयोग र मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाहरूलाई (१७००० नागरिकको ज्यान गएको र १३००० बेपत्ता भएका)  जसरी भए पनि आफ्नो अनुकूल बनाउन दलहरूले बारम्बार गठबन्धनको नाममा देशलाई बन्धक बनाइराखेका छन् । सङ्क्रमणकालीन न्यायको प्रक्रिया र स्वघोषित जनयुद्धको चरणमा मुलुक राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा १८ वर्षदेखि ठप्प छ । अराजकता र कानूनविहीनता नाङ्गोरूपमा प्रयोग गरिएको छ । आपराधिक मुद्दाहरूको अनुसन्धानबाट बाँच्न वा त्यसलाई खारेज गर्न पूरा न्यायपालिका अपाङ्ग बनाइएको छ । गठबन्धनको नाममा तैं चुप मैं चुपको वातावरण बनाइएको छ । अमेरिकी लेखक जोन स्टेइनबेक भन्छन्–“शक्तिले भ्रष्टाचार गर्दैन । भ्रष्टहरूको डर नै ….. शायद सत्ता गुम्ने डर हो । शक्ति र अख्तियारको दुरुपयोग गर्नेहरूले दण्डहीनता र अराजकतालाई नै आफ्नो हतियार बनाउँछन् ।

सन् २००१ जून १ मा राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित राजपरिवारका नौ सदस्यको हत्या भएको शाही नरसंहारको रहस्य अझै वैज्ञानिक र प्रायोगिकरूपमा पत्ता लागेको छैन । लोकतान्त्रिक कम्युनिस्ट पार्टीका नेता मदन भण्डारीको   मे १६, १९९३ मा कार दुर्घटनाको सत्यतथ्य आजसम्म उजागर हुन सकेको छैन । शाही हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र वा सिआइए वा र वा एमएससी (CIA or RAW or MSC)     वा तथाकथित माओवादी विद्रोही वा तत्कालीन शाही नेपाली सेना प्रमुख थिए भन्ने अझै रहस्य छ । १९९० को लोकतान्त्रिक सङ्क्रमणकालदेखि नै भ्रष्टाचार, अधिग्रहण र घूसखोरी संस्कृति राजनीतिक–नोकरशाहीमा गाँसिन पुगेको छ । विभिन्न मुद्दा र सजायको लागि जिम्मेवार गम्भीर कानूनी अभियोगका फाइलहरूलाई शायद अहिलेसम्म धमिराले खाइसक्यो होला । जबकि हाम्रो छिमेकी मुलुक चीनमा सि जिन पिङ आउनेबित्तिकै एक लाख भ्रष्टाचारीहरूलाई निर्मम सजाय दिए, जसमा धेरै राजनीतिक दलका ठूला र उच्चपदस्थ सरकारी अधिकारीहरू थिए । तर विश्लेषकहरू भन्छन् यो एक षड्यन्त्रपूर्वक गरिएको कदम थियो किनकि उनले रोस्टमबाट सशक्त भाषण  गरेका थिए कि अनियमिततालगायत भ्रष्टाचार मुद्दाका ठूला व्यक्तिका मुल्तवीमा रहेका फाइलहरू कानूनी कारबाईका लागि खोलिने छ र त्यस्ताले रिहाइका लागि सांसदहरूले सम्पर्क नगर्नू ।

विभिन्न घोटालाहरूको फेहरिस्त छः बालुवाटार ललिता निवासको १३४ रोपनी सरकारी जग्गा घोटाला, एनसेलको ७० अर्बको पूँजीगत लाभकर छली, वाइड बडी विमान खरीद घोटाला (रु ३.८८ अर्ब), कर निर्धारण आयोग (२०१५) द्वारा २१ अर्बको कर राजस्व दुरुपयोग र जीवन बचाउने PPE परीक्षण किटहरूको लागि OMNI खरीद सम्झौता आदि इत्यादि । निजामती कर्मचारी र ठूला राजनीतिक दलका नेताहरूको साँठगाँठ, स्वार्थको द्वन्द्व नै व्याप्त भ्रष्टाचार, अनियमितता र जवाफदेहिता गुमाउनुको मूल कारण हो । कानूनभन्दा माथि कोही छैन । बिरालोको घाँटीमा घण्टी झुन्डाउने समय सकिएको छ ।

मिडियाको राजनीतीकरण र ज्योतिषः

केही सामाजिक सञ्जालहरूको समूह, केही टेलिभिजन मिडिया केन्द्रहरू र केही आफूलाई वरिष्ठ पत्रकार भन्नेहरूले समाचारलाई राजनीतीकरण गरी, उत्तेजक बनाई अमुक राजनीतिक दलका पक्षमा जुन किसिमको भाष्य तयार गरी जनमानसलाई भ्रमित गर्ने गर्थे त्यसको पोल त अब खुलि नै सकेको छ । स्वार्थको द्वन्द्व अङ्गिकार गरी जुन कृत्यहरू पछिल्लो समय उजागर भएका छन, त्यसले देश बिगार्न यस्ता मिडिया हाउस कति दोषी रहेछन् अब छर्लङ्ग भइसक्यो । कतिपय राजनीतिक नेता, नोकरशाह र मिडिया सेन्टर र पत्रकारहरूलाई आफ्नो वफादार बनाई सेवाका लागि भारतजस्ता बाह्य शक्तिहरूले प्रोत्साहन वा नगद उपहार दिएकोमा आलोचना भइरहेको छ ।

अर्कोतिर पछिल्लो समय ज्योतिषिहरूको भविष्यवाणीको पछाडि कुद्ने नेताहरूमा लहर नै चलेको छ । जसको आफ्नै भविष्य निश्चित छैन, उनीहरूले राजनीतिक नेताहरूको भाग्य र व्यवहारको भविष्यवाणी गरिरहेका छन् । एउटा धेरै चर्चामा आएको भविष्यवाणी भनेको पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा जम्मा सात पटकसम्म प्रधानमन्ी बन्नेछन् । मानौं फूटबलमा गोलको सङ्ख्या गिन्ती भइरकेको छ । यस्ता हास्यास्पद र उत्तेजक भविष्यवाणीहरू अन्य  नेताहरूले पनि गरेका छन् ।

राजनीतिक पहिचान र वाद (इज्म)

कुनै राजनीतिक ‘वाद’ र पार्टी सिद्धान्तले काम गरिरहेको छैन । माओवाद, माक्र्सवाद–लेनिनवाद, लोकतन्त्र र समाजवाद सबै एउटै टोकरीमा पार्टी ककटेलको रूपमा उभिएका छन् जहाँ विभिन्न पृष्ठभूमिका राजनीतिक दलहरूले आफ्नो विशिष्ट पहिचान र इमानदारी गुमाइसकेका छन् । राजनीतिक संरक्षण पाएका टाठाबाठा र घरानाहरूले कसरी देश बर्बाद पारिरहेका छन् भन्ने कुरा प्रेम आचार्यको आत्मदाहले छर्लङ्ग देखाइदिएको छ । गठबन्धनका हिमायतीहरूले लोकतान्त्रिक गणतन्त्र आफ्नै कारणले सिध्याउन लागिसके । शक्ति उन्मादमा सनकी मानसिकता बोकेकाहरूले विश्वव्यापी आदर्शलाई नै रछ्यानमा पु¥याउन लागिसके । यिनीहरूको बोली र व्यवहार जङ्गली युगको जस्तो भान हुन थालेको छ । जनता आजित भइसकेको छ । १९९० अर्थात् २०४६ सालको परिवर्तनपछि आजपर्यन्त देशमा कुनै पनि सरकार एक वर्षभन्दा बढी टिक्न नसक्नुको करण नै संसदलाई घोडाको व्यापारजस्तो बनाएर हो । सभ्यता, नैतिकता, कुलीनता र आन्तरिक व्यक्तिगत क्षमतामा तीव्र गिरावट आएको छ देशको राजनीतिमा  त्यसैले विकृति बढाइरहेको छ । राजनीतिक व्यवहार अलोकतान्त्रिक, ‘विचित्र’, र अनियमित छन् । बेइमान राजनीतिक नेताहरूद्वारा आरोप–प्रत्यारोप, घमण्ड, निन्दा, बदनामी, अपमानका उग्र शब्दहरूको आदानप्रदानले उनीहरूलाई शक्ति र नेतृत्वको भूमिकाको लागि अविश्वसनीय बनाउँदै लगेको छ । विनाशकाले विपरीत बुद्धि । सरकार क्याकिस्टोक्याट्रिक (त्यस्तो सरकार जसमा गएगुज्रेका, पाखण्डी र कम शिक्षितहरूको बोलबाला हुन्छ) र प्लुटोक्रेटिक (धनीहरूको सरकार )  बन्दै गएको छ । भूतपूर्व अमेरिकी राष्ट्रपति ह्यारी ट्र्युमन भन्छन्– तपाईं बदमाश नभएसम्म राजनीतिमा धनी हुन सक्नुहुन्न । हाम्रो देश अहिले त्यही अवस्थाबाट गुज्रिरहेको छ ।

आनुवंशिकरूपमा हेडोनिज्मको सामन्ती चरित्र भएको, सत्तामा रहेका राजनीतिक नेताहरूसँग भाडाको मनोवृत्ति र आचरण हुन्छ । त्यसैले उनीहरू रेमिटेन्स आम्दानी, मानव पूँजीको निर्यात, (आर्थिक, सामाजिक र राजनीतिक रूपमा सचेत जनसङ्या जुन राष्ट्रिय उत्पादन र उत्पादकत्वका लागि अत्यन्तै आवश्यक हुन्छ) गरेर आफ्नो खर्च धान्न र सरकारमा रेखदेख गर्ने ‘विलासिता’ पाउँछन् ।

भ्रष्टाचार, अपराध, अनियमितता, मानव अधिकार उल्लङ्घन र शक्ति र अख्तियारको दुरुपयोगविरुद्ध सडक आन्दोलन र विरोधमा मतदान गर्न नसकिने भएकोले युवाहरूको पलायनले राजनीतिक नेताहरूको जीवन पनि सहज बनाइदिएको अवस्था छ । लाखौं युवा अवसर र रोजीरोटीको खोजीमा विदेश जान बाध्य भएको अवस्था छ, जसले गर्दा यी देश लुटेराहरूलाई देश लुट्न सहज भएको छ । तर अब पानी टाउकोभन्दा माथि भइसक्यो । यिनीहरूको पापले धुरी चढिसक्यो र यिनीहरूको अन्त्यका लागि कोही जन्मिसक्यो यो देशमा । यिनीहरूका दुर्दिन शुरू भइसकेको अवस्था छ ।

देश जब गलत व्यक्तिहरूको हातमा जान्छ, देशले धेरै मूल्य चुकाउनुपर्छ । हामीभन्दा पछि बनेका मुलुकहरू कहाँबाट कहाँ पुगिसके, तर अंशुवर्मा, शिवदत्त, भूपतीन्द्र मल्ल, पृथ्वीनारायण शाहजस्ता शासकले निर्माण गरेको यो सुन्दर देशलाई यहाँका नेताहरूले भड्कालोमा जाकिसके ।

फेरि पनि धरणीधर कोइरालाको पङ्क्ति सापट लिंदै यो आलेखलाई विश्राम दिन अनुमति चाहन्छु –“जाग, जाग, अब जाग न जाग, भयो अति भयो अब त जाग ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here