प्रस, निजगढ, ९ वैशाख/
बारा क्षेत्र नं २ मा उपनिर्वाचनलाई लक्षित गरी केही सातायतादेखि बारामा वन सुरक्षा गस्तीलाई तीव्रता दिइएको डिभिजन वन कार्यालय, बाराले जनाएको छ ।
निर्वाचन नजीकिंदै गर्दा बारामा वन क्षेत्र हानिनोक्सानी गर्दै काठ चोरी तस्करी र वन क्षेत्र अतिक्रमण गरी बस्ती बस्न सक्ने सम्भावनालाई नियाल्दै डिभिजन वन कार्यालय, बाराले गस्ती परिचालन गर्दै आइरहेको छ । निर्वाचनमा प्रहरी, प्रशासनसहित सुरक्षाकर्मीहरूको ध्यान निर्वाचन शान्त र भयरहित सम्पन्न गराउन ध्यान केन्द्रित हुने हुँदा पेशेवर काठ चोर तस्कर समूह र वन क्षेत्र अतिक्रमण गरी बस्ती बस्न सक्ने स्थानलाई डिभिजन वन कार्यालय, बाराले पहिचान गरी निगरानी बढाउँदै आएको हो ।
यसअघिका स्थानीय, प्रदेश र सङ्घीय संरचनाका निर्वाचन र त्यसभन्दा पनि अघि निर्वाचनको संघारमा बारामा वन क्षेत्र हानिनोक्सानी गरी अतिक्रमण गरी बस्ती बसाउने प्रयास भएजस्तै अहिले उपनिर्वाचनको संघारमा कानूनविपरीतका कार्य हुन सक्ने घटनाप्रति सजग रहँदै वन क्षेत्रको स्थानको संवेदनशीलतालाई ध्यानमा राख्दै डिभिजन वन कार्यालय, बाराले गस्ती र निगरानी बढाएको जनाएको छ ।
जिल्लाको पूर्व दक्षिणी भेग धन्सार, भलुवाहीखोर, कोल्हवी, रामवन, रामनगर, सपही, ककरी, रामवन, जैतापुरलगायत उत्तरतर्फ सिगौल, रतनपुर, डमरपुर, चकरीलगायतका वन क्षेत्रलाई वन कर्मचारीहरूले निगरानीमा राख्दै गस्तीलाई कडा पारिएको डिभिजनल वन अधिकृत विनोद सिंहले बताए ।
यसअघि विभिन्न समयमा बाराको अतिक्रमित वन क्षेत्रमध्ये २४९.२९ हेक्टर जमीन अतिक्रमणमुक्त गराइ तारबार र रेखदेखका लागि वन हेरालुसमेत राखी गुमेको जमीनलाई हराभरा बनाउन डिभिजन वन कार्यालय, बाराले मातहतका निकायलाई सक्रिय बनाउँदै आइरहेको थियो । तर पनि गत फागुन २३ गते राति होली पर्वको मौका छोप्दै कोल्हवी नगरपालिका–५ रामवनमा साढे पाँच हेक्टर क्षेत्रफलमा तारबारको घेरा लगाइ वृक्षारोपण गरिएको लगभग नौ हजार टिक, मसलालगायत अन्य प्रजातिका बिरुवा हानिनोक्सानी गरेपछि जिल्लाको दक्षिण्Fी वन क्षेत्रलाई अति संवेदनशील वन क्षेत्रको रूपमा लिई सशस्त्र वन सुरक्षा गस्ती टोली परिचालन गर्दै आइरहेको डिभिजन वन कार्यालय, बाराले जनाएको छ ।
पेशेवर काठ चोर तस्कर समूहले खुल्ला सडक र राजमार्गको दुरुपयोग गर्दै वन पैदावर हानिनोक्सानी गरी चोरी तस्करी गर्न सक्ने भएकाले निकै चनाखो भई वन क्षेत्रको नाका–नाकामा कडा निगरानीसँगै गस्ती परिचालन गरिरहेको डिवका प्रमुख सिंहले बताए ।
जिल्लाकै टाँगियाबस्तीमा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारले जनाउँदै आएसँगै यस आसपासका वन क्षेत्र अतिक्रमणमा पर्ने सम्भावना बढ्दो र काठ चोरी तस्करी हुन सक्ने प्रबल सम्भावना भएकोले पनि विशेष निगरानी बढाइरहेको वन कार्यालयले जनाएको छ ।