प्रस, सिम्रौनगढ, ९ वैशाख/
बाराको सिम्रौनगढनजीक सीमावर्ती भारतको घोडासहन थाना क्षेत्रको श्रीपुर जानकी कोठीस्थित कोअपरेटिभ बैंकका उपाध्यक्ष अरुण सिंहको घरमा गएराति डकैती भएको छ ।
राति ११ः३० बजे २२ जना डाँकाले घरको ढोका फोडी भित्र पसेका थिए । घरमा पसेर लुटेराहरूले परिवारका सदस्यहरूलाई कुटपिट गरी घरमा रहेका गहना, आवश्यक कागजातसहित नगद २५ लाख लुटेर लगेका पीडित सिंहले बताए ।
डाँका सम्बन्धमा सिंहका छोरा अभिजित सिंहले ११ः३० बजे २०/२२ जना डाँका मेनगेटको ताला तोडी भित्र पसेको, घरमा १० जनाको सङ्ख्यामा डाँका प्रवेश गरी सबै लकर तोडेको, आफूसँग डेढ घण्टासम्म बहस गरी कुटपिट गरेको बताए । उनले डाँकाहरूसँगको बहसमा उनीहरू कहींबाट प्रेरित भई लुट्न आएका आफूलाई लागेको बताए ।
लुटेराहरूले बम पड्काउनुका साथै गोली फायर गरी भागेका थिए । प्रहरीलाई सूचना गरे पनि प्रहरी मूकदर्शक बनेको अभिजित सिंह र स्थानीयवासीले बताए ।
घटनाबारे सिकर हरनाहाका डिएसपी र स्थानीय प्रहरी जाँचमा जुटेका तथा बेतियाबाट डग स्क्वायड टीम आई जाँच गरिरहेको बताइएको छ । छिटै नै लुटेराहरू पत्ता लगाइने घोडासहन थानाध्यक्ष सतेन्द्र सिंहले जानकारी गराए ।