प्रस, पर्सागढी, ९ वैशाख/
वीरगंज महानगरपालिका वडा नं ३२ कोन्हियास्थित लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालयको प्राङ्गणमा कोन्हिया युथ क्लबको आयोजनामा शनिवारदेखि कोन्हिया नकआउट फूटबल प्रतियोगिता शुरू भएको छ ।
उद्घाटन खेल कोन्हिया र ताजपुर क्लबबीच भएको थियो । खेलको पहिलो हाफमा कोन्हिया क्लबले दुई गोल गरेको थियो भने दोस्रो हाफमा ताजपुर क्लबले दुई गोल गरी खेल बराबरी गरेको थियो ।
थप समयमा पनि गोल नभएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो । टाइब्रेकरमा ताजपुरले गरेको दुई गोलका विरुद्ध तीन गोल गरी कोन्हिया विजयी भएको थियो । प्रतियोगितामा १४ वटा टीमको सहभागिता छ । प्रथम हुने टीमले रु ५१००, दोस्रोले रु ३१०० र तेस्रोले रु १५०० पुरस्कार पाउने आयोजक क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष दीपेन्द्र पटेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष जीतेन्द्र यादवले स्वस्थ जीवनको लागि खेलकूद अति आवश्यक भएको बताए ।
खेलकुदमा सहभागी युवा नशामुक्त रहने पनि उनले बताए । कार्यक्रममा वडा सदस्य अमरुल हसन, नवकिशोर झा, केदार पटेललगायतको सहभागिता थियो ।