प्रस, वीरगंज, ८ वैशाख/
बारा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार दम्पतीलाई चार महीनापछि पक्राउ गरेको छ ।
बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका–८ राजानगर बस्ने २२ वर्षीय सुरज भन्ने महेश साहको हत्यामा संलग्न वीरगंज महानगर–१५ भिस्वा बस्ने रामु भन्ने कैलाश महतो र रोशनी भन्ने हीरा देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
जिप्रका, बाराले जनाए अनुसार मृतक सुरज र रोशनीबीच शारीरिक सम्बन्ध कायम हुँदै आएको तर रोशनीको पहिले नै विवाह भएको कारण सुरजका घरपरिवारले विवाह गर्न स्वीकार गरेको थियो । रोशनीको पहिलो विवाहबाट एउटा छोरी रहेको र सोही कारणले सुरजको परिवारले निजसँग विवाह गर्न अस्वीकार गरेको हो । यसै क्रममा गत मङ्सिर २७ गते रोशनी र सुरजलाई रोशनीका पति कैलाश महतोले साथमा देखेका र दुईजनाबीच विवाद भएपछि रोशनी र महेश मिलेर तारले घाँटी कसेर सुरजको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
हत्यापश्चात् सुरजको शवलाई परालले छोपिएको अवस्थामा प्रहरीले बरामद गरेको र अनुसन्धानमा रोशनी र निजका पति कैलाश कसूरवार देखिएको जिप्रका, बाराले जनाएको छ । घटनापश्चात् दुवै पति–पत्नी फरार रहेका र उनीहरूको खोजतलाश गर्दा भारतको केरलामा रहेको पत्ता लागेपछि केरला प्रहरीसँग समन्वय गरिएको बारा प्रहरीले जनाएको छ ।
यसै क्रममा दुवैजनालाई नेपाल–भारत सीमानजीकबाट पक्राउ गरेको बारा प्रहरीले दाबी गरेको छ । कर्तव्य ज्यान मुद्दामा दुवैजनालाई बारा जिल्ला अदालतमा हाजिर गराइएको र सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।