प्रस, वीरगंज, ८ वैशाख/
वीरगंज महानगर–१८ सुखचैनामा यही वैशाख १२ गतेदेखि हुन गइरहेको विष्णु महायज्ञमा दलित सहभागिता नहुने भएको छ ।
महायज्ञ आयोजक समिति, स्थानीय दलितहरू र जिल्ला प्रशासन कार्यालय, पर्साको रोहबरमा शुक्रवार भएको बैठकमा वेदी पूजामा दलित सहभागिता नगराउने गरी सहमति भएको बताइएको छ । वेदी पूजाबाहेकमा दलित सहभागिता गराउने सहमति भएको विष्णु महायज्ञ आयोजक समितिका अध्यक्ष खोभारी महतोले बताए । महायज्ञका लागि यही वैशाख १२ गते कलश शोभायात्रा निकालिने र महायज्ञमा करीब २५ लाख खर्च अनुमान गरिएको उनले बताए । महायज्ञ वैशाख १२ गते कलशयात्राबाट शुभारम्भ भएर वैशाख २१ गतेसम्म नौ दिन सञ्चालन हुने कोषाध्यक्ष छोटेलाल कुर्मीले बताए । महायज्ञमा सुखचैना, चैनपुर, लिपनी, रामपुर मुसहरी (ताजपुर), परवानीपुर, पटेलनगर, लालपर्सा, बगही, इनर्वा, जगरनाथपुर, मनिहारी र बहुअरीका स्थानीयहरूको सहभागिता रहने बताइएको छ ।
यसैबीच महायज्ञको अवसरमा सातोमाई मन्दिर निर्माणका लागि प्राणप्रतिष्ठा गरिने उनले बताए । प्राणप्रतिष्ठामा पनि करीब २५ लाख खर्च अनुमान गरिएको छ । यसअघि गत चैतमा वीरगंज–१७ अलौंमा सम्पन्न महायज्ञमा पनि दलित सहभागिता गराइएको थिएन ।
स्थानीयको दबाबपछि यस वर्ष दलित सहभागिता नगराउने, वेदी पूजाबाहेकमा सहभागिता गराउने सहमति भएको थियो ।