ओमप्रकाश चौधरी, सेढवा, ८ वैशाख/

लामो समयदेखि पानी नपर्दा पर्साका ग्रामीण भेगमा जमीनमुनिको पानीको सतह घट्दै गएको छ । जसले गर्दा यस क्षेत्रमा पानीको स्रोत कम हुनुका साथै मुहान पनि सुकेको छ ।

केही वर्षपहिले यस भेगमा आर्टिजेन जडान गर्दा स्वतः पानी आउँथ्यो तर अहिले आएर पानीको सतह घट्दा ती पनि सुकेका छन् । त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय, पर्साको जङ्गलमा पनि पानीका मुहानहरू सुकेका छन् ।

कात्तिक, मङ्सिरदेखि गहुँ छरेको  समयदेखि हालसम्म वर्षा नहुँदा समस्या भएको किसानहरूले गुनासो गरेका छन् । अहिले किसानहरूले लगाएका चैते धानबाली, मकैबाली, सुर्तीबाली तथा विभिन्न किसिमका तरकारीबालीमा सिंचाइ गर्दागर्दै किसानहरू हैरान भएको जीराभवानी गाउँपालिका–२ सेढवाका आकाश यादवले बताए । आफूले लगाएको चैते धानबालीमा हरेक तीन दिनमा बोरिङबाट सिंचाइ गर्नुपरेको उनले गुनासो गरे ।

यसैगरी, जङ्गलमा रहेका पानीको मुहान सुकेको र डढेलोका कारण जङ्गली जनावरहरू मानवबस्तीमा प्रवेश गर्ने क्रम बढेको छ । जीराभवानी गापा–१ शान्तिनगर निवासी रामशरण लामिछानेले दैनिकजसो जङ्गली जनावरहरू मानवबस्ती प्रवेश गरिरहेको बताए । खेतमा बाली नभएका कारण क्षति नभएको उनले बताए । बाघ, चित्तल, नीलगाई, घोडगधा, भालुलगायतका जङ्गली जनावरहरू दिउँसै मानवबस्तीमा आउने गरेको लामिछानेले बताए ।

सुनाखरी वन उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले निकुञ्जमा जङ्गली जनावर बढेको र डढेलोका कारण जनावरहरू सुरक्षित स्थानको खोजीमा मानवबस्ती प्रवेश गरेको बताए । साथै जङ्गलमा पानी नभएको तथा डढेलोका कारण हरियो घाँसपात पनि जलेका कारण आहारा र पानीको खोजीमा जनावरहरू बस्तीमा प्रवेश गर्न थालेको उनले बताए । वर्षा भएपछि जनावरहरू पुनः जङ्गल फर्किने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here