प्रस, वीरगंज, ५ वैशाख/
प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको एक निर्वाचन क्षेत्र एक सडकको काम छोडी ठेकेदार बेपत्ता भएपछि नगवावासी समस्यामा परेका छन् ।
स्थानीयहरूका अनुसार कात्तिकमा नै ठेकेदारले नयाँ सडक, नाला निर्माण गर्नका लागि पुरानो सडक, नाला भत्काएका थिए । तर नयाँ सडक र नाला भने अहिलेसम्म अलपत्र पारिराखिएको कारण आवतजावतमा समस्या भएको स्थानीय भोला पटेलले जानकारी गराए । उनले वर्षाको समय आउनै लाग्दा पनि अहिलेसम्म निर्माण कार्य पूरा नगरिएको र यही अवस्थामा आगामी असारसम्म सडक तथा नाला बन्ने सङ्केत नदेखिएको बताए । उनले अहिले वैशाखमा धूलाम्य भएको सडक वर्षामा हिलाम्य हुने कुराले पिरोलेको बताए । सडक भत्काइएको छ भने केही ठाउँमा बनेका नयाँ नाला पनि सडकभन्दा अग्लो पारिएकोले वर्षायाममा घरघरमा पानी पस्ने खतरा रहेको उनले बताए ।
प्रदेश सरकारले लगाएको ठेक्कामा ठेकेदारले कामै नगरेको गुनासो वडाध्यक्ष परशुराम चौरसियाले गरे । वडाध्यक्ष चौरसियाले प्रदेश सरकारले ठेकेदारलाई निर्माण कार्य सम्पन्न गर्न आवश्यक रकम दिएको तर ठेकेदारले काम नगरेको आरोप लगाए । उनले काम सम्पन्न नहुँदा वडावासीले आफूलाई दैनिक गाली गर्ने गरेको बताए ।
गत चैती छठमा सडकको विषयलाई मुद्दा बनाएर वडावासीले आफ्नो आलोचना गरेको उनले दुःखेसो पोखे । सडक, नाला निर्माण कार्य पूरा गराउन आफू कैंयनपटक भौतिक पूर्वाधार कार्यालयमा धाएको उनले बताए ।
प्रदेश सरकारले वीरगंज–१६ नगवामा पाँच किलोमिटर सडक बनाउन रु छ करोड ५३ लाखमा शिवाको कन्स्ट्रक्सनलाई डेढ वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का दिएको भौतिक पूर्वाधार कार्यालय, वीरगंजका प्रमुख दीपक मिश्रले बताए ।
पाँच किलोमिटर सडकमध्ये डेढ किलोमिटर ढलान तथा ३.५ किलोमिटर कालोपत्र तथा दुई किलोमिटर नाला निर्माण गर्न ठेक्का लगाइएको उनले बताए । उनले निर्माण कार्य सम्पन्न गर्नुपर्ने समयावधि डेढ वर्षमध्ये दश महीना बितिसकेको र तोकिएको समयमा कार्य सम्पन्न लागि आफूले बारम्बार तोकेता गर्दै आएको बताए । उनले तत्काल ठेकेदारमाथि कारबाही गर्ने कानूनी अधिकार नभएको तर तोकिएको समयमा कार्य सम्पन्न नभएमा कानूनी कारबाही अगाडि बढाउने बताए ।
वीरगंज–१६ को नगवा, इनर्वा र भिस्वा गरी तीन टोलमा सडक तथा नाला निर्माण गर्नुपर्ने हो ।
ठेकेदारका प्रतिनिधिले भने समयावधि बाँकी रहेकाले हतार नगर्न सुझाएको स्थानीयले बताए ।
गत २०७९ मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअगावै यो सडक, नाला निर्माण गरी चुनावी मुद्दाको रूपमा पस्कने योजना थियो, तत्कालीन मुख्यमन्त्री तथा हालका मधेस प्रदेशसभा सदस्य लालबाबू राउत गद्दी र पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवको । तत्कालीन समयमा २०७८ कात्तिकमा शिलान्यास गरेर चुनावअगावै कार्य सम्पन्न गर्नका लागि ठेक्का दिइएको थियो । शिवाको कम्पनीका स्थानीय प्रतिनिधि पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार थिए । रौनियार गत प्रतिनिधिसभाका निलम्बित सांसद हरिनारायण रौनियारका छोरा हुन् । उनले पिताले टिकट नपाएपछि र दिदी डा मधु गुप्तालाई पनि सांसदको टिकट नदिएपछि काम रोकेका थिए । अख्तियारमा रौनियारविरुद्धको मुद्दा विचाराधीन रहेको र गठबन्धनमा सो क्षेत्र अन्य पार्टीको भागमा परेपछि हरिनारायण रौनियार टिकटबाट वञ्चित हुन पुगे । आफूले सांसदको टिकट नपाएपछि छोरी डा गुप्ताका लागि उनले कसरत गरेका थिए तर छोरीलाई जसपाले प्रदेशसभा सदस्यको टिकट दिएको थियो । सोही झोंकमा तत्कालीन मुख्यमन्त्री गद्दी र सांसद यादवको क्षेत्रमा पर्ने यो ठेक्काको काम ढिला गरिएको बताइन्छ । पहिलेदेखिको सडक, नाला भत्काएको र नयाँ सडक, नालाको काम पनि रोकिएपछि यो विषयलाई गत चुनावमा मुद्दा बनाइएको थियो र तत्कालीन मुख्यमन्त्री गद्दी र सांसद यादवले आआफ्नो क्षेत्रमा चुनाव जिते पनि सो वडाबाट अपेक्षाकृत कम मत पाएको जसपा कार्यकर्ताहरू बताउँछन् ।