लमजुङ, ५ वैशाख/रासस

लमजुड्ढा गाउँगाउँमा  प्रायःजसो सबैको हातहातमा मोबाइल फोन छ । यसमा इन्टरनेटका माध्यमबाट संसारभरिका खबर प्राप्त गर्ने गरे पनि क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँ, घिचे, घाम्राङबFेसी, साल्मेलगायतका गाउँमा स्थानीयवासीले आफ्नै गाउँको खबर प्राप्त गर्न कटुवालको भर पर्नुपर्छ ।

यहाँ अझै कटुवालकै भरमा सूचना दिने चलन कायम छ । घाम्राङ गाउँका दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन्, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् । कटुवाल गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेका वा हुनेवाला नयाँ सूचना वा खबर सुनाउँछन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका बासिन्दालाई सामूहिकरूपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवाल प्रथा कायमै छ ।

गाउँमा हुने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायत काममा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिथिति अनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्भार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउने, गाईभैंसी लेकमा लैजानेलगायत कामका लागि पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडा सदस्य खमाया गुरुङले बताइन् । “गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति कटुवाल नै हो । यस वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको छ,” उनले भनिन् ।

घाम्राङ गाउँका गमप्रसाद गुरुङले भने, “विश्वभरिका समाचार तथा विभिन्न खबर प्राप्त गरे पनि गाउँका समाचार तथा खबर भने कटुवाल कराएपछि मात्र थाहा पाउने गरेको छु ।” अन्य स्थानीयवासीले पनि यसरी नै गाउँका खबर कटुवालमार्फत पाउने गरेका उनको भनाइ छ । वडासदस्य गुरुङ वडा कार्यालयबाहेक गाउँका खबर कटुवालमार्फत जानकारी प्राप्त गर्ने गरेको बताउँछन् । “यहाँ वर्षौं पहिलादेखि कटुवालको चलन थियो, यसलाई निरन्तरता दिन म कटुवाल बन्नुपरेको हो,” उनले भने ।

कटुवाल कराएबापत गुरुङले गाउँलेबाट सामूहिकरूपमा वार्षिक पाँच मुरी धान र एक मुरी कोदो प्राप्त गर्छन् । बर्सेनि गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन छ । काम परेको बेला कटुवाल कराउने तर अन्य समयमा उनी खेतीपाती गर्दै परिवार धान्दै आएका छन् । यहाँ चलन कायम रहेकाले यसलाई बचाउनका लागि कटुवालको महत्व तथा संरक्षण आवश्यक रहेको छ ।

सदरमुकामस्थित बेंसीशहर नगरपालिका–१० खासुर गाउँका स्थानीयवासी पनि गाउँको समाचार प्राप्त गर्न कटुवालको भरपर्दै आएका छन् । स्थानीय दूधप्रसाद घलेका अनुसार टोल–टोलमैं पुगेर कटुवालले कराएर गाउँलेले सूचना प्रदान गर्दै आएका छन् । सो गाउँका गाउँबेंसी, लेतेफाँट, कल्लेरी र डाँडागाउँमा यसरी सूचना दिने चलन छ ।

स्थानीय कालु दमाइ करीब २० वर्षदेखि यसरी नै उक्त टोलमा पुगेर कराएर सूचना दिंदै आएका छन् । यसरी कराएबापत उनले वर्षमा धान, मकै, कोदोलगायत अन्नबाली गाउँलेबाट उठाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here