राधेश्याम पटेल, परवानीपुर, ४ वैशाख/

बारा क्षेत्र नं २ को उपनिर्वाचनको चटारो अहिले सबै दललाई छ । वैशाख १० गते चुनाव नजीकिंदै जाँदा उम्मेदवारहरू मतदाता आकर्षित गर्न विभिन्न हत्कण्डा अपनाइरहेका छन् । सबैभन्दा पहिलो रणनीति भनेको जातिगत मतलाई आकर्षित पार्नेतर्फ उम्मेदवारहरू लागिपरेका छन् ।

बिहान घरदैलोदेखि रातिसम्मको चुनाव प्रचारमा उनीहरूले जातिगत मतलाई पहिलो प्राथमिकतामा राखेका छन् । यसैगरी, गैरजातिगत मतको लागि पनि उम्मेदवारहरूले विभिन्न तिकडम शुरू गरेका छन् । मतदाताको घरमा खाने, जबरजस्ती घरआँगन तथा खेतमा पस्ने, नमस्ते गर्ने, मीठो बोल्ने, अँगालो हाल्ने, फोटो खिचाउने, पोस्टर–पम्पलेट बाँड्नेलगायत गतिविधि गरिरहेका छन् ।

सत्तारूढ गठबन्धन समूह, नेकपा एमाले, जनमत, आम जनता पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजनीतिक दलहरू बढी सङ्ख्यामा रहेको जातिगत मतलाई आकर्षित गर्न प्रयासरत छन् ।

बारा क्षेत्र नं २ मा करीब एक लाख पाँच हजारभन्दा बढी मतदाता रहेकामा सबैभन्दा बढी यादव, दोस्रोमा थारू, तेस्रोमा मुस्लिम भएका कारण सबै दलको नजर यी जातिमा विशेषरूपमा बढेको छ । यादव जातिमा १४ हजार १६७ पुरुष, महिला १० हजार ३३३ गरी कुल २४ हजार ५०० मत रहेकाले पहिलो प्राथमिकताको जाति यादव बनेको छ ।

बलिया प्रतिस्पर्धीहरूमध्ये यादव जातिबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मात्र उम्मेदवार भएकाले उनलाई यादवहरूले बढी मत दिन सक्ने विश्लेषण गरिएको छ । दोस्रो जातिमा थारू रहेको छ । उनीहरूको ६.४ प्रतिशत अर्थात् नौ हजार ३३२ मत रहेको बुझिएको छ ।

थारू जातिको बसोबास बारा–२ को उत्तरी भेगमा भएकोले सो क्षेत्रका आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली, जसपा, जनमत, एमालेलगायतको पोल्टामा जाने आकलन गरिएको छ तर उत्तरी भेगमा एमालेका पुरुषोत्तम पौडेल र आम जनता पार्टीका ज्ञवाली बढी सक्रिय छन् ।

त्यसैगरी, कुल मतको ५.१ प्रतिशत अर्थात् छ हजार ४९२ मतदाता मुस्लिम समुदायको रहेको छ । जातिगत मत हेर्दा मुस्लिम तेस्रो नम्बरमा छ । त्यस कारण पनि मुस्लिम समुदायको मतमा पनि सबैको आस टिकेको छ ।

एक वा दुईटा जातिगत मतलाई आकर्षित गर्न उम्मेदवार तथा नेता, कार्यकर्ताहरूले भरमग्दुर प्रयास गरिरहेका छन् । त्यसैगरी, बारा–२ मा कुल मतदाताको ४.३ प्रतिशत अर्थात् चार हजार ६७२ मत कुशवाहा, ३.१ प्रतिशत अर्थात् चार हजार १३४ मत कानू, २.१ प्रतिशत अर्थात् तीन हजार ४०५ मत तेली जातिबाट रहेका छन् ।

यादवबाहेकको मतदाता सङ्ख्या कुल मतदाताको ४६ प्रतिशत अर्थात् ५० हजारको हाराहारीमा मतदाता छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले बाहिरिया र आफ्नै क्षेत्रको उम्मेदवारको पहिचान गरी ‘धर्तीपुत्र उम्मेदवारलाई मतदान गरौं’ भन्ने अभियान ४६ प्रतिशत गैरयादव मतदातालाई रिझाउन रहेको हुन सक्छ ।

 ‘यादव भर्सेज अल’को रणनीतिले चुनावमा बाजी मार्ने दाउमा जनमत पार्टी रहेको देखिन्छ । तर सत्तारूढ गठबन्धन दलका साझा उम्मेदवार जसपा अध्यक्ष यादवको अङ्कगणित अगाडि रहेको देखिन्छ । उनी अङ्कगणितमा अगाडि भए तापनि तटस्थ मतदाताहरूले आगामी चुनावमा प्रभाव पार्न सक्ने आकलन पनि गरिएको छ । तटस्थ मतदाता भन्नाले कुनै पनि दलमा नलागेको, दलको कार्यक्रममा सहभागी नहुने गरेको, राम्रोलाई राम्रो–नराम्रोलाई नराम्रो भन्ने र उम्मेदवारको छवि र दलको ग्राफ हेरेर स्वतन्त्ररूपमा निर्णय लिने मतदाताहरू हुन् ।

बारा–२ मा पाँचवटा पालिकाका सम्पूर्ण वडा र कोल्हवी नपाको ८ नं वडा गरी ४४ वटा वडा यो क्षेत्रभित्र पर्छ । जसमा सबैभन्दा बढी मतदाता बाराको महागढीमाई नगरपालिकामा छन् । उक्त नगरपालिकामा ११ वटा वडा छन् । त्यसपछि पचरौता नपामा नौवटा वडा, सुवर्ण गापामा आठवटा, देवताल गापामा सातवटा, करैयामाई गापामा आठवटा वडा गरी यी पाँच पालिकामा ४३ वटा वडा छन् ।

सत्ता गठबन्धन दल जसपाको सो क्षेत्रमा दुईजना निर्वाचित विधायक, करैयामाई र देवतालमा जसपा, महागढीमाई र सुवर्णमा काङ्ग्रेस, पचरौतामा एमालेबाट पालिका प्रमुख छन् । पाँचवटा पालिकामध्ये चारवटामा सत्तारूढ गठबन्धनकै प्रमुख भएकाले पनि जसपा अध्यक्ष यादवलाई बलियो उम्मेदवार मानिन्छ । तर एमाले, आम जनता पार्टी र जनमत पार्टीबीच सहमति भई जसपा अध्यक्ष यादवलाई कडा टक्कर दिने रणनीति पनि बन्न सक्ने  बताइएको छ ।

यदि यी तीन दलले सहमति गरेमा यादवले चुनावमा कडा चुनौती पाउने जानकारहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here