प्रमोद यादव, पंचगावाँ, ४ वैशाख/

पर्साको ग्रामीण क्षेत्रमा प्रहरी र वन कर्मचारीहरूको मिलेमतोमा व्यापक काठ तस्करी भइरहेको छ ।

सखुवाप्रसौनी, पटेर्वासुगौली गाउँपालिकालगायत स्थानमा सञ्चालित चिरान मिल र फर्निचर उद्योगमा तस्करी गरिएका काठ खुलेआम बिक्री भइरहे पनि प्रहरी र वन कर्मचारी मूकदर्शक बनेको स्थानीयको आरोप छ ।

आइतवार सखुवापरसौनी गापा–३ मा रहेको समिलमा तस्करहरूले दुर्ईवटा गोलिया काठ ल्याएर चिरान गरिरहेको विषयमा स्थानीयले वन कर्मचारीलाई जानकारी गराउँदा पनि कुनै चासो नदेखाएको बताइन्छ । त्यसपछि यसबारे प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्नुभन्दा पहिले नै तस्करहरूले काठ चिरान मिलबाट अन्यत्र लगेर लुकाएको दीपनारायण यादवले बताए ।

पर्साको सबडिभिजन वन कार्यालय रङ्गपुर, मधुवनमथवल मातहत पर्ने रंङ्गपुर, अकुवनिया, सखुनिया, भतौडा, सोनबर्सालगायत क्षेत्रबाट रातिको समयमा काठतस्करहरूले काँचो सालको रूख कटान गरी सखुवापरसौनी र पटेर्वासुगौलीमा रहेका विभिन्न चिरान मिल र फर्निचर उद्योगहरूमा बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ । इजाजतविना पर्सा ग्रामीण क्षेत्र अहिले दर्जनौं फर्निचर उद्योग र समिल सञ्चालन भइरहेको छ ।

यसबारे डिभिजन वन कार्यालय र जिम्मेवार निकायले कुनै चासो देखाएका छैनन् । ती फर्निचर र समिल उद्योगमा खानतलाशी गर्दा अवैध काठ फेला पर्ने स्थानीय बताउँछन् ।

डिभिजन वन कार्यालय, पर्साका प्रमुख सुभाषचन्द्र दासले वन कर्मचारीको संलग्नता काठ तस्करसँग नरहेको बताएका छन् । उनले काठ तस्करी रोक्न वन कर्मचारी अहोरात्र खटने गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here