प्रस, वीरगंज, ३ वैशाख/

बारा क्षेत्रनं २ मा हुन गइरहेको उपनिर्वाचनमा जीत हासिल गर्न प्रमुख दलहरूका उम्मेदवारहरू जोडतोडका साथ लागिपरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अहिले निर्वाचन जित्नका लागि पूर्णरूपमा चुनावी मैदानमा तल्लीन छन् । महागढीमाई नगरपालिका–१ बरियारपुरमा मुख्यालय बनाएर उनी बिहान ७ देखि साँझ ७ बजेसम्म चुनावी अभियानमा लागेका छन् । घरदैलोलगायतका चुनावी प्रचारमा उपेन्द्र यादव संलग्न छन् । मतदाता आकर्षित गर्न उनले सबैथरीका हत्कन्डा अपनाएका छन् ।

सप्तरीबाट जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग ठूलो मतान्तरबाट पराजित भएपछि उनी बारा क्षेत्र नं २ बाट उपनिर्वाचन लडिरहेका छन् । यो क्षेत्रका सांसद रामसहायक यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन गइरहेको हो ।

जसपा अध्यक्ष यादवलाई सत्तारूढ गठबन्धनको समेत साथ छ । नेपाली काङ्ग्रेसको राम्रो पकड रहेको यो क्षेत्रमा नेका उम्मेदवार नरहेको र नेकासहित सत्तारूढ गठबन्धनका माओवादी केन्द्र, लोसपा, नेकपा (एस)समेतको यो क्षेत्रमा मत उल्लेखनीय रहेका कारण यादवले जित्नुपर्ने लख काटिंदैछ । तर उनलाई जनमत पार्टी र एमालेका शिवचन्द्र कुशवाहा र पुरुषोत्तम पौडेलले दरो टक्कर दिने अनुमान गरिएको छ । कुशवाहा गत चुनावमा हालका उपराष्ट्रपति यादवसँग ३५४ मतले मात्र पराजित भएका थिए । माओवादी केन्द्रसँग आबद्ध कुशवाहा माओवादी परित्याग गरेर जनमत पार्टी प्रवेश गरी यो क्षेत्रबाट चुनाव लडिरहेका छन्, जसले गर्दा पूर्वमाओवादी कुशवाहालाई दुवै पार्टीको मतदाताहरूबाट सहयोग मिल्ने अनुमान गरिएको छ । पहिलो संविधानसभामा कुशवाहा यो क्षेत्रबाट निर्वाचित भएका थिए भने त्यसपछिको चुनावमा पराजित भएका थिए ।

एमालेबाट पुरुषोत्तम पौडेलको चर्चा पनि यो क्षेत्रमा कम छैन । चुनावी अभियानमा पौडेलको पनि पहिलो निशाना जसपा अध्यक्ष उपेन्द्र यादव नै छन् । यादव हराउ अभियानमा उनका अभिव्यक्तिहरू पनि चुनावीसभामा प्रशस्त सुन्न पाइन्छ । बाहिरिया–भित्रियाको कुरा पनि यो चुनावमा उठाइँदैछ ।

जनमत पार्टीका डा राउतले क्षेत्रका उम्मेदवारलाई चुनाव जिताउन बारम्बार अपील गर्दै आएका छन् । बारा क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट र पर्सामा प्रहरी उपरीक्षक भएर देखाएको कामबाट मात्रै अहिले उनको चर्चा यो क्षेत्रमा भएको छ । यो क्षेत्रबाट राजनीतिक दलका १२ जना उम्मेदवार छन् भने स्वतन्त्र २४ जना गरी ३६ जना छन् । चुनावमा भने चारवटा दलको मात्र मुख्यरूपमा चर्चा छ । बाँकी दल र स्वतन्त्र उम्मेदवारहरूको खासै चर्चा छैन । उनीहरूको प्रचार पनि यो क्षेत्रमा कमजोर छ । चुनावमा प्रतिस्पर्धाभन्दा उम्मेदवारलाई विभिन्न तरीकाबाट सघाउने गरी स्वतन्त्र उम्मेदवारी परेको देखिन्छ ।

आचारसंहिता उल्लङ्घन

बाराको उपनिर्वाचनमा निर्वाचन आचारसंहिताको धज्जी उडाइएको छ । आचारसंहितामा रङ्गीन पोस्टर, पम्पलेट वर्जित गरिएको छ तर अहिले यहाँ ठूला दल भनाउँदाहरूले रङ्गीन तस्वीरहरूमा पोस्टर, पम्पलेटबाट चुनाव प्रचार गर्दै आएका छन् । यसैगरी, यो क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा फ्ल्याक्सोबाट पनि चुनावी प्रचार भइरहेको छ । सार्वजनिक स्थानमा चुनाव प्रचारका सामग्रीहरू राख्न नपाउने र निजी क्षेत्रमा स्वीकृति लिएर मात्र राख्नुपर्ने नियमको यहाँ ठाडो उल्लङ्घन भएको छ ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले भोजभतेर गर्न पाउने छैनन् तर अहिले बारा क्षेत्र नं २ को उपनिर्वाचनमा चुनाव जित्ने दाबी गर्ने ठूला दलहरू सबैले भोजभतेर गर्दै आएका छन् । पालिकाको टोलटोलमा कार्यकर्ताको नाममा भोजभतेर भइरहेका छन् । सबैजसो दलले मुख्यालय क्षेत्र नं २ को महागढीमाई नपा–१ बरियारपुरलाई बनाएका छन् तर यो क्षेत्रका विभिन्न पालिकाहरूका टोलटोलमा भोजभतेर हुँदै आएको छ जसले गर्दा कार्यकर्ताभन्दा पनि मतदाता प्रभावित गर्ने काम भइरहेको सहज अनुमान गर्न सकिन्छ ।

यसैगरी, निर्वाचन आचारसंहिता अनुसार भारतीय गाडीको प्रयोग निषेध छ भने उम्मेदवारहरूलाई तोकिएको सङ्ख्यामा मात्र सवारीसाधनहरूको प्रयोग गर्न पाइने व्यवस्था छ तर उपनिर्वाचनमा भारतीय र नेपाली नम्बरको गाडीका लस्कर चुनावी प्रचारप्रसारमा प्रयोग भइरहेका छन् ।

नेमकिपाबाट उम्मेदवार मुक्तिप्रसाद यादवले मात्र अटोरिक्शाबाट चुनावी प्रचार गरिरहेका छन् । बाँकी ठूला दलका उम्मेदवारहरू गाडीको दौडधूपमा व्यस्त छन् । स्वतन्त्र र अन्य दलहरूको भने खासै सहभागिता देखिंदैन ।

सत्ताको दुरूपयोग भयो– डा सिके राउत

उपनिर्वाचनको प्रचारमा बारामा आइतवार पुनः आएका जनमत पार्टीका अध्यक्ष डा सिके राउतले जसपाका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन राज्यसत्ता लागिपरेको आरोप लगाएका छन् । उनले प्रहरी प्रशासन उपेन्द्र यादवको पक्षमा रहेको आरोप लगाए । यादवले निर्वाचन आचारसंहिताको चरम उल्लङघन गरेको भएपनि उनीमाथि कारबाई नगरिएको डा राउतले आरोप लगाए ।

चुनाव जिताउनको लागि प्रहरी प्रशासनको दुरुपयोग भइरहेको भन्दै उनले आफूलाई यो सह्य नहुने बताए । निर्वाचन स्वच्छ, निष्पक्षरूपमा गराउन उनले निर्वाचन आयोगसँग माग गरे । सत्ताको आडमा निर्वाचन गराउन खोजे त्यसको प्रतिकार गर्ने उनले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here