प्रस, वीरगंज, ३ वैशाख/
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल आइतवार गृह जिल्ला आएका छन् ।
मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका रिजाललाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
सिमरा विमानस्थलमा उनले सङ्क्षिप्त प्रतिक्रिया दिंदै पर्सा, बाराका उद्योग, व्यवसायको हितमा काम गर्ने बताएका छन् । उनले अहिलेको अवस्था सबैलाई अवगत भएको र प्रतिकूल अवस्थामा पनि उद्योगधन्दा फस्टाउने गरी सरकारले काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
नेपाली काङ्ग्रेस पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दनसिंह क्ष्Fत्री, संविधानसभा सदस्य अनिल रुँगटा, प्रदेशसभा सदस्य श्याम पटेल, वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलम, नेकाका स्थानीय नेता श्याम पोखरेल, नवीन सिंह, गापाध्यक्ष श्रीकान्त यादवलगायतले सिमरा विमानस्थलमा मन्त्री रिजालको स्वागत गरेका थिए । आजै मन्त्री रिजाल पुस्तैनी गाउँ जगरनाथपुर गापा–५ मा गएका र उनलाई त्यहाँ फूलको विशाल माला लगाएर सम्मान गरिएको थियो । गापा अध्यक्ष श्रीकान्त यादवले मन्त्री रिजालको स्वागत गरेका थिए । कार्यक्रममा नेका पर्साका सभापति सिंह, उपसभापति रामनारायण कुर्मी, मन्त्रीका स्वकीय सचिव वृहस्पतिकृष्ण श्रेष्ठ, नवीन सिंहलगायतको सहभागिता थियो ।
मन्त्री रिजालले वडास्तरीय क्रिकेट प्रतियोगिताको पनि उद्घाटन गरे ।