प्रस, जीतपुर, ३० चैत/
सिमरा विमानस्थल कार्यालय, बाराका प्रमुख सूर्यबहादुर खत्रीले आव २०७९/८० साउनदेखि फागुनसम्म आठ महीनामा ९१ हजार ९३३ जनाले काठमाडौं–सिमरा यात्रा गरेको बताए ।
उनले सोही अवधिमा ८० हजार १६३ जनाले सिमरा–काठमाडौं विमानसेवाबाट यात्रा गरेको बताए । प्रमुख खत्रीले सिमरा विमानस्थलमा थप सेवा, सुविधासहित रात्रि विमानसेवा सञ्चालन भएको बताए ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका प्रथम अध्यक्ष घनश्याम गिरीले सिमरा विमानस्थलको सेवाका कारण तराई–मधेसका यात्रीले एकै दिनमा वीरगंजबाट काठमाडौं पुगेर आफ्नो काम सम्पन्न गरी फर्कन सक्ने अवस्था आएको बताए ।
तत्कालीन जीतपुरसिमरा पञ्चायतका प्रधानपञ्च मुकुन्दबहादुर क्षत्रीले नेपालमा पहिलोपटक विमान अवतरण सिमरामा भएको बताउँदै सिमरा विमानस्थल बन्दा स्थानीयवासीले राहत महसूस गरेको बताए । सिमरा विमानस्थलका संधियारसमेत रहेका क्षत्रीले सिमरा विमानस्थलको स्तरोन्नति गर्नुपर्ने बताए ।