प्रस, वीरगंज, ३० चैत/

विन्ध्यवासिनी गाउँपालिकाको कार्यालयले वडाध्यक्षलाई सूचना उपलब्ध नगराएपछि विवाद शुरू भएको छ ।

गापा–२ का अध्यक्ष मुक्तिनाथप्रसाद कुर्मीले चालू आवको  विशेष गाउँसभामा भएको निर्णय माग गरेका र प्रमुख कार्यकारी अधिकृत राजु साहले सूचना नदिएको आरोप लगाएका छन् । उनले विशेष गाउँसभा भए नभएको र भएको छ भने त्यसले गरेको निर्णय माग गरेका थिए ।

वडाध्यक्ष कुर्मीले लेटरपैडबाट लिखितरूपमा सूचना माग गरेको तर नदिएको गुनासो गरे ।

गापाध्यक्ष प्रमोद तिवारीले फोन नउठाउने, भेटेर सम्पर्क गर्दा आलटाल गर्दै आएका र सूचना माग गरेको १५ दिन बितिसक्दा पनि  जिम्मेवार कर्मचारी नआएको बहानाबाजी गरी सूचना नदिएको आरोप लगाएका छन् । यही चैत ८ गते विशेषसभा डाकिएको दिन गाउँमा जलयात्रा रहेको र सबै जनप्रतिनिधिहरू जलयात्रामा सहभागी भएकाले भोलिपल्ट विशेष गाउँसभा गर्ने मौखिक सहमति भएको उनले बताए । उनले भोलिपल्टको विशेषसभाबारे आफूसहित चारजना वडाध्यक्षलाई खबर नगरिएको र बाँकी सदस्यहरूसँग घरघरमा माइन्युट बूक घुमाएर हस्ताक्षर गराएको आरोप लगाएका छन् । उनले विशेष गाउँसभाबाट यसअघि भएका अनियमितता ढाकछोप हुने खालका निर्णय गरिएको र यसअघि विनियोजित योजनाका रकमहरू आफूखुशी रकमान्तर गरिएको थाहा पाएर सूचना मागेको तर उपलब्ध नगराइएको गुनासो गरे । वडाध्यक्ष कुर्मीले सूचनाको लागि दिएको निवेदनमा प्रमुख प्रशासकीय अधिकृत साहले गाउँसभा कार्यविधि २०७५ को नियम २१ (२) बमोजिम दिन नमिल्ने तोक लगाएको बताएका छन् । कार्यविधिमा गाउँसभाको निर्णय अध्यक्षको आदेशविना दिन नमिल्ने व्यवस्था रहेको कर्मचारी स्रोतले जानकारी गराएको छ । यसअघिका जनप्रतिनिधिहरूले कार्यविधि बनाएर यस्तो व्यवस्था गरिएको एकजना कर्मचारीले बताए ।

संविधानको मौलिक हक अन्तर्गत धारा २७ अनुसार तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ दफा ३ ले सार्वजनिक सरोकार र नागरिकलाई सूचनाको हकको अधिकार दिएको छ । तर गापाले बनाएको कार्यविधि संविधानविपरीत रहेको वडाध्यक्ष कुर्मीको गुनासो छ । उनले गापाको कार्यविधि र सूचना नदिने प्रवृत्तिविरुद्ध आफू अदालत जाने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here