• सञ्जय साह मित्र

आज विक्रम संवत् २०७९ को अन्तिम दिन हो । आज यो वर्षको समापन हुँदैछ । भोलि शुक्रवारदेखि नयाँ वर्ष २०८० आउँदैछ । उसो त समय निरन्तर चलिरहन्छ र यसलाई विभिन्न किसिमले नाप्ने गरिएको छ । मानिसले आफ्नो सुविधाको लागि नै यसरी समयलाई निश्चित तरीकाले नाप्ने गरेका हुन् । समयलाई नाप्ने संस्कृति बन्न पुग्दा सोही दिन चाडपर्वहरू मनाउन थालेका हुन् । कतिपय अवस्थामा कुनै निश्चित दिनमा कसैको जन्मविशेष पर्दा त्यस दिनलाई पनि उत्सवको रूपमा मनाउन थालिएको हो । यसरी हाम्रो संस्कृतिमा रहेका विभिन्न चाडपर्व र दिवसहरू मुख्यगरी समयको यही नापोलाई आधार मानेर मनाइएको पाइन्छ ।

समयलाई नाप्ने सबैभन्दा पुरानो आधार चन्द्रमाको उदय र अस्त रहेको देखिएको छ । यसैले धेरैतिर चन्द्रमास नै प्रचलनमा रहेको पाइन्छ । चन्द्रमास प्रचलनमा रहेको ठाउँमा चन्द्रमा उदाउने दिनलाई तिथिमा विभाजन गरी त्यसै आधारमा महीना, वर्ष तथा चाडपर्वहरू प्रचलनमा रहेका छन् । सम्भवतः यसैको विकसित रूप नै आधुनिक वर्षहरू पनि हुन् । विश्वमा औपचारिक प्रचलनमा रहेका वर्षहरू अर्थात् संवत्हरू धेरै पुराना रहेको पाइएको छैन । विश्वमा देखिएको खास घटना, जस्तै भगवान् गौतम बुद्धको जन्म, यशुको जन्म आदिले समयको गणनालाई प्रभावित वा शुरूआत गरेको पाइन्छ । पश्चिमा जगत्मा सबैभन्दा बढी प्रचलनमा रहेको इस्वी संवत् पनि दुई हजार वर्षभन्दा केही बढी पुरानो हो भने नेपालमा औपचारिक संवत्को रूपमा रहेको विक्रम संवत् पनि इस्वी संवत्भन्दा केही दशक मात्र जेठो रहेको छ । विश्वका अधिकांश देशमा इस्वी सन् नै प्रचलनमा रहेको भए पनि कतिपय देशले नेपालले जस्तै आफ्नै संवत्लाई औपचारिक संवत्को रूपमा चलाएको पाइन्छ ।

विक्रम संवत् २०७९ को अहिले विभिन्न कोणबाट मूल्याङ्कन भइरहेको छ । समय वा सालको मूल्याङ्कन गर्ने चलन विश्वव्यापी हो । कुनै पनि साललाई एउटा देशको सीमामा रहेर र विश्वभरको मुख्य उतारचढावलाई लिएर तुलना गरिन्छ । यसैगरी देशभित्र वा बाहिर घटेका मुख्य प्राकृतिक वा मानवीय घटनालाई पनि वर्षको प्रमुख घटनाको रूपमा मूल्याङ्कन गरिन्छ ।

नेपालको इतिहासमा विक्रम संवत् २०७९ निकै निराशापूर्ण रहेको विश्लेषण भइरहेको छ । यसको एउटै मुख्य कारण हो आर्थिक क्षेत्र । आर्थिक क्षेत्रबाट अहिले पनि धेरै मानिस निराश रहेका छन् । अर्थतन्त्रले गति लिन सकेको छैन । बजारमा व्यवसाय सञ्चालन गरेर बसेका व्यवसायीहरू निरन्तर भनिरहेका छन् – व्यापार छैन । साँच्चीकै जहाँ सटर भाडामा लिनको लागि प्रतिस्पर्धा हुन्थ्यो, त्यहाँ अहिले सटर खाली भएको पनि पाइन्छ । नारायणघाटका एक व्यापारीले भने – व्यापार नभएर कतिपय त व्यवसाय बन्द गरी पलायन भइसकेका छन् । यही अवस्था अन्यत्रको पनि हुुनुपर्छ । अन्यत्रको व्यापार व्यवसाय पनि फस्टाएको पाइएको छैन । कतिपयले व्यवसायलाई जीवनको ऐना मान्दछन् किनभने जीवनको अन्य क्षेत्रमा यदि उत्साह छ भने त्यसको असर सोझै व्यवसायमा पर्ने गर्दछ ।

वास्तवमा उत्साह खास कतै देखिएको छैन । अहिलेसम्म नेपाल सरकारले खर्च गरेको बजेट पनि निराशाजनक नै रहेको छ । विकास निर्माणको कामले गति लिंदा पनि देशमा अर्थ प्रवाह हुन्थ्यो तर देशमा राजस्व नै अपेक्षाभन्दा कम उठेको छ । राजस्व कम उठ्दा धेरै क्षेत्रको बजेट कटौती भइरहेको सार्वजनिक भइरहेको छ । बजेट कटौतीको कुराले गर्दा पनि मानसिक वा मनोवैज्ञानिक रूपमा धेरैमा अझै केही समय आर्थिक निराशाको समय चलिरहने आशङ्का जन्माउँछ । यसविपरीत महँगी भने निरन्तर बढिरहेको छ । सबै क्षेत्रको महँगी वृद्धि भइरहेको छ । महँगीमा वृद्धि भइरहनु तथा सर्वसाधारणको आय खुम्चिनुजस्तो विपरीत अवस्थाले बजारमा निराशा आएको यथार्थलाई पनि  अर्थशास्त्रीहरूले राम्ररी विश्लेषण गरिरहेका छन् । महँगी आन्तरिक कारणले बढेको होइन । गत वर्षदेखि रूस–युक्रेन युद्ध जारी छ । यसको असर विश्वव्यापी परेको छ । सम्भवतः यही युद्धका कारण इन्धनको मूल्यमा निरन्तर वृद्धि भएको होला र इन्धनको कारणले अन्य धेरै क्षेत्रको मूल्यमा वृद्धि भएको होला । नेपालमा पछिल्लो समय सबैभन्दा बढी मूल्य वृद्धि हुने क्षेत्रमा यातायात नै रहेको सार्वजनिक भएको छ ।

कृषि उपजलाई केही हदसम्म सन्तोषजनक मानिएको छ । तर किसानले समयमा रासायनिक मल पाउन सकेको भए धानको उत्पादन अझ बढ्थ्यो भने गहुँको उत्पादनमा पनि अझ वृद्धि हुने सम्भावना थियो । धान खेतीका लागि मौसम अनुकूल थियो तर गहुँखेतीको लागि भने यस वर्ष अलिकति पनि पानी नपरेको कारण केही प्रतिकूल मौसम रहेको देखिएको छ । सबै खेतमा सिंचाइ नपुगेको र डिजल इन्जिनबाट खेतमा सिंचाइ गर्दा निकै महँगो पर्ने भएकोले गहुँ उत्पादनमा केही नकारात्मक प्रभाव परेको छ । यद्यपि मकै खेती भने निकै राम्रो भएको छ । नेपालमा धान, गहुँ र मकैलाई मुख्य बालीको रूपमा लिने गरिएको छ । तीनै बालीको उत्पादन औसत रहेकोले देशको अर्थतन्त्रमा कृषिको योगदानलाई औसत नै मानिएको छ ।

यस वर्ष बैंकिङ क्षेत्र र मिटर ब्याजको कुरो निकै चर्चामा रह्यो । बैंकले ब्याज दर निकै परिवर्तन गरिरह्यो । ब्याजमा अस्थिरता राख्दा त्यसको प्रभाव बजारमा परिरह्यो । धेरै मानिस र मुख्यगरी व्यवसायीहरूले बैंकबाट ऋण लिएका छन् । बैंकबाट ऋण लिंदा जुन ब्याजदर थियो त्यो  धेरैपटक घटबढ भएको गुनासो ऋणीहरूले गरिरहे । बैंकको ब्याज बढ्ने तर व्यवसायमा भने वृद्धि नहुने हुँदा ऋणीहरू निकै पीडित बनेको यसकारण पनि महसूस भएको छ कि बैंकको अस्थिर ब्याजको विरोधमा देशका विभिन्न ठाउँमा व्यवसायीहरूले प्रदर्शन नै गरेका छन् । जबकि यसै अवधिमा बैंकहरूले राम्रो नाफा कमाएको पाइएको छ । यसैगरी मिटरब्याजीलाई तह लगाउन र मिटरब्याजीबाट पीडितहरू देशको राजधानी काठमाडौंमा पटकपटक आन्दोलन गरेको प्रसङ्गले पनि यस वर्षमा निकै चर्चा पायो । मिटरब्याजीलाई कारबाहीका घटनाहरू पनि भएका छन् । मिटरब्याजीमाथि कारबाही हुँदा गाउँघरमा हुने सानातिना ऋण प्रवाहमा भने अलिकति समस्या देखिएको छ ।

यस वर्ष देशमा निकै महत्वपूर्ण काम पनि भएका छन् । यसै वर्ष वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । देशभर एकसाथ निर्वाचन सम्पन्न भएर स्थानीय सरकारले जेठ महीनादेखि कामकाज शुरू गरेको हो । देशभर स्थानीय सरकार गठन हुनु विशिष्ट उपलब्धिको रूपमा रहेको छ । लोकतान्त्रिक देशमा आवधिक निर्वाचन अत्यन्त महत्वपूर्ण हुन्छ । यसले सरकार गठनको प्रक्रिया शुरू गर्ने मात्र होइन, लोकको अभिमत पनि बुझ्ने काम गर्दछ । देशमा यही वर्ष प्रदेश तथा सङ्घको निर्वाचन पनि एक साथ सम्पन्न भएको छ । गत मङ्सीरमा प्रतिनिधिसभा तथा सातै प्रदेशको प्रदेशसभाको निर्वाचन सम्पन्न भई केन्द्र तथा प्रदेशमा नयाँ सरकार गठन भइसकेको छ । एकै वर्ष दुईपटक तीन ठूला निर्वाचन सम्पन्न हुनु चानचुने उपलब्धि होइन । स्थानीय, प्रदेश र केन्द्र सरकारको लागि निर्वाचन भई शान्तिपूर्णरूपमा सरकार गठनको अवस्थालाई यस वर्षको ठूलो उपलब्धि मान्नुपर्दछ । यद्यपि यस वर्ष यो सुझाव पनि आएको छ कि दुईवटा चुनाव एकै वर्षमा गर्दा अर्थतन्त्रमा अलिक नकारात्मक असर पर्छ । उसो त विक्रम संवत्को दृष्टिकोणले दुई चुनाव एकै वर्ष भएको देखिए पनि आर्थिक वर्षको दृष्टिकोणले भने गत वैशाखमा भएको चुनाव एउटा आर्थिक वर्षमा र प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन अर्को आर्थिक वर्षमा भएको देखिन्छ ।

निकै उतारचढावपूर्ण रहेको वर्ष २०७९ सामान्य वर्षको रूपमा रहेको देखिएको छ । यद्यपि सबै तहको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भइसकेकोले अब देशको आर्थिक तथा अन्य क्षेत्रले गति लिने विश्वास यस वर्षले खडा जगाइदिएको छ । नयाँ वर्ष २०८० मा नेपाल र नेपालीका सकारात्मक सपनाहरू पूरा होऊन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here