नेपाली चलचित्रहरूले पनि आशालाग्दो नतीजा दिन थालेका छन् । २०७९ सालको १२ महीनामा नेपाली दर्शकसामु प्रदर्शित १३५ वटा स्वदेशी तथा विदेशी चलचित्रमध्ये पहिलो कमाइ नेपाली चलचित्रको देखियो । नेपाली चलचित्र ‘कबड्डी–४’ ले २१ करोड ३८ लाख रुपैयाँको व्यापार गरेको छ । त्यसपछि विदेशी कन्नड चलचित्र ‘केजिएफ च्याप्टर–२’ ले हाम्रो बजारमा १९ करोड २९ लाख रुपैयाँको व्यापार गरेको छ । केजिएफकै नजीक–नजीक अन्य नेपाली चलचित्रहरू पनि पुगेका छन् । ‘छक्का पञ्जा–४’ ले १७ करोड रुपैयाँको व्यापार गरेको छ । त्यसैगरी, प्रेम गीत–३, महापुरुष, दुई नब्बरी, फूलबारी, झिङ्गेदाउलगायत नेपाली फिल्मको बजार उकालो चढ्दो छ । तर यिनीहरूको व्यापार प्रगति कबड्डी–४, केजिएफ, छक्का पञ्जा–४ को तुलनामा भुइँ सतहमा छ । सात दशकअघि ब्ल्याक एन्ड ह्वाइट प्रविधिमा ‘सत्य हरिश्चन्द्र’बाट कोरिएको नेपाली फिल्मको गोरेटो अब राजमार्गमा परिणत हुँदैछ । स्तरीय विदेशी फिल्मकै तुलनामा नेपाली फिल्म क्षेत्रले पनि प्रतिस्पर्धा गर्न थालेको छ ।

डेढ दशकयता फिल्म निर्माणमा डिजिटल प्रविधि प्रयोग भएसँगै स्वदेशी सिनेमाको रूप फेरिन थालेको हो । हाम्रा फिल्म हलहरू पनि आधुनिकीकरण हुँदै जाँदा नेपाली फिल्म बजार आशालाग्दो बन्न पुगेको छ । एउटै भवनमा दुई वा सोभन्दा बढी अत्याधुनिक सुविधायुक्त सिनेमा घर थपिंदो छ । हलहरूमा आधुनिक ध्वनि प्रणालीका साथ स्क्रिन क्रिस्टल कलरले चम्किन थालेका छन् । आरामदायक र अत्याधुनिक सुविधासम्पन्न हलले नेपाली फिल्मका दर्शकलाई लोभ्याइरहेका छन् । एकतिरबाट मात्र आवाज आउने अस्पष्ट ध्वनि प्रणालीको साटो सराउन्ड साउन्ड सिस्टमले जीवन्तताको अनुभूति गराइरहेको छ । फिल्म निर्माणमा पनि अत्याधुनिक क्यामरा र क्रेन, ड्रोनका साथ भिएफएक्स, कलर ग्रेडिङजस्ता विकसित प्रविधि भित्रिंदा निर्देशक र कथाकारले कल्पना गरेजस्तै फिल्म बन्न सम्भव भएको छ । यही कारणले गर्दा नेपाली फिल्मप्रति दर्शक आकर्षित भइरहेका छन् ।

अस्पष्ट ध्वनि, धमिलो चित्र, डुङ्डुङ्ती गन्हाउने हल, सासू–बुहारीको झगडा तथा जमिनदार र मुखियाको थिचोमिचोमैं रुमलिएको नेपाली फिल्म केही समययता आएर किशोरकिशोरीको मन जित्न सफल हुँदैछ । स्वदेशी फिल्म वर्तमानमा आएर नेपाली बजारमा विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने भएको छ, तर समस्याहरू भने धेरै छन् । करोडौं लगानी हुने यो क्षेत्रले लगानी फिर्ता दिन अहिले पनि चुनौतीकै विषय छ । यसको खास कारण फिल्मी संसारको दौडमा झन्डै पौने एक शताब्दीसम्म हामी पछि रह्यौं । अरूहरू अगाडि बढिसकेका छन् । त्यसैले हामीलाई अरूको दाँजोमा पुग्न कठिन भएको छ । अर्कोतर्फ भाषिक समस्या पनि हो । नेपाली भाषा बुझ्ने र सुन्नेको तुलनामा अन्य मुलुकका भाषा बुझ्ने र सुन्नेहरू धेरै छन् । नेपाली फिल्मले बल्लबल्ल अन्तर्राष्ट्रिय बजारको बाटो पहिल्याउन थालेको छ भने विदेशी फिल्म दशकौं पहिले नेपालीको घरघरसम्म पुगिसकेका छन् । विदेशी नागरिकले समेत हेर्ने र वाह भन्ने बनाउनका लागि नेपाली फिल्म क्षेत्रले कथा, अभिनय र गुणस्तरमा धेरै मेहनत गर्नुपर्ने देखिन्छ । विदेशी फिल्म फस्टाउनुका प्रमुख कारण फिल्म क्षेत्रका लागि सम्बन्धित देशले बनाइदिएको बलियो नीतिनियम पनि हो । नेपालमा बल्लतल्ल राष्ट्रिय फिल्म नीति बने पनि त्यसको कार्यान्वयनमा सरकार उदासीन छ । यसतर्फ सरोकारवाला पक्षको ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here