प्रस, परवानीपुर, २७ चैत/
बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज लिएको भन्दै बैंक तथा वित्तीय संस्थाको विरोध गर्दै देशभरि अभियान चलाएका दुर्गा प्रसाईंले वीरगंजमा पनि कार्यक्रम सम्पन्न गरेका छन् ।
वीरगंजको आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित विरोधसभामा उनले भने– “देश अहिले दशजना नेता र ५५ जना बैंकका सञ्चालकको कब्जामा छ । नेपाली जनताको समस्या र दुःख–सुखमा काम लाग्ने कोही भएन । त्यस कारण मैले करोडौंको व्यापार–व्यवसाय छाडेर यो अभियानमा लागेको छु ।”
उनले आफ्नो अभियानमा सहभागी भए मिटरब्याजीको ऋण र बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको रु २० लाखसम्मको ऋण मिनाहा गराइछाड्ने दाबी गरे । मेचीको झापाबाट शुरू भएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, मानव बचाउ अभियानले महाकालीसम्मका विभिन्न जिल्लामा कार्यक्रम गरेर नेपाली जनताको समस्या उजागर गर्ने र बैंक तथा वित्तीय संस्थाको कर्जा, ब्याज माग्न आउने सहकारी तथा बैंकका पदाधिकारीलाई लखेट्ने तयारीमा रहेको उनले बताए ।
उनले भने– “नेपाल सरकार र नेताहरूका कारण नेपाली जनताले दुःख पाएको छ । प्रधानमन्त्रीको अगाडि जनताले आत्मदाह गर्नुपर्ने अवस्था छ । गर्भवतीहरूले कुटाइ खान्छन्, नेपाली दिदीबहिनीहरू पति विदेशमा हुँदा पनि आफू झुन्डिएर मर्नुपर्ने अवस्थाले गर्दा नेपाली जनताको धैर्यको बाँध फुटेको छ, त्यस कारण अभियानमा संलग्न भएर पीडित जनतालाई न्याय दिलाउन सघाउनुहोस् ।”
उनले आगामी दिनमा सत्ताको सिंहासनमा बस्ने नेताहरूको पनि औकात देखाउन जनता जुर्मुराएर गाउँ–गाउँबाट उठिरहेको र सरकारले जनताको समस्या सम्बोधन गर्न ढिलाइ गरेको खण्डमा मन्त्री र सांसदलाई पनि कारबाई गर्ने चेतावनी दिए ।
कार्यक्रममा अभियानकी प्रवक्ता रमा सिंहले नेपाल सरकारको नीतिका कारण नेपालीहरू वैदेशिक रोजगारमा जानुपरेको र उनीहरूका परिवार यहाँ साहुको चर्को ब्याजदरमा ऋण तिर्दातिर्दै मृत्युको मुखमा पुग्ने गरेको अवस्था निकै गम्भीर भएको बताइन् । उनले भाषण सुनेर घरमा बस्नुभन्दा सडकमा आएर गलत कुराको विरोध गर्न सुझाव दिइन् ।
अभियानका वीरगंज संयोजक नरेश साहको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू परिषद्का अध्यक्ष्F सन्तोष पटेल, अजय चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।