प्रस, वीरगंज, २७ चैत/

वीरगंज महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गरी नयाँ वर्षको अवसरमा तीन दिन रात्रिबजार सञ्चालन हुने जनाएको छ ।

नगरप्रमुख राजेशमान सिंहले चैत ३० देखि वैशाख २ गतेसम्म महानगरको आदर्शनगर क्ष्Fेत्रमा रात्रिबजार सञ्चालन गरिने बताए । उनले रात्रिबजारको तयारी जारी रहेको र सो अवधिमा छिमेकी भारतबाट समेत पर्यटकहरू आउने वातावरण मिलाउन राति १० बजेसम्म खुल्ने वीरगंज–रक्सौल नाका तीन दिन २४सैं घण्टा खुला हुने बताए ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र स्थानीय प्रहरी प्रशासनको सहकार्यमा भारतीय पक्षसँग यस सम्बन्धमा छलफल भएर तीन दिन सीमानाका खुला गर्ने सहमति भएको बताए । वीरगंजलाई आर्थिक राजधानी भनिए पनि ठीकविपरीत व्यापार–व्यवसाय हुँदै आएको र अहिले आर्थिक मन्दीको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन रात्रिबजारको अवधारणा अघि सारिएको उनले बताए ।

आदर्शनगरचोकदेखि कैलाशचोक, पुरानो बसपार्क र चिल्डे«न पार्कसम्म रात्रिबजारका सयभन्दा बढी स्टल राखिने र शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीका साथै कपडा, जुत्ता–चप्पल, विविध सामग्रीका स्टलका साथै खानाका परिकारहरू र विभिन्न कला–संस्कृति झल्किने झाँकी, साङ्गीतिक प्रस्तुति हुने नगरप्रमुख सिंहले बताए ।

वीरगंजमा पहिलोपटक रात्रिबजार आयोजना हुन लागेको र यसको सफलतासँग आगामी दिनको यात्रा तय हुने उनले बताए । नगरप्रमुख सिंहले ७५ प्रतिशत महानगरको लगानी र २५ प्रतिशत निजी क्षेत्रको लगानीमा रात्रिबजार आयोजना गर्न लागेको र यसमा सबै पक्षको सहकार्यको लागि आह्वान गरेका छन् ।

पत्रकार सम्मेलनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान, नूतन सरावगी, सञ्जय अग्रवाललगायतको सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण नगरप्रमुखका प्रेस सल्लाहकार महेश दासले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here