प्रस, वीरगंज, २३ चैत/
सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्टले बिहीवार जिल्ला समन्वय समिति, पर्सामा पत्रकार सम्मेलन गरी गापाध्यक्ष जसवन्त यादवले प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहसँगको मिलेमतोमा ११ महीनामा गरेको अनियमितताको पोल खोलेकी छन् ।
उनले गापाध्यक्षमा निर्वाचित भएको ११ महीनामा ७० लाख रुपैयाँको इन्धन खर्चेको, आफ्ना आसेपासे १०३ जनालाई कर्मचारीमा भर्ना गरेको र ठेक्कापट्टामार्फत लाखौं रुपैयाँ अनियमितता गरेको पत्रकार सम्मेलनमा आरोप लगाइन् । उनले प्रमुख प्रशासकीय अधिकृतले भाडाको गाडी चढ्दै आएको, उपाध्यक्षले खर्च गर्ने बजेट पनि आफ्नो भाइमार्फत कमिशन लिएर काम गराउँदै अFएको र सखुवाप्रसौनीमा भइरहेका विकास निर्माणका काममा कमसल निर्माण सामग्रीको प्रयोग भइरहेको आरोप पनि लगाइन् । उनले यसखाले बेथितिको विरोध आफूसमेत बहुमत कार्यपालिका सदस्यहरूले गरेको र अनियमितताविरुद्धका सूचनाहरू माग गर्दा प्रमुख प्रशासकीय अधिकृत साहले आफूलाई दिन नमानेको आरोप लगाइन् ।
उपाध्यक्षसँग पनि सूचना लुकाउने प्रमुख प्रशासकीय अधिकृतले सर्वसाधारणलाई झन् कति दुःख दिएका होलान् सहज अनुमान लगाउन सकिने उनले बताइन् । उनले गापाध्यक्ष यादवले पत्नी पूनम यादवलाई कार्यपालिका सदस्यहरूको निर्णयबेगर जागीरमा राखेको आरोप पनि लगाइन् । उनले कार्यपालिका सदस्यहरूको बैठक बोलाउन बारम्बार ताकेता गर्दै आएको तर अहिलेसम्म आलटाल गरिएको बताइन् ।
वडाध्यक्ष अशेश्वर यादवले कार्यपालिकाका १४ जना सदस्यमध्ये नौजनाको भेला बसेको र गापाध्यक्षको मनोमानीपूर्ण कार्यशैलीको विरोधमा आन्दोलन गर्ने चेतावनी दिए । उनले रकमी खेलमा कर्मचारी नियुक्त गरिएको आरोप लगाए । उनले गापाध्यक्ष यादवले विद्यार्थीहरूको खाजामा पनि कमिशन लिएको, मापदण्डविपरीत औषधि खरीद गरेको, सामाजिक विकास कार्यक्रमबाट पचास प्रतिशत कमिशन बुझ्दै आएको जस्ता आरोप पनि लगाए । उनले कार्यपालिकाको निर्णयविना नै महुवन माविका प्रअ भरत गिरीलाई सरुवा गरिएको, जिन्सी र योजनाको जिम्मेवारी करारका कर्मचारीहरूलाई दिएको जस्ता बेथितिका कामहरू गर्दै आएका कारण अध्यक्ष यादवविरुद्ध एकजुट हुनुपरेको बताए ।
पत्रकार सम्मेलनमा सांसद राजकुमार गुप्ता, प्रदेशसभा सदस्य प्रमोद जयसवाल, नेकाका नेता शैलेन्द्र यादव, वडाध्यक्षहरू मोजामिल मियाँ अन्सारी, महमद आरिफ अन्सारी, मुन्नाप्रसाद कम्कर, कार्यपालिका सदस्यहरू हसिना खातुन, महादेव साह कलवार, लालबहादुर उरावलगायतको सहभागिता थियो ।