प्रस, वीरगंज, २३ चैत/
वीरगंज महानगरले गुठी संस्थानको अतिक्रमित जग्गामध्ये बिहीवार थप नौ बिघा १३ कट्ठा जग्गा छुट्याएर किलाखुटी गाडेको छ ।
हिजोदेखि महानगरले गुठीको जग्गा छुट्याउने अभियान शुरू गरेको हो । अभियान अन्तर्गत आज अतिक्रमित नौ बिघा १३ कट्ठा जग्गा नापजाँच गरेर छुट्याइएको र किलाखुटी गाडेर सीमा निर्धारण गरेको महानगरले जनाएको छ । महानगरसँगै जोडिएको पर्सागढी नगरपालिका–४ भेडाहा टोलमा नौ बिघा १३ कट्ठा जग्गा नापजाँच गरेर सीमाङ्कन गरिएको गुठी संस्थान कार्यालय, पर्साका प्रमुख चुडामणि घिमिरेले बताए ।
महानगरले हिजो ११ बिघा १३ कट्ठा जग्गा नापजाँच गरेर सीमाङ्कन गरेको थियो । आज सीमाङ्कन गरिएको जग्गामा दुई सयभन्दा बढी घर बनाएर मानिसहरू बसेका थिए ।
महानगरपालिकाले संस्थानको आग्रहमा प्राविधिक टीम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम शुरू गरेको हो ।