प्रस, वीरगंज, २२ चैत/
सूर्य नेपाल प्रालि, सिमराले जीतपुरसिमरा उपमहानगर–१ स्थित नेरामावि, पथलैयालाई इल्याब सञ्चालनको लागि कम्प्युटर सेट र फर्निचरहरू उपलब्ध गराएको छ ।
सूर्य नेपालका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठले बुधवार एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आर्यलाई १५ थान कम्प्युटर सेट र सोमा प्रयोग हुने फर्निचरहरू हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष हीराबहादुर गुरुगले सूर्य नेपालले पथलैयावासीलाई गुण लगाउँदै आएको बताए । उनले कोरोनाकालमा चार सय मानिसलाई भोजन व्यवस्थापन गरेको र विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको भनी सूर्य नेपालको प्रशंसा गरे ।
विद्यालयका प्रअ शम्भु मण्डलले विद्यालयले आगामी वर्ष ५०औं वार्षिकोत्सवदेखि प्राविधिक शिक्षा सञ्चालनको तयारी गरेको र त्यसका लागि आवश्यक इल्याब सञ्चालनको लागि सूर्य नेपालले कम्युटर सेट, फर्निचरहरू सहयोग गरेकामा आभार व्यक्त गरे । उनले लामो समयदेखि विद्यालय सञ्चालनमा भएपनि शैक्षिक क्षेत्रमा फड्को मार्न नसकेको र त्यसको प्रमुख कारण भौतिक र प्राविधिक संरचनाहरूको अभाव प्रमुख कारण रहेको बताए ।
सूर्य नेपालका कारखाना व्यवस्थापक श्रेष्ठले सूर्य नेपालले शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदास धौजु, सामुदायिक वनका अध्यक्ष्F शेषल मुल्मी, सूर्य नेपालका एचआर प्रमुख विनयराज गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।