- सञ्जय साह मित्र
मानिसका पाँच आधारभूत आवश्यकतामध्ये एउटा स्वास्थ्य हो । गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यमध्ये स्वास्थ्यलाई पाँचौं स्थानमा राखिएको पाइन्छ । स्थान पाँचौं भन्नुभन्दा क्रममा पाँचौं रहने गरेको छ । यद्यपि क्रमले केही हुुने होइन । हरेक मानिसले बुझेको सोझो कुरो हो कि सबैभन्दा बढी र पहिलो आवश्यकता उसलाई खानाको हुन्छ । मानिसलाई बस्नको लागि घर चाहिन्छ । शरीर ढाक्न तथा जाडो, गर्मी र वर्षाको प्रकोपबाट जोगिन उसलाई कपडा चाहिन्छ । यसैगरी ज्ञानविना मानिस र अन्य जीवमा कुनै फरक नहुने भएकोले उसलाई ज्ञान चाहिन्छ । ज्ञानको सबैभन्दा महत्वपूर्ण माध्यम शिक्षा हो । यसैगरी खान, लाउन र शिक्षा पाउन मानिस स्वस्थ हुनैपर्छ ।
पहिले स्वास्थ्य भनेर शरीरमा कुनै रोग नहुनु हो भनेर बुझिन्थ्यो । बिस्तारै मानसिक स्वास्थ्यको कुरा पनि स्वास्थ्यमा जोडिंदै आयो । अब शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य तथा सामाजिक स्वास्थ्यको कुरो आइसकेको छ । संयुक्त राष्ट्र सङ्घको विश्व स्वास्थ्य सङ्गठनले पनि शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको चर्चा गर्ने गरेको छ । सबै तरहले मानिस स्वस्थ हुनुपर्छ । यसैले एकजना मानिस स्वस्थ हुनका लागि उसको शरीरका साथै मानसिक र पूरै परिवारको स्वास्थ्य पनि ठीक हुनुपर्यो र सामाजिक स्वास्थ्य पनि ठीक हुनुपर्यो । किनकि अब व्यक्तिगत मात्र होहन, विस्तृत क्षेत्र स्वस्थ हुनुपर्ने अवधारणा आइसकेको छ ।
सर्वसाधारण मानिसले पनि स्वास्थ्यबारे जानकारी प्राप्त गरिरहेका हुन्छन् । आजभोलि गाउँगाउँमा इन्टरनेटको सुविधा आइसकेको छ । इन्टरनेटको सुविधाको कारण मानिसहरूले सामाजिका सञ्जालसित नाता जोडिसकेका छन् । सामाजिक सञ्जालमा मानिस निकै अभ्यस्त भइसकेका छन् । सम्भवतः यो चरम अवस्था हो । जुनसुकै ठाउँ र काममा अलिकति समय मिल्यो कि मानिस मोबाइल चलाउन थाल्छन् । मोबाइल चलाउँदा मानिस सामान्यतया दुई कुरामा बढी केन्द्रित हुन्छन् । पहिलो– सामाजिक सञ्जालको प्रयोग र दोस्रो कुनै गेम । सबैभन्दा बढी मानिस यही दुई कुरामा आफूलाई व्यस्त बनाइरहेका छन् । सामाजिक सञ्जालको क्षेत्र पनि निकै विशाल र व्यापक भइसकेको छ । यस व्यापकताको एउटा कुना स्वास्थ्य क्षेत्र पनि हो । आजभोलि स्वास्थ्यसित सम्बन्धित निकै धेरै सामग्री सामाजिक सञ्जालमा पाइन थालेको छ । यद्यपि सबै आधिकारिक नै हुन्छ भन्ने होइन, तर मानिसलाई भने धेरै कुराको साधारण जानकारी सामाजिक सञ्जालबाट भइरहेको हुन्छ । तर के भनिन्छ भने सामाजिक सञ्जालमा आएका सबै कुरा आधिकारिक नहुन पनि सक्छ ।
स्वास्थ्यसम्बन्धी कतिपय सचेतनामूलक सामग्रीहरूले मानिसलाई सचेत तुल्याउने तथा जानकारी दिने काम गरिरहेका छन् । तर सामाजिक सञ्जालमा आएको सामग्रीलाई आधिकारिक मानिरहेका छैनन् मानिसहरूले । कुनै काम लाग्ने कुरो आएपछि त्यसको आवश्यकता छ वा त्यसको प्रयोग गर्नुहुन्छ कि हुँदैन भन्नेबारे स्वास्थ्यकर्मीसँग बुझ्ने काम पनि गरिरहेका छन् मानिसहरूले । यसलाई राम्रो पक्ष भन्न सकिन्छ । यद्यपि यस प्रकारको स्वास्थ्य सचेतना भने निकै कम मानिसमा देखिन्छ । स्वास्थ्यबारे खासै धेरै नजान्ने वा आधिकारिक मानिस नभए पनि कतिपय आफूलाई काम लाग्ने जानकारी भेटिंदा सामाजिक सञ्जालमा शेयर गरिदिने प्रवृत्ति बढेको छ । वास्तवमा स्वास्थ्यसम्बन्धी जानकार मानिस, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूले स्वास्थ्य–चेतनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा राख्दा धेरै मानिसले पत्याइरहेको भए पनि आफूले सोही कुरो लागू गर्नुपर्दा चिकित्सकसँग अवश्य सल्लाह गर्ने गरेका छन् । स्वास्थ्य सचेतनाको पक्षमा देखिएको यो निकै राम्रो पक्ष हो ।
स्वास्थ्यसम्बन्धी सचेतना विस्तारको लागि विद्यालयमा स्वास्थ्य विषयको पढाइ नै हुन्छ । स्वास्थ्य विषयले स्वास्थ्य र सरसफाइको महŒव तथा आवश्यकता, स्वस्थ रहने तरीका तथा विभिन्न रोगबारे सामान्य जानकारी दिन्छ । रोगको नाम, लक्षण तथा जोगिने उपायबारे जानकारी दिन्छ । स्वास्थ्यसम्बन्धी सचेतनाको लागि स्वास्थ्य विषयको पठनपाठन निकै महŒवपूर्ण साबित भएको छ । यस विषयले निकै महŒवपूर्ण भूमिका खेलेको छ । स्वास्थ्यका साथै पाठ्यक्रममा समावेश जनसङ्ख्याले नेपालको जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न निकै महŒवपूर्ण भूमिका खेलेको विश्वास गरिएजस्तै स्वास्थ्यसम्बन्धी जनचेतना विस्तारमा विद्यालय तथा विश्वविद्यालयस्तरमा अध्ययन अध्यापन हुने स्वास्थ्य विषयले पनि ठूलो योगदान दिएको कुरा अस्वीकार गर्न सकिन्न ।
स्वास्थ्यको सम्बन्ध शिक्षासँग भएजस्तै अर्थसित पनि हुन्छ । आर्थिक रूपले सम्पन्न वा सक्षम व्यक्तिसँग स्वास्थ्य चेतना हुँदा स्वास्थ्यप्रति ऊ अझ बढी गम्भीर हुन सक्छ तर आर्थिकरूपले विपन्न वा सक्षम हुन नसक्ने मानिसलाई आफू रोगी भएको जानकारी हुँदाहुँदै पनि उपचारमा समस्या हुन सक्छ । यस्तो देखिएको पनि हो । नेपाल आर्थिकरूपले सम्पन्न मुलुक होइन । विपन्न समुदाय तथा गरीबीको रेखामुनि तथा अशिक्षित यहाँका नागरिक स्वास्थ्यबारे उति सचेत पनि छैनन् । जहाँ साक्षरताको कमी छ, र सम्पन्नताको अभाव छ अर्थात् जहाँका मानिस शैक्षिक र आर्थिकरूपले पछाडि परेका छन् त्यहाँ निश्चितरूपले स्वास्थ्य क्षेत्र पनि पछाडि परेको हुनुपर्छ । यसरी स्वास्थ्यको सम्बन्ध शिक्षा र चेतनासँगै आर्थिक पक्ष पनि हुने गर्दछ । मानिसमा स्वास्थ्य सचेतनासँगै सबलताको लागि आर्थिक सक्षमता पनि आवश्यक छ ।
यद्यपि सरकारले स्वास्थ्यको धेरै क्षेत्रमा लगानी गरेको छ । माथि नै चर्चा भइसकेको छ कि शिक्षाको माध्यमले पनि स्वास्थ्यको चेतना सरकारले विद्यालय तथा विश्वविद्यालयमार्फत दिइरहेको छ । यसैगरी कुनै बालबालिका आमाको गर्भमा हुँदादेखि नै उसको राम्रो स्वास्थ्यको लागि राज्यले काम गरिरहेको हुन्छ । विभिन्न खोप दिने, अन्य औषधिहरू उपलब्ध गराउने, चेकजाँच गर्ने अवसर सरकारले उपलब्ध गराएको छ । यसैगरी अस्पतालको सुविधा छ । सुत्केरी गराउने अस्पतालहरू पनि बनेका छन् । बालबालिकाको राम्रो स्वास्थ्यको लागि पोषणभत्ता पनि उपलब्ध गराएको छ । स्वास्थ्यसम्बन्धी अन्य गतिविधिहरू सरकारले निरन्तर चलाइरहेको छ । यसैगरी समय समयमा आउने विभिन्न महामारीको समयमा पनि राज्यले सर्वसाधारणको स्वास्थ्यको क्षेत्रमा निकै ठूलो लगानी गर्ने गरेको छ ।
स्वास्थ्य भन्ने कुरो दैनिकीसित जोडिएको हुन्छ । मानिस हरेक क्षण स्वस्थ हुनुपर्छ । मानिसको स्वास्थ्य कतिखेर बिग्रन्छ भन्ने निश्चित हुँदैन । तर पनि सरकारले गरिरहेको लगानीको प्रतिफल सकारात्मक देखिएको छ । यही कारण देशका नागरिकको औसत आयु बढिरहेको छ । देशमा स्वास्थ्यसम्बन्धी चेतनाको विस्तार भइरहेको छ र अनेक राम्रा अस्पतालहरू पनि खुलिरहेका छन् । स्वास्थ्य संस्थाप्रति विश्वास बढिरहेको छ । यसले गर्दा अहिले यो पनि प्रवृत्ति देखिएको छ कि हुनेखाने र केही सचेत मानिसले बाहिरबाट हेर्दा आफू स्वस्थ रहे पनि आफ्नो स्वास्थ्यको नियमित जाँच गराइरहेका छन् । भविष्यमा कुनै रोग नलागोस् भनेर मानिस सचेत बन्दै गएको देखिएको छ ।
अहिलेको अवस्था यस्तो छ– अस्पताल धेरै खुलेका छन् । धेरै अस्पताल खुल्दा पनि सबैमा भीडभाड देखिने गरेको छ । राम्रा र ठूला भनिएका वा सर्वसाधारणको विश्वास आर्जित गरेका भरपर्दा अस्पतालहरूमा जहिले पनि भीडभाड रहने गरेको छ । यसबाट दुई पक्ष उजागर हुन्छ । पहिलो, मानिस स्वास्थ्यप्रति सचेत भइरहेको छ र दोस्रो, स्वास्थ्यसम्बन्धी समस्या पनि बढिरहेको छ । विश्वसनीय स्वास्थ्य प्रतिष्ठानहरूमा हुने भीडले मानिसमा स्वास्थ्य चेतनाका साथै समस्या पनि बढेको देखाउँछ । उसो त बदलिंदो जीवनशैली र खानपानको कारणले मानिसमा स्वास्थ्यसम्बन्धी समस्या देखा परिरहेको भनाइ छ । दुर्घटनाले पनि स्वास्थ्यमा ठूलो समस्या ल्याइरहेको छ । हरेक दिन दुर्घटनाका कुनै न कुनै खबर आइरहन्छ ।
एकजना मानिस अस्वस्थ हुँदा वा दुर्घटनामा पर्दा परिवारको समय र अर्थ खर्च हुन्छ । साथै सम्पूर्ण परिवार र सबै आफन्त तथा शुभचिन्तक पनि चिन्तित हुन्छन् । एकलाई समस्या हुँदा स्वाभाविक रूपमा अर्को मानिस पनि प्रभावित बन्न पुग्दछ । वर्तमान अवस्थामा स्वास्थ्य र यससँग सम्बन्धित सचेतनामा अझै विस्तार गर्नुपर्ने देखिएको छ । सबैभन्दा ठूलो कुरो सचेतना हो । सचेत भएपछि व्यवहारमा लागू गर्न प्रोत्साहित गर्नुपर्छ तर हाम्रो समाज अझै अशिक्षित रहेकोले धेरै हदसम्म स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमलाई निरन्तर विस्तार गर्नुपरेको छ र सम्बन्धित चेतनालाई व्यवहारमा प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने आवश्कता रहेको छ ।