प्रस, वीरगंज, १८ चैत/
दोस्रो मधेस प्रदेशस्तरीय गिरिजाप्रसाद कोइराला फूटबल गोल्डकप प्रतियोगिताको उपाधि बारा–११ ले जितेको छ ।
बारा–११ का सन्देश चौधरीले प्रतियोगिताको ३८ औं मिनेटमा गरेको गोल फाइनलको निर्णायक गोल भयो ।
उपाधि विजेता टीमलाई मधेस प्रदेशका वन राज्यमन्त्री रहबर अन्सारीले एक लाख ५१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । यसैगरी, उपविजेता वीरगंज युथ एकेडेमीलाई नगद ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदेशसभा सदस्य श्याम पटेलले वितरण गरेका थिए ।
वीरगंजको आदर्शनगर रङ्गशालामा चैत ११ गतेदेखि भएको प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका टीम सहभागी रहेको आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेशन मधेस प्रदेशका अध्यक्ष महम्मद सहाबुद्दीनले बताए ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक बारा–११ का दिलमणि चौधरी, उत्कृष्ट रक्षक बारा–११ का विश्वास गुरुङ, उत्कृष्ट मिडफिल्डर वीरगंज युथका कृष्ण शाक्य, उत्कृष्ट स्ट्राइकर वीरगंज युथ एकेडेमीका सुजन डङ्गोल र उत्कृष्ट खेलाडी वीरगंज युथका कार्लोस पटेल घोषित भए ।
कार्यक्रममा फाउन्डेशनका अध्यक्ष धीरज गुप्ताले स्वागत गरेका थिए ।