-राजेश मिश्र 

पेशाप्रति वफादार शिक्षकलाई सम्मान गर्नुपर्छ । ऊर्जान्वित गर्नुपर्छ । निष्ठावान् शिक्षकको उत्साह प्रवर्धन गर्ने कार्य सम्बन्धित निकायका साथै जनउत्तरदायित्व पनि हो । मापदण्ड पुगेका सेवाकर्मीको पद बढुवा हुुनु हरेक दृष्टिकोणले सत्कार्य हो । यद्यपि सत्ता, शक्ति र भक्तिभंगीमाको भर्‍याङ्ग चढेर बढुवामा पर्नु चाप्लुसबाज प्रवृत्तिको द्योतक हो । बढुवासम्बन्धी कार्यविधिको धज्जी उडाउनु हो ।

सरकारले शिक्षकलाई प्रोत्साहित गर्नका निम्ति बढुवाको अतिरिक्त विविध नीति लिएको हुन्छ । यद्यपि सरकारी नीति तथा कार्यक्रमको कार्यान्वयन पारदर्शी, निष्पक्ष र विवादमुक्त हुन सकेको छैन ।

शिक्षकको बढुवासँग सम्बन्धित कार्यविधिको सक्षिप्त अंश, शिक्षण सेवासँग सम्बन्धित भुक्तभोगीहरूको कथनमा आधारित यस आलेखमा नेपाल कानून पत्रिकामा प्रकाशित नजीर प्रस्तुत छ ।

बढुवासम्बन्धी कार्यविधि, २०७९

बढुवासम्बन्धी कार्यविधिको मर्मअनुरूप अक्षरशः कार्यसम्पादन हुने हो भने अवाञ्छित छनोटको शून्य सम्भावना हुँदैन । बढुवासम्बन्धी कार्यविधिबारे संक्षिप्त अंश यस प्रकार छः-

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका रिक्त दरबन्दीको विवरणको आधारमा ७५ प्रतिशत कार्यसम्पादन मूल्याड्कनको आधारमा र २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक आधारमा वर्गीकरण गरी शिक्षकको श्रेणी वृद्धि गर्ने नियम छ ।
शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादनको मूल्याड्कनका आधारमा हुने बढुवासम्बन्धी कार्यलाई नियमित, वस्तुगत र व्यवस्थित गर्ने उद्देश्यले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ५३ को अधिकार प्रयोग गरी ‘बढुवासम्बन्धी कार्यविधि, २०७९’ अस्तित्वमा छ ।

बढुवाको लागि उम्मेदवार हुन सम्बन्धित श्रेणीको तहमा पाँच शैक्षिकसत्रको नोकरी अवधि पूरा गरेको स्थायी शिक्षक हुनुपर्नेछ । त्यसैगरी, बढुवाको लागि पद निर्धारण र आधार, नोकरीको ज्येष्ठता, शैक्षिक योग्यता, तालीम, कार्यसम्पादन, अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि, विशेष जिम्मेवारी, कार्यसम्पादनको आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिले गरेको मूल्याड्कन, बढुवाको नामावली प्रकाशन, बढुवा सिफारिश उपर परेको उजूरी र पुनरावलोकन, बढुवा मिति र बढुवा नियुक्ति गरी छनोट गर्ने विविध चरणहरू तोकिएका छन् ।

कार्यविधिले शिक्षक बढुवाको लागि सिफारिश गर्ने र प्रमाणित गर्ने अधिकारी स्थानीय तह अनुसार तोकेको छ । शिक्षक बढुवाको सिफारिश प्रधानाध्यापकले गर्ने र शिक्षा अधिकृतले प्रमाणित गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, प्रधानाध्यापक वा सो सरह वा उपल्लो तह र श्रेणीको शिक्षकको सिफारिश शिक्षा अधिकृतले गर्ने र शिक्षा प्रमुखले प्रमाणित गर्ने व्यवस्था गरेको छ । कार्यविधिले कार्यसम्पादन मूल्याड्कन गर्ने सुपरीवेक्षक र पुनरावलोकन समिति रहने व्यवस्था छ । शिक्षकको सुपरीवेक्षक प्रधानाध्यापक हुने र पुनरावलोकन समितिमा प्रधानाध्यापक, स्थानीय तहको शिक्षा प्रमुख र शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रहने व्यवस्था गरेको छ ।

त्यसैगरी, प्रधानाध्यापक वा सरह वा माथिल्लो तह र श्रेणीको शिक्षकको सुपरीवेक्षकमा स्थानीय तहको शिक्षा प्रमुख र पुनरावलोकन समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तहको शिक्षा प्रमुख र शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रहने व्यवस्था छ ।

पथभ्रष्टताको दोष

कतिपय शिक्षकले जीवनभरि सेवा गरे । सेवानिवृत्त भए । तर स्तर वृद्धिको कुरै नगरौं, प्रारम्भिक सूचीमैं कहिल्यै नाम नपरेको गुनासो पोख्ने शिक्षकहरू छन् । त्यसैगरी, हाल कार्यरत शिक्षकहरू पनि थुप्रै छन्, जो बहाली भएकै श्रेणी अर्थात् तेस्रो श्रेणीमा लामो समयदेखि कार्यरत छन् । शिक्षकहरूको भनाइलाई मान्ने हो भने कानूनमा हाकिमको नियतमा विश्वास गर्ने शिक्षकहरूले बढुवाबारे अपवादभन्दा बढी कल्पना गर्न सकिने अवस्था छैन । मापदण्ड पूरा नगरेका शिक्षकको बढुवा हुनु र मापदण्ड पूरा गर्ने शिक्षक बढुवामा नपर्नु प्रणालीको कमजोरीले भूमिका खेलेको शिक्षकहरू आरोप लगाउँछन् । उनीहरू फकाउने शिक्षक बढुवामा पर्ने र पढाउने शिक्षक विफल हुने कुरा नितान्तरूपमा पथभ्रष्टताको दोष रहेको बताउँछन् ।

बढुवाको न्यूनतम मापदण्ड पुगेका धेरै शिक्षकले बढुवा पाइने आसले हरेक वर्ष कार्यसम्पादन मूल्याड्कन फाराम भरेर निकायमा बुझाउने गरेका छन् । तर फाराम भर्नेहरूमध्ये अधिकांश शिक्षक बढुवा नभएकाले निराश हुन थालेका छन् । त्यसको असर कक्षाकोठाको पठनपाठनमा पनि पर्ने गरेको छ । विद्यालयको सेवामा मात्र लाग्ने शिक्षकहरूले कार्यसम्पादन मूल्याड्कनको आधारमा हुने बढुवा पाउन कठिन छ ।

पद बढुवा राजनीतिक पहुँच, पैसा र शक्तिमा केन्द्रित पुरस्कार भइसकेको छ । किनभने अवाञ्छित गतिविधिका भर्‍याङ चढेर टुप्पोसम्म पुग्ने उदाहरणीय शिक्षकहरूको कमी छैन । आफूले पढाएकै विद्यार्थी वा धेरैपछि बहाल भएका कनिष्ठ शिक्षकले उछिन्दै स्तरवृद्धिको टुप्पोसम्म पुग्ने चाप्लुसबाज शिक्षकहरूको कारण शैक्षिक क्षेत्रको दुरवस्था निर्मूल हुन नसकेको भन्ने शिक्षकहरू थुप्रै छन् । नियामक निकायको दुर्नियतले वरिष्ठ, कनिष्ठ र कनिष्ठ वरिष्ठ पारिने अन्यायपूर्ण खेल पीडित शिक्षकहरूभन्दा अन्यलाई थाहा हुने कुरै भएन । यस्तो प्रवृत्तिले न वास्तविक हकदारको हीनताबोध निर्मूल गर्न सकिन्छ, न यस्तो रवैयाले शैक्षिक प्रणाली प्रगतिपरक हुन सक्छ । त्यस कारण पथभ्रष्ट प्रणालीको विस्तार गर्ने श्रेय पूणर्रूपेण उनीहरूमाथि जान्छ, जोे पद र शक्तिको गरिमालाई आर्थिक स्वार्थको परतमुनि विलुप्त पार्ने कार्यमा उद्यत छन् ।

चेन अफ कमान्ड

चेन अफ कमान्ड अन्तर्गत तलदेखि माथिसम्म क्रमशः विद्यालय प्रशासन, स्थानीय तह मातहतका शिक्षा शाखा, जिल्ला शिक्षा तथा समन्वय एकाइ र शिक्षक सेवा आयोगलगायत तहगत निकाय जिम्मेवारीमा विराजमान छन् । यद्यपि मुसाहरू घरभित्रका अन्नपातसम्म पुगेझैं कुनियत प्रवृत्ति चोरबाटोबाट प्रवेश गर्छ ।

प्रलोभनको चोटले घाइते हुनुको सट्टा रमाउन थाल्नु नै गौ प्रवृत्तिलाई शिथिल र सर्प प्रवृत्तिलाई अग्रसरता प्रदान गर्नु हो । स्मरण रहोस्, गङ्गा स्नान गर्न सकिन्छ । कर्तव्यपरायणताको कसम खान सकिन्छ । बाहिरी आवरण शुद्ध र सफा दर्शाउन सकिन्छ । तर वञ्चित पारिएका वास्तविक हकदारसमक्ष शिर ठाडो पार्ने हिम्मत हुँदैन । किनभने आफैंभित्रका स्वच्छ तर कुनियतका चाङमुनि ओत पारिएका न्यून मानवीयताले अनुमति दिंदैन ।

अचम्मको कुरा त के हो भने मुसा प्रवृत्तिलाई धपाउनेभन्दा स्वागत गर्ने पदासीनहरूका कारण भ्रष्टतन्त्र मौलाइरहेको छ । मानौं प्रणालीमा भ्वांग पार्ने मुसा प्रवृत्तिले पहिलो द्वार पार गर्‍यो र दोस्रो वा त्यसपछिका कुनै द्वारमा समातियो भने त्यसलाई पहिलो द्वारबाट भूल भएको हो भन्ने कुरा मान्न सकिन्छ । तर कुनै पनि द्वारमा समातिएन वा सबै द्वार पार गर्न सफल भयो भने तलदेखि माथिसम्मका द्वारपालहरूको के काम छ त ? साँठगाँठको आरोप लगाउन मिल्छ कि मिल्दैन ? वरिष्ठ, योग्य, सक्षम र वास्तविक हकदारलाई पछाडि पार्ने कार्यमा सघाउ पुर्‍याउने कारक तत्वहरू कारबाईको दायरामा किन पर्दैनन् ? कारण के हो ? यावत् प्रश्नहरूको घेरामा तहगत सबै द्वारपालहरू पर्ने नै भए ।

भक्तिभंगीमा

कौसीमा अन्नपात हेर्नेबित्तिकै सो वरिपरि कागले कावँ—कावँ गरेझैं पद र शक्तिको वरिपरि हालीमुहाली गर्ने स्वार्थी पात्रहरूको कमी छैन । त्यस्तो प्रवृत्तिले हरपल पदासीन पात्रको प्रशंसा गर्दछ । उसले आफ्नो पेशाभन्दा बढी हाकिमको हालीमुहालीमा भविष्य देख्छ । त्यस कारण उसले हाकिमको अनैतिकतालाई नैतिकताको चश्माले हेर्छ । भ्याएसम्म हाकिमलाई नैतिकवान् साबित गर्न तल्लीन रहन्छ । हाकिम सम्मुख अरू दंग पर्ने गरी चाप्लुसबाजहरूको भक्तिभंगीमा हेर्नलायक हुन्छ । यसरी आफूप्रति हाकिमलाई ध्यानाकृष्ट गर्ने, हाकिमको प्रशंसालाई व्यक्तिगत सफलताको संवाहक ठान्ने अनैतिक आचरण छताछुल्ल छ ।

मातहतका कर्मचारीको मुखबाट प्रशंसा सुन्न पाएपछि हाकिमको मुहारमा मुस्कान प्रकट नहुने कुरै हुँदैन । यसरी हाकिम र चाप्लुसबाजबीच सम्बन्ध कसिलो हुँदै जान्छ । दलालहरू प्रायःजसो हाकिमको दलाली कार्यमा संलग्न रहन्छन् । यसरी अनैैतिक भए तापनि साँठगाँठ गरी मापदण्ड पूरा गर्ने उम्मेदवारको फाइल गायब गर्ने, कागजपत्रमा केरमेट गर्ने र माथिल्लो निकायलाई प्रभावमा पारी योजनाबद्ध तरीकाले वास्तविक हकदारलाई विफल पारिएका बताउने शिक्षकहरू पनि छन् । यसरी पदासीन र स्वार्थी पात्रको घनिष्टताले वास्तविक हकदार शिकार हुन जान्छन् ।

नियामकको अन्तर्मन दुर्गन्धित भएपछि अनियमिततारूपी फोहोरको डङ्गुर सफा गर्न सम्भव हुँदैन । मानसिक स्वास्थ्यमा विचलनरूपी खिया लागेमा स्तरवृद्धिको लागि हुने छनोट प्रक्रिया त्रुटिपूर्ण मात्र हुँदैन, अपितु वास्तविक हकदार विमुख हुने खराब नजीर स्थापित हुन्छ । कार्यसम्पादन मूल्याड्कनको फाइल बुझ्ने तर विभिन्न बहानामा दर्ता सङ्ख्या उपलब्ध नगराउने, कागजमा केरमेट गर्ने र स्तरवृद्धि पाउनुपर्ने शिक्षकलाई पाखा लगाउने र हालीमुहालीकर्ता शिक्षकलाई काखी च्याप्ने प्रवृत्ति कुनै पनि दृष्टिकोणले गैरकानूनी र अमानवीय हर्कत हो । शिक्षा क्षेत्रको अधोगतिमा शिक्षकहरूको स्तरवृद्धिमा हुने किंकर्तव्यविमूढता पनि एक हो । यसले निष्ठावान् र हकदार शिक्षकलाई मनोवैज्ञानिक असर पार्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here