धर्मेन्द्र चौरसिया, पोखरिया, १२ चैत/

पर्सा जिल्लाका अधिकांश प्राथमिक र निम्न माध्यमिक विद्यालयहरूमा शौचालयको अवस्था अत्यन्तै नाजुक छ ।

सरकार र युनिसेफको सहयोगमा बनेका प्राथमिक र निमाविमा कक्षा कोठाहरू कामचलाउ अवस्थामा भएपनि शौचालयहरू भने पसिनसक्नु अवस्थामा छन् ।

जगरनाथपुर गाउँपालिका–६ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, प्रसौनीसिराको शौचालयमा पस्न नसकिने गरी फोहर छ । युनिसेफले डेढ दशकअघि विद्यालय भवन र शौचालय निर्माण गरेको थियो । विद्यालयमा रहेको शौचालयको ढोकामा स्थानीयले वस्तुहरू बाँध्ने गरेका छन् । यसैगरी, शिक्षक, विद्यार्थीहरूको लागि बनाइएको शौचालय बिहान र बेलुकी स्थानीयहरूले प्रयोग गर्छन् ।

शौचालय प्रयोग गरेपछि पानी हालेर सफा नगर्दा अहिलेको अवस्थामा सो शौचालयमा पस्न गा¥हो छ । कथंकदाचित पसेको खण्डमा शौच गर्न सक्ने अवस्था छैन । विद्यार्थीहरू शौचालयको दुरवस्थाले विद्यालयबाहिर शौच गर्दै आएको बताउँछन् ।

विद्यालयका प्रधानाध्यापक राजेश यादवले पर्खाल नभएको कारण स्थानीयहरू बिहान र बेलुकी शौच गरेर फोहर बनाइदिने र सफाइको कुरा गर्दा झगडा गर्ने गरेको बताए । उनले स्थानीयले शौचालयको गेटमा आफ्ना वस्तु बाँध्ने, चौरमा चराउने र चापाकलको पनि दुरुपयोग गर्दै आएको बताए । प्रअ यादवले यस आवमा विद्यालयको पर्खाल निर्माणका लागि गापाले दश लाख रकम विनियोजन गरेको र पर्खाल बनेपछि धेरै हदसम्म सुधार हुने बताए ।

जगरनाथपुर गापा–४ मा रहेको दुर्गा प्रावि, हरपुरको अवस्था पनि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, प्रसौनीसिरा सरह नै छ । यो प्राविको शौचालयको छाना हुरीले उडाएपछि मर्मत हुन सकेको छैन । शौचालयमा निर्माणकालदेखि ढोका राखिएको थिएन । विद्यार्थीहरूका लागि दुई र शिक्षकहरूका लागि एउटा शौचालय निर्माण भएपनि ढोका नभएको शौचालय अहिले छानाविहीन पनि भएको छ । विद्यार्थीहरू बाहिर शौच गर्दै आएका छन् भने शिक्षकहरूले जेनतेन एउटा टिनलाई ढोकाको रूपमा प्रयोग गरेर काम चलाउँदै आएका छन् ।

विद्यालयकी प्रधानाध्यापिका मालती कुमारीले विद्यालय सञ्चालनमा आर्थिक समस्या भएकोले शौचालयलगायतका अतिरिक्त कार्य हुन नसकेको बताइन् । उनले गापाले यसै आवमा दश लाख रकम विद्यालय सुधारका लागि विनियोजन गरेको र सोही रकमबाट आवश्यक कार्यहरू गरिने बताइन् ।

यो विद्यालय प्राङ्गणमा तत्कालीन जिल्ला विकास समितिले जिल्लालाई खुला दिसामुक्त बनाउने क्रममा सार्वजनिक शौचालय निर्माण थालेको थियो । तर करीब ६० प्रतिशत काम भएपछि शौचालय निर्माणमा आर्थिक अनियमितता भएको विषयले विवाद भयो र अहिलेसम्म शौचालयको काम पूरा हुन सकेको छैन ।

जगरनाथपुरमा रहेका यी दुईवटा प्राविहरू उदाहरण मात्र हुन् । जिल्लाका अधिकांश प्रावि र निमाविमा शौचालयको अवस्था यस्तै छ । शौचालय छ, ढोका र छाना छैन । यसैगरी, सफाइको समस्या सबैमा समान छ । शौचालयमा पानीको व्यवस्था नगरिएकोले चापाकलबाट पानी लगेर सफाइ गर्ने विद्यार्थी सङ्ख्या थोरै भएकाले पनि शौचालय फोहर हुने गरेको छ ।

विद्यार्थी सङ्ख्याको अनुपातमा शौचालय नभएकाले पनि सफाइ प्रभावित भएको पाइएको छ । खासगरी टिफिन समयमा एकैपटक विद्यार्थीहरू बाहिरिने र २५ प्रतिशतभन्दा बढीले एकैपटक शौचालयको प्रयोग गर्नुपर्ने हुँदा चापाकलबाट पानी ल्याएर सफा गर्ने समयाभावले पनि शौचालय फोहर हुने गरेको विद्यार्थीहरू बताउँछन् ।

शौचालयमा पानीको व्यवस्था भएको खण्डमा यो समस्या नहुने बताएका छन् ।

यसको अलावा कतिपय विद्यालयमा अहिलेसम्म महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था र शिक्षकहरूका लागि छुट्टै शौचालयको व्यवस्था गरिएको छैन । जसले गर्दा पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा रहेका शौचालयहरूको अवस्थामा सुधार हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here