प्रस, पोखरिया, ११ चैत/

श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ शनिवारदेखि विधिवत्रूपमा शुरू भएको छ ।

चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिका साथ मनाइने छठको पहिलो दिन बर्तालुले नहाय–खाय (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट चैती छठ पूजाको शुभारम्भ गरेका छन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखो खाने चलन छ ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो ।

शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । तराई–मधेसमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि कात्तिक सरह भने चैती छठ मनाइँदैन ।

छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन उपवास बसेर राति सख्खरमा पकाइएको खीर, पुडी खाइन्छ, जसलाई खरना भनिन्छ । तेस्रो दिन षष्टी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ, जसलाई सँझिया घाट भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ ।

छठ पर्वमा ठेकुवा, केरा, उखु, सुन्तला, कागती, बोडी, सुथनी, मूलालगायतका फलफूल र हरियो तरकारी बर्तालुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् ।

छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले बर्तालुको मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । व्रत प्रभावले छालाजन्य रोग नलाग्ने जनविश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here