ओटावा, ११ चैत/एएफपी

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रूसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् ।

विगत तीन महीनादेखि आफूले रूसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुने पनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए ।

 “चीनले अहिलेसम्म रूसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु,” क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले यहाँ भएको पत्रकार सम्मेलनमा भने । साथै उनले चीन र रूसबीचको सम्बन्धलाई सामान्यरूपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए ।

राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिंदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए । उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अस्ट्रेलिया, भारत, जापान र बेलायत सम्मिलित औकुस (एयुकेयुस) महत्वपूर्ण सुरक्षा साझेदार हुन् भने ।

यसै साता चिनियाँ राष्ट्रपति सी जिनपिङबाट भएको रूस भ्रमण मस्को र बेइजिङबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास हो भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले मस्कोलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताए ।

चीनले रूसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले बेइजिङमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सिर्जना गथ्र्यो । युरोपमा नै अपर्याप्त भएको रूसी इन्धन चीनले खरीद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवं दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो ।

एक पृथक प्रसङ्गमा राष्ट्रपति बाइडेनले आफ्नो देश इरानसँग द्वन्द्वमा फस्न इच्छुक नरहेको तर आफ्ना नागरिक र कर्मचारीको रक्षाका लागि बल प्रयोग गर्न पनि पछि नपर्ने बताएका छन् ।

उत्तरपूर्वी सिरियाको हस्काह समीप गठबन्धन सेनाको शिविरमा बिहीवार भएको ड्रोन आक्रमणमा एकजना अमेरिकी ठेकेदारको मृत्यु हुनाका साथै अमेरिकी सेनाका पाँचजना सदस्य घाइते भएपछि अमेरिकाले त्यहाँ तत्काल हवाई हमला गरेको थियो । ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठजना लडाकू मारिएका थिए ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गाड्र्स कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताएका थिए ।

सिरियामा सक्रिय इरानी समूहले उक्त आक्रमण गरिएको ठानिएको छ किनकि ड्रोन इरानमा निर्माण गरिएको अमेरिकी गुप्तचर निकायले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here