नरेश यादव, पर्सागढी, १० चैत/
डिभिजन वन कार्यालय, पर्साका सहायक वन अधिकृत रामपुकार यादव निलम्बनमा परेका छन् ।
सेवाग्राहीबाट घूस लिएको प्रमाण फेला परेपछि उद्योग, पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई निलम्बन गरेको हो ।
हिरासतमा रहेको एकजना अभियुक्तका मानिससँग आर्थिक लेनदेन गरेको प्रमाण भेटिएपछि सहायक वन अधिकृत यादवलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अञ्जना कायस्थले बताइन् ।
सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसूर गरेको पाइएकोले सो विषयको छानबीन कार्यमा सबुत मेटाउन, गायब पार्न सक्ने सम्भावना रहेकाले निजलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
बाराको परवानीपुर गापा–१ स्थित मुसहरी निवासी जयनारायण साहविरुद्ध अवैधरूपमा वन पैदावार ओसारपोसार मुद्दामा गत फागुन १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरेका र यही चैत ६ गते साह पक्राउ परेका थिए ।
जयनारायण साहको नाममा रहेको म्याजिक गाडीबाट काठ ओसारपोसार गरिएको र सोही कसूरमा उनलाई पक्राउ गरिएको थियो । तर पक्राउ परेका जयनारायणले सो गाडी आफूले भाडामा दिएको बयान दिएपछि उनको सो मुद्दा मिलाइदिने आश्वासनमा सहायक वन अधिकृत यादवले रु चार लाख घूस लिएका थिए । उनले सो रकम लिएका प्रमाणहरू मन्त्रालयलाई प्राप्त भएपछि निलम्बन गरिएको स्रोतले जनाएको छ । पटकपटक गरी चार लाख रकम लिएको र थप रकम माग गर्न नछाडेका कारण उनीविरुद्ध घूस लेनदेनको प्रमाण तयार गरिएको र सो प्रमाण मन्त्रालयमा बुझाइएको थियो ।
सहायक वन अधिकृत यादवविरुद्धको प्रमाणका आधारमा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीको निर्देशनमा निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पदीय जिम्मेवारी वहन नगरेको, आर्थिक प्रलोभनमा परेको प्रमाण भेटिएपछि निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको राज्यमन्त्री अन्सारीले बताए ।