दिनेश मिश्र, वीरगंज, १० चैत/
वीरगंज महानगरपालिका–२१ परवानीपुर निवासी जयप्रकाश राउतले १० वर्षीय छोरा आकाश कुमारको उपचारको लागि सहयोगीहरूसँग अपील गरेका छन् ।
चार महीनाअघि आकाश खेल्ने क्रममा चिप्लिएर लडेका थिए । आर्थिक अवस्था कमजोर भएकोले उनको परिवारले उपचार गराउन नसकेको र अहिले उनको खुट्टा बाङ्गो भएर हिंड्न सकेका छैनन् ।
तत्कालै प्लास्टर गरिएको भए खुट्टा ठीक हुने थियो तर अहिले चार महीना भएको र समयमा उपचार हुन नसकेकोले उनले एउटा खुट्टाबाट राम्ररी हिंड्डुल गर्न सकेका छैनन् । आकाशका बुबा जयप्रकाश साइकलमा चिनियाँ मिठाइ बिक्री गरेर घर चलाउँछन् ।
छोराको उपचार गर्न आफ्नो सामथ्र्यले नभ्याएको भन्दै उनले छोराको उपचार गराइदिन सहयोगीहरूसँग अपील गरेका हुन् । उनले यो अवधिमा केही व्यक्तिहरूले गरेको सहयोग चेकजाँचमा खर्च भएको र शल्यक्रियासहितको उपचार विधिमा रु डेढ लाख खर्च चिकित्सकले बताएको भन्दै सो उपचार गराइदिन अपील गरेका छन् ।