प्रस, वीरगंज, १० चैत/
सूर्य नेपाल प्रालि, सिमराको आयोजना र चेली सहकारी संस्था लिमिटेड वीरगंजको सहकार्यमा जीतपुरसिमरा उपमहानगरपालिका–१, २, ३ र ४ का विपन्न महिलाहरूलाई २२ दिने उलफेल्ट तालीम शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जीतपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्माले सिकेको सीपलाई व्यवहारमा उतारेर रोजगार गर्न सहभागी महिलाहरूलाई सुझाए । उनले सूर्य नेपालले शिक्षा, स्वास्थ्य, खेलकूद, सीपमूलक तालीमलगायत सामाजिक उत्थानका विषयमा गर्दै आएको सहयोगको प्रशंसा गरे ।
कार्यक्रममा सूर्य नेपाल प्रालिका प्रबन्धक/व्यवस्थापक सुरेशकाजी श्रेष्ठले सूर्य नेपालले सिमराको मुहार परिवर्तनमा भूमिका खेल्दै आएको र आगामी दिनमा पनि भूमिका खेल्ने बताए । उनले विपन्न महिलाहरूलाई लक्षित गरेर सीपमूलक तालीम दिंदै आएको र अहिलेसम्मका तालीमहरू प्रभावकारी भएको दाबी गरे ।
यसअघि सूर्य नेपालको आयोजनामा डककुशन र अचार बनाउने तालीम लिएर रोजगार गर्दै आएका सीता कुम्हाल र शकुन्तला कुम्हालले तालीममा सिकेको सीप अनुसारको रोजगार गरेर जीवकोपार्जन गर्दै आएको बताइन् । कार्यक्रममा सञ्जय साह, चेली सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरेले मन्तव्य व्यक्त गरेका थिए ।
चारवटा वडाका २० जना विपन्न महिलालाई गत फागुन १२ गतेदेखि प्रशिक्षकद्वय सविता भट्टराई र सञ्जु रानाले तालीम दिएका थिए ।