प्रस, निजगढ, ९ चैत/
कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष नन्दकिशोर चौधरी १३ दिनदेखि डिभिजन वन कार्यालय, सिमरा, बाराको हिरासतमा छन् । बारा जिल्ला अदालतले चौथोपटक बुधवार पनि पाँच दिनका लागि म्याद थप गरेपछि उनी लगातार वन कार्यालयको थुनुवा कोठामा बसेका छन् ।
वडाध्यक्ष चौधरीलाई सोही वडाको रामवनस्थित राष्ट्रिय वन क्षेत्रको साढे पाँच हेक्टर वन क्षेत्रमा तारबार गरी रोपिएका टिक, मसलालगायत अन्य प्रजातिका करीब नौ हजार बोटबिरुवा, लाथ्रा काटी, तारबार भाँची क्षति पुर्याउने कार्यमा संलग्नताको आरोपमा घटनास्थलबाट सशस्त्र वनरक्षकको टोलीले पक्राउ गरेको थियो । उनलाई फागुन २७ गते शनिवार बिहान पक्राउ गरिएको हो ।
उक्त वन क्षेत्रको स्थलगत निरीक्षण गर्न बाराका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला वन सुरक्षा समन्वय समितिका अध्यक्ष नवराज सापकोटा आएको जानकारी पाएपछि वडाध्यक्ष चौधरी उपस्थित हुन आलटाल गरेका थिए । स्थानीयलाई उक्साइ उक्त वृक्षारोपण क्षेत्रमा हानिनोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।
वडाध्यक्ष चौधरीले सो वन क्षेत्रका बोटबिरुवा, लाथ्रा, तारबारमा हानिनोक्सानी पुर्याउने कार्यमा आफू संलग्न नभएको र कोही कसैलाई नउक्साएको बताउनु गरेका छन् ।
वृक्षारोपण गरिएको उक्त जमीन कब्जा गर्ने मनसायले हानिनोक्सानी पुर्याएको हुन सक्ने वन कर्मचारीहरूको आशङ्का छ । वडा कार्यालयबाट नापनक्शा बनाइ वन क्षेत्रको जमीन अतिक्रमण गरी खेतीपाती, घरटहरा बनाइएको बताइएको छ । डिभिजनल वन अधिकृत विनोद सिंहले वन क्षेत्रको जमीन नापनक्शा गर्न कसले आदेश दियो भन्दै कडाइ गर्दा वडाध्यक्ष चौधरीले दुव्र्यवहार गरेपछि प्रमुख सिंहले चौधरी तुरुन्तै पक्राउ गर्न आदेश दिएका थिए ।
वडाध्यक्ष चौधरी जनप्रतिनिधि नहुँदा पनि वन क्षेत्रको अतिक्रमित जमीन फिर्ता गराउने प्रयास गर्दा उनले अवरोध पुर्याउने गरेको वन कर्मचारीहरू बताउँछन् ।
“हिजो बुधवार चौथोपटक थुनामा राख्न पाँच दिनको लागि अदालतबाट म्याद थपिएको छ,” प्रवक्ता एवं सहायक वन अधिकृत जवाहरलालप्रसाद कुर्मीले बताए ।
वडाध्यक्ष चौधरी पक्राउ परेकै दिन जिल्ला प्रशासन कार्यालय, बाराले उक्त क्षेत्रको संरक्षण गरी पुनः हरियाली बनाउने कार्य अघि बढाउन र घटनामा संलग्न जो कोहीलाई यथाशीघ्र पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन डिभिजन वन कार्यालयलाई निर्देशन दिएको थियो । वन अतिक्रमित क्षेत्र, घरटहराहरू हटाइ वृक्षारोपण गर्न र आवश्यकता अनुसार सो क्षेत्रमा जनपद र सशस्त्र प्रहरीको विशेष निगरानी राखी संयुक्त गस्ती गर्ने निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालय, बाराले जनाएको छ ।