प्रस, वीरगंज, ८ चैत/

नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनी सुपरमार्केट पर्सि चैत ९ गते बिहीवारदेखि मधेस प्रदेशको वीरगंजमा सञ्चालनमा आउँदैछ ।

भाटभटेनीको २४औं स्टोरको रूपमा मधेस प्रदेशको वीरगंज शहरमा सुपरमार्केट शुभारम्भ हुन गइरहेको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए ।

वीरगंज महानगर–१४ गण्डक, बहुअरीमा दुई बिघा १० कट्ठा क्षेत्रफलमा रहेको यस सुपरमार्केटमा दुई लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अन्डरग्राउन्ड बेसमेन्ट पार्र्किङसहित सात तलाको भवन रहेको उनले बताए ।

वीरगंजमा सञ्चालनमा आउन लागेको भाटभटेनी सुपरमार्केट अहिलेसम्म देशभरका २३ स्थानमा रहेका सुपरमार्केटको तुलनामा भवन तथा सपिङ स्पेसको हिसाबले सबैभन्दा ठूलो रहेको भाटभटेनी सुपरमार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए ।

नेपालमैं अन्तर्राष्ट्रियस्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरूमा भाटभटेनीको सेवा विस्तार गरिएको सुपरमार्केटका अध्यक्ष एवं प्रबन्ध निर्देशक गुरुङले बताए ।

वीरगंज स्टोरको दुई अर्ब ५० करोडभन्दा बढी लागत रहेको र अढाई सयजना स्थानीयले रोजगार पाउने गुरुङले जानकारी गराए । उनले स्वदेशमैं सहज र सुलभ मूल्यमा अन्तर्राष्ट्रियस्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवालाई रोजगार दिने अभियान अन्तर्गतको भएको दाबी गरे ।

स्टोरमा ग्रोसरी, भाँडाकुँडा, खेलौना, लत्ताकपडा, जुत्ता, टिभी, फ्रीज, वाशिङ मेशिनलगायत दैनिक उपभोग्यका सबै सामान एकै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराइने व्यवस्थापक भट्टराईले बताए । फूडकोर्टसहितको पूर्ण वातानुकूलित एवं आकर्षक सजावटसहित एकै स्थानमा अन्तर्राष्ट्रियस्तरका ब्रान्डेड सामानहरूलगायतका सुविधाहरू भएकाले उपभोक्ताको समयको बचत हुने उनले बताए ।

स्टोर शुभारम्भको अवसरमा सो दिन ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्री होम डेलिभरी सुविधा उपलब्ध गराइने स्टोर व्यवस्थापक भट्टराईले बताए ।

वीरगंजका खुद्रा व्यापारी चिन्तित

भाटभटेनी सञ्चालनमा आउन थालेपछि वीरगंजका खुद्रा व्यापारीहरू चिन्तित भएका छन् । बजारका विभिन्न स्थानमा पाइने वस्तुहरू एकै थलोमा बजार मूुल्यमा पाइने भएकाले व्यापार चौपट हुने खुद्रा व्यापारीहरूमा भय पसेको छ ।

लामो समयदेखि वीरगंजको व्यापार छिमेकी भारतको रक्सौल बजारले प्रभावित हुँदै आएको थियो । दुई दशकअघिसम्म विदेशी सामान खरीदका लागि भारतीय उपभोक्ताहरू वीरगंज आउने गरेकामा अहिले भारतमैं उपलब्ध भएपछि यहाँको व्यापार प्रभावित भएको थियो । वीरगंजको तुलनामा रक्सौलमा खाद्यान्न, इलेक्ट्रिक सामान, लत्ताकपडाहरू सस्तो हुने भएकाले वीरगंजसमेत देशका विभिन्न स्थानबाट आउनेहरूको लागि रक्सौल बजार आकर्षणको केन्द्र बन्दै आएको थियो । अहिले वीरगंजमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आउने भनेपछि आफूहरूको व्यापार नराम्ररी प्रभावित हुने भनेर खुद्रा व्यापारीहरू चिन्तित भएका हुन् ।

आमउपभोक्तामा खुशी

भाटभटेनी सुपरमार्केट सञ्चालनमा आउने समाचारसँगै वीरगंज आसपासका जिल्लाका मानिसहरूमा भने खुशी छाएको छ । महानगरमा एकै थलोमा सबैथरीका सामान पाउने सुपरमार्केट अहिलेसम्म सञ्चालनमा नआएको र अन्य शहरमा यो सुपरमार्केट सञ्चालनमा आएको सन्दर्भमा पहिलोचोटि खुल्न गइरहेको सुपरमार्केटप्रति आमउपभोक्ताको आकर्षण बढेको हो ।

खासगरी छिमकी मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा यसअघि सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटमा वीरगंजका उपभोक्ताहरू जाने गरेका र त्यसको आकर्षणबाट प्रभावित उपभोक्ताहरूमा झनै खुशी छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here