मानवताविरुद्ध हुने सबै प्रकारका जातीय तथा रङ्गभेदलाई अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गर्यो । नेपाल सन् १९७१ देखि त्यसको पक्ष राष्ट्र हो । सन् १९६६ देखि हरेक वर्ष मार्च २१ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको छ । यस क्रममा मङ्गलवार ५८औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस मनाइयो । जातीय विभेद तथा रङ्गभेद नेपालको मात्रै समस्या होइन । जुन मुलुकमा जातिप्रथा छ, त्यहाँ विभेद छ । जातीय विभेद भारतीय समुदायको पहिचान हो भनेर मजाक उडाउनेहरू पनि धेरै छन् । भारतवर्षमा नै रहेको कारण नेपाली समाजलाई पनि यसले जकडेको भन्ने गरिन्छ । तर वास्तविकता अलि फरक छ । भारतबाहेकका समाज पनि जातिप्रथाले जकेडिएका थिए । जिससको जन्मताका इजरायल तथा प्यालेस्टाइनमा जातिप्रथा थियो, त्यहाँ बिहेबारी गर्दा कुल खानदानको कुराले सबैभन्दा बढी महत्व राख्ने गथ्र्यो । छुवाछूत त्यस्तै थियो र पानीका मूलहरूसमेत हरेक खानदानका अलगअलग हुन्थ्यो भन्ने कुरा इतिहासमा उल्लेख छ । मङ्गोलहरूले चीनमा कब्जा जमाउनुपूर्व चीनमा हान, मन्चु, उइगुर, हई, झुआङ आदि चिनियाँ मूलका जातिहरू थिए । उनीहरूबीचमा पनि जातीय विभेद पाइएका छन् ।

अमेरिका र अफ्रिकाको कुरा गर्ने हो भने रङ्गभेद तथा जातिप्रथाको विरुद्ध नेल्सन मन्डेलाको योगदानलाई विश्वले कदर गरेको छ । फेरि पनि अमेरिकामा काला जातिमाथि बेलाबखत हुने हिंसा, यातना तथा दुव्र्यवहारका घटनाहरू बाहिर आउने गरेका छन् । क्यालिफोर्निया विश्वविद्यालयले डेभिस जातीय विभेदको सामाजिक व्यवस्थालाई जातीय भेदभाव ठहर गर्दै सोविरुद्ध नीति तय गर्ने अमेरिकाकै पहिलो सार्वजनिक संस्था बन्न पुगेको छ । नोभेम्बर २०१९ मा ब्रान्डिस विश्वविद्यालय, मासाचुसेट्सले जातीय विभेदलाई प्रतिबन्ध लगाएको थियो । त्यसैगरी, गत अक्टुबरमा निजी क्षेत्रबाट सञ्चालित मेन्स कल्बी कलेजले जातका आधारमा हुने विभेदमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकामा पनि जातीय विभेद रहेछ भन्ने कुरा यसले पुष्टि गर्छ ।

मानव समाजको विकासक्रमलाई हेर्दा पाषण युग तथा  आदिम साम्यवादी अवस्थासम्म जातिपाती थिएन । कबिला हुँदै राज्य व्यवस्था शुरू भएपछि जातजातिको बीजारोपण भएको हो । विगतमा सिङ्गो नेपाल थिएन, काठमाडौं उपत्यकामा जातिप्रथा प्रवेश गरेको करीब दुई हजार वर्ष भएको मानिन्छ । यसलाई कुनै शासकले झन कट्टरता अपनाए भने कतिपयले सुधार गर्दै लचकता अपनाए । शासकले सत्ता कब्जा गर्न जनतालाई फुटाउनुपर्छ । जनता फुटाउने सबैभन्दा सहज उपाय जातिप्रथा हो । राज्यसत्ता मात्रै सत्ता होइन, समाजमा धेरै किसिमका सत्ता छन् । आफू शक्तिशाली भइरहन उनीहरूले जातजातिको नाममा लडाइँ रहे । जुन समाजले यो कुरा छिट्टो बुझ्यो, उसले विभेद न्यूनीकरणको पाइला छिटो चाल्यो । यसको निम्ति शिक्षा र शासन व्यवस्थाको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रो मुलुकमा पनि धेरै प्रयास भएका छन् । बुबा पुस्ता र छोरा पुस्ताको बीचमा जातजातिबारे सोचाइ आकाश–जमीनको फरक परिसकेको छ । राज्यले निर्माण गर्ने नियम कानूनको प्रगति पनि राम्रो छ । नकारात्मक कुरालाई मात्रै उछाल्ने भन्दा पनि भएका सकारात्मक पक्षहरूलाई उजागर एवं प्रोत्साहित र पालना गर्दै अगाडि बढ्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here