प्रस, निजगढ, ७ चैत/

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढ–पथलैया सडकखण्डको दुधौरा पुलमा करीब दुई महीनादेखि पुनर्निर्माण कार्य शुरू भएपनि निरन्तरता पाउन सकेको छैन । पुलको निर्माण कार्य सम्पन्न नहुन्जेलसम्म ठेकेदार कम्पनीले तत्कालीन वैकल्पिक सडक ड्राइभर्सन मर्मतसम्भार नगर्दा यो सडकखण्ड भएर गुड्ने सवारीसाधन, यात्रीहरू र बिरामीहरूलाई निकै समस्या हुने गरेको छ ।

ठेकेदार कम्पनी महादेव/खिम्ती/हिराचन जेभी काठमाडौंका प्रतिनिधि इन्जिनीयर अजय झाले ड्राइभर्सन मर्मतको जिम्मेवारी आफ्नो नभएको बताएका छन् । सडक विभागले ड्राइभर्सन निर्माण गरेकोले ठेकेदार कम्पनीले ड्राइभर्सन मर्मतसम्भार गर्नुनपर्ने इन्जिनीयर झाको भनाइ छ ।

तर दुधौरा पुलको निर्माण कार्यको सुपरभिजन गर्ने सडक विभाग पुल सेक्टर काठमाडौंका इन्जिनीयर निरञ्जन थापाले भने पुल निर्माण सम्पन्न नभएसम्म ड्राइभर्सनको समयसमयमा मर्मतसम्भार गर्ने जिम्मेवारी ठेकेदार पक्षको हुने बताएका छन् ।

दुधौरा पुलको ड्राइभर्सनमा खाल्डाखुल्डी, धूलो उड्ने बढेको छ । मर्मतसम्भार नभएकोले यात्रा असहज हुने गरेको, एम्बुलेन्सका बिरामीहरूलाई झनै समस्या हुने गरेको, दुर्घटना हुन सक्ने सम्भावना अधिक भएको गुनासाहरू ट्राफिक, जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरे पनि समाधान हुन सकेको छैन । ती कार्यालयले ठेकेदार पक्ष र सडक डिभिजन कार्यालयसँग छलफल गर्दै आएका छन् तर समस्याको समाधान हुन सकेको छैन ।

बाराका प्रजिअ नवराज सापकोटाले ड्राइभर्सनमा भएका खाल्डाखुल्डी पुर्ने, सम्याउने, धूलो नउड्ने कार्यका लागि आफूहरू प्रयासरत रहेको बताएका छन् ।

पसाहा, बालगङ्गामध्ये दुधौरा पुलको ड्राइभर्सनको समस्या विकराल रहेको ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका प्रमुख एवं ट्राफिक प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई बताउँछन् । उनले पनि मर्मतसम्भारका लागि आफूहरू प्रयासरत रहेको बताए ।

दुईपटक दुधौरा पुलका पिलर भासिएपछि एशियन हाइवेको रूपमा रहेको सडक विस्तारसँगै पुललाई पूर्णरूपमा निस्तेज गरी नयाँ पुलको काम थालिएको झन्डै साढे तीन वर्ष नाघिसकेको छ ।

सडक सञ्जालको हिसाबले मुलुककै जीवनरेखाको रूपमा रहेको एकमात्र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको अलपत्र बेवारिसे दुधौरा पुलको बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल, महानिर्देशक अर्जुनजङ्ग थापासँग भेट गरी अविलम्ब पुल निर्माण शुरू गर्न बारा क्षेत्र नं ४ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले ध्यानाकर्षण गराएका थिए । उनको प्रयासमा कामले पुनः गति लिए पनि आशाप्रदरूपमा काम हुन भने सकेको छैन ।

यो पुलको काम वर्षायामबाहेक सहज मौसममा पनि लामो समयसम्म बेवारिसे बन्दै आएको छ । जसले गर्दा सानाठूला सवारीसाधनलगायत एम्बुलेन्स सेवा पनि प्रभावित हुने गरेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका एम्बुलेन्स चालक सञ्जय सिंह बताउँछन् । उनले लगभग दुई सय मिटर ड्राइभर्सन पार गर्न दश मिनेटभन्दा बढी समय लाग्ने गरेको बताए । अर्का निजगढका एम्बुलेन्स चालक वीरबहादुर लोप्चनले दुर्घटनाका घाइते, प्रसूति पीडालगायतका गम्भीर प्रकृतिका बिरामीलाई सडक र ड्राइभर्सन खराब हुँदा समयमा अस्पताल पुर्याउन ढिला हुने गरेको बताए ।

महीनौंसम्म ड्राइभर्सनका ठूला खाडलहरूको मर्मतसम्भार नहुँदा साना सवारीसाधनहरू मोटरसाइकल, जीप, कार खाल्डोमा परेर दुर्घटना हुने घटना दर्जनौं रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले जनाएको छ । खाल्डाखुल्डीका कारण अन्य सवारीसाधनहरू पनि दुर्घटनाका शिकार भइरहेको सो कार्यालयले जनाएको छ ।

दुधौरा पुल ठेक्का सकार गरेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सो समयसीमा सकिसकेको छ । यो अवधिमा ३० देखि ३५ प्रतिशत मात्र काम भएको छ ।

महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले दुई स्पानको ९० मिटर लम्बाइको पुल निर्माण सम्पन्न गर्नका लागि १७ करोड २२ लाखमा ठेक्का सकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ । साबिक पुलको पिलर दुईपटक भासिएपछि र सडकको चौडाइ पनि विस्तार गर्ने कार्य अघि बढिरहेकाले पुरानो पुललाई पूर्णरूपमा भत्काइ नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको पुल विभाग महाशाखाले जनाएको छ । महेन्द्र राजमार्ग निर्माणका बेला तत्कालीन सोभियत सङ्घले चार दशक पहिले निर्माण गरिदिएको दुई लेनको पुल अब चार लेनको हुने महाशाखाले जनाएको छ ।

कोभिड–१९ का कारण निर्माण सामग्री र कामदारको अभावले तोकिएको समयमा काम सम्पन्न गर्न नसकेर ठेकेदार कम्पनीले पटकपटक म्याद थप गराउँदै आएको छ ।

समयमा कार्य नसक्दा तत्कालीन अवस्थाभन्दा सिमेन्टको मूल्य अहिले सस्तो भएपनि फलामे डन्डी, ज्याला भने महँगो भएको छ ।

अहिले पुल महाशाखा विभागले २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरेको छ तर कामले गति लिन नसकेको कारण सो अवधिमा पनि कार्य सम्पन्न हुने अवस्था देखिंदैन । वर्षामा सवारीसाधन आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले दुधौरा खोलाको निर्माणाधीन पुलको दक्षिणतर्फ बेलिब्रिज सञ्चालनमा ल्याउने गरिएको छ ।

यस राजमार्गको निजगढ–पथलैया सडकखण्डमा मर्मतसम्भारको अभावमा जोखिममा रहेका निजगढस्थित बकैया, पसाहा र बालगङ्गा पुललाई तत्कालै सञ्चालनमा ल्याउने सरकारको योजना अनुसार २०७८/०९/१४ गते ठेक्का सम्झौता भएको थियो ।

गत पुस मसान्तभित्र सो पुलको काम सम्पन्न गर्नुपर्ने समयसीमा रहे पनि पसाहा पुल र बालगङ्गा पुलको काम त अहिलेसम्म शुरू पनि गरिएको छैन ।

न्यू टेक्निकल वाटर प्रुफिङ एन्ड इन्फ्रा रिह्याविटेशन कम्पनी, काठमाडौंले एक करोड ८१ लाखमा तीनवटा पुलको मर्मतसम्भार गर्ने ठेक्का सकार गरेको सडक डिभिजन कार्यालय, हेटौंडाले जनाएको छ ।

विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले म्याद थप गर्न आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय, हेटौंडाका प्रमुख राजेश यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here