केही दिन पहिले मधेस प्रदेशको राजधानी जनकपुरमा मिटरब्याजी र लघुवित्तविरुद्ध संयुक्त जुलुस प्रदर्शन भयो । यसको मतलब मिटरब्याजी र लघुवित्त वित्तीय संस्था एकै किसिमका अपराधी हुन् भन्ने ठम्याइ प्रदर्शनकारीहरूको थियो । सोभन्दा केही पहिले जाजरकोटमा लघुवित्तका कर्मचारीलाई कालोमोसो दली दुव्र्यवहार गर्नुका साथै किस्ता उठाइएको रकमसमेत लुटियो । सङ्घीय राजधानी काठमाडौंमा पनि लघुवित्तविरुद्ध चर्को आवाज छ । “लघुवित्तले ऋणीलाई शोषण गरिरहेको छ, लघुवित्तको चङ्गुलमा परेपछि ऋणीको उठीबास लाग्छ, विनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको”लगायतका आरोप लघुवित्तमाथि छ । लघुवित्तले चर्को ब्याज लिइरहेको गुनासो सडकदेखि सदनसम्म उठिसक्यो । लघुवित्तको ऋण नतिर्न आह्वान गर्दै देशव्यापी मोर्चा बनेको छ ।

लघुवित्तबाट ऋणीको बिचल्ली भएको उदाहरण गुल्मीको धुर्कोट गाउँपालिका–६ की बिजुला परियार बनेकी छन् । उनी चारवटा लघुवित्तमा आबद्ध छिन् । एउटा वित्तीय संंस्थाबाट लिएको ऋण तिर्र्न अर्कोबाट ऋण काढने गर्दागर्दै चारवटामा पुगेकी हुन् । शुरूमा थोरै ऋण लिएर घर खर्च शुरू गरेकी एकल महिला बिजुलाको थाप्लोमा अहिले १३ लाख रुपैयाँ ऋण पुगेको छ । लघुवित्तबाट डुबेका भनिएका अधिकांश ऋणीको अवस्था एकै हो । यसलाई अर्को बाटोबाट हेर्दा बैंकिङ एन्ड इन्स्योरेन्स म्यानेजमेन्टले मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा हालै गरेको अध्ययन अनुसार ९२ प्रतिशत सेवाग्राहीले लघुवित्तबाट कर्जा लिई उद्यम गरेर आर्थिक जीवनमा प्रगति गरेको देखिएका छन् । ४६९ जना सेवाग्राही प्रत्यक्षरूपमा सम्मिलित अध्ययन प्रतिवेदनमा कर्जा लिएर अत्यन्त राम्रो हुनेको सङ्ख्या एक प्रतिशत, धेरै राम्रो हुने ३९ प्रतिशत, राम्रो ५२ प्रतिशत र बिग्रिएका ऋणी आठ प्रतिशत पाइएका छन् । जतिसुकै ऋण लिए पनि दक्षता भएका ऋणीले अग्रिमरूपमा बजार अध्ययन गरेर थालिएको  व्यवसाय सफल छ । उसले थप ऋण लिने र तिर्ने प्रक्रिया चलिरहेकै छ । थोरै ऋण लिए पनि व्यावसायिक दक्षता नभएका, बजार अध्ययनविनाका व्यवसाय असफल देखिए । ऋण काढेर घरखर्च गर्ने, अर्काको लहलहैमा लगानी गर्नेहरू बिग्रिए । उनीहरू ऋणको भासमा डुब्दै गएका छन् ।

लघुवित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी कारोबार गरेका हुन् । उनीहरूमाथि नेराबैंकको निगरानी र नियन्त्रण छ । १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन । विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाइ कर्जा प्रवाह गरिन्छ । उनीहरूबाट नियमितरूपमा बचत सङ्कलन गर्ने, अनि विनाजमानी, सामूहिक जमानी र धितो बन्धकीमा समेत ऋण प्रवाह गरिन्छ । बैंकसम्म पहुँच हुन नसकेका, जायजेथा नभएका सर्वसाधारणको लघुवित्तमा पहुँच छ । लघुवित्तको केही कमजोरी नभएका होइनन्, नियमितरूपमा उठाइने बचतमा ब्याजदर अति न्यून छ । व्यावसायिक योजना र वित्तीय साक्षरताविना ऋण लगानी गर्ने, ऋणीको विगत नहेर्ने र एकै व्यक्तिलाई धेरैवटा वित्तीय संस्थाले ऋण दिनु लघुवित्तको कमजोरी हो । यति हुँदैमा सम्बन्धित बचत समूह र ऋणीको कुनै दायित्व छैन भन्ने होइन । कमजोरीलाई अपराधको रूपमा लिनु र मौका यही हो भनेर पचाउने बहाना खोज्नुहुँदैन । ऋण लिएपछि मास्ने कि उकास्ने, भेउ आफूमा पनि हुुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here