नितेश कर्ण, वीरगंज, ६ चैत/

चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा पराजित भएको नेविसङ्घ समूहले क्याम्पसप्रमुखको कक्षमा तालाबन्दी गरेको छ ।

चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम राति साढे नौ बजे सार्वजनिक भएपछि नेविसङ्घले राति ११ बजे तालाबन्दी गरेको स्ववियुको सबै प्यानलमा जितेको अनेरास्ववियुकी एकाइ अध्यक्ष मालती बस्नेतले विज्ञप्ति जारी गरी जानकारी गराएकी छन् । नेविसङ्घ एकाइ समितिले भने विज्ञप्ति जारी गरी क्याम्पसप्रमुखले मौन अवधिमा अखिलको पक्षमा मत मागेको र होस्टेलमा रहेका विद्यार्थीहरूलाई धम्क्याएको आरोप लगाएको छ ।

हिजो राति सम्पन्न मतगणनामा प्रत्यक्ष र समानुपातिक दुवैमा अखिलले ९० ल्याएर नेविसङ्घभन्दा २७ मतान्तरले जितेको थियो । नेविसङ्घले ६३ मत पाएर पराजित भएपछि मतपरिणाम सार्वजनिक भएको डेढ घण्टापछि क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेको थियो ।

यस क्याम्पसमा यसअघिको चुनावमा मात्र नेविसङ्घ प्यानलले जितेको थियो भने त्यसअघि स्थापनाकालदेखि अखिलले स्ववियुको चुनाव जित्दै आएको थियो । निर्वाचन अधिकृत रोमिना श्रेष्ठले नेविसङ्घले क्याम्पसप्रमुखले आचारसंहिताविपरीत कार्य गरेको आरोपसहित पत्र बुझाएको र सोबारेमा छलफल हुने बताइन् । उनले निर्वाचनका सबै प्रक्रिया पूरा भएर निर्वाचन परिणाम सार्वजनिक भएपछि नेविसङ्घको तर्फबाट यस प्रकारको आरोप लागेको र तालाबन्दी गरेको बताइन् ।

प्रत्यक्ष र समानुपातिक दुवैमा अखिलको जीत भएको घोषणापछि यस प्रकारको आरोप लगाइए पनि निर्वाचन समितिको बैठकमा छलफलको विषय हुने उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here