प्रस, सेढवा, ६ चैत/
पर्साका अधिकांश पालिकामा शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षा शुरू भएको छ ।
जीराभवानी, पटेर्वासुगौली, छिपहरमाई, पकाहामैनपुर, कालिकामाई गाउँपालिका तथा पर्सागढी नगरपालिकामा आइतवारदेखि यस शैक्षिक सत्रको वार्षिक परीक्षा शुरू भएको छ । यी पालिकाका सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा सञ्चालन भइरहेका छन् । यी विद्यालयहरूमा कक्षा ८ को आधारभूत परीक्षा हिजो आइतवारदेखि नै सञ्चालन भएका छन् । धोबिनी गापामा कक्षा ८ को आधारभूत परीक्षा लङ्गडी माविमा एकमात्र परीक्षा केन्द्र तोकी सञ्चालन भइरहे पनि कक्षा १ देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षा हुन सकेको छैन । वार्षिक परीक्षाका लागि अहिलेसम्म यो पालिकाले कार्यतालिका सार्वजनिक गर्न सकेको छैन ।
ठोरी गापाका सामुदायिक विद्यालयहरूमा भने कक्षा ८ को आधारभूत परीक्षा भोलि चैत ७ गते मङ्गलवारदेखि सञ्चालन हुन गइरहेको छ । बाँकी कक्षाका साथै कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा ८ गते बुधवारदेखि सञ्चालन हुने गापा कार्यालयले जनाएको छ ।
सखुवाप्रसौनी गापामा भने कक्षा ८ को आधारभूत परीक्षासहित वार्षिक परीक्षा चैत ८ गतेदेखि सञ्चालन हुने गापा कार्यालयले जनाएको छ ।