ओमप्रकाश चौधरी, सेढवा, ५ चैत/
गएको एक सातामा पर्सा जिल्लामा दुईपटक परेको आकाशे पानीले यहाँका किसानहरू खुशी भएका छन् । विभिन्न बालीलाई यो पानीले फाइदा पुगेको भनी यहाँका किसानहरू बेमौसमी वर्षाका कारण खुशी भएका छन् ।
किसानहरूले लगाएका दोस्रो मुख्य बाली गहुँमा दुधिलो दाना लागिसकेको र पानी पर्दा दाना पोटिलो हुने पटेर्वासुगौली गाउँपालिका–४ का किसान नागेन्द्रमहतो थारूले बताए । तीन दिनअघि र गएराति पानी ठीक समयमा परेकोले किसानहरूको बालीलाई फाइदा पुगेको उनले बताए । उनले बढी पानी परेको भए किसानले लगाएका बालीलाई नोक्सानी हुन सक्ने बताउँदै दुई दिन आवश्यक मात्रामा आकाशे पानी पर्दा किसानको बाली थप सप्रने गरी फाइदा पुगेको बताए ।
किसान चौधरीले चैतमा गहुँबाली भिœयाउने तयारीमा रहेका किसानहरूलाई हावा र असिना पानीको भयले पिरोलेको पनि बताए ।
गहुँका साथै हरियो तरकारी करैला, रामतरोई, फर्सी, लसुन, खुर्सानी, प्याज आदिलाई पनि फाइदा भएको छ । यस अतिरिक्त मकै, सुर्ती तथा चैते धानबालीको बीउ लगाएका किसानहरूलाई पनि फाइदा भएको जीराभवानी गापा–४ का किसान राजकपूर चौधरीले बताए । तोरीबाली भिœयाएका किसानहरूको खेत सुक्खा भएको बेला पानी पर्दा सो खेतमा अर्को बाली लगाउन सहज भएको किसान चौधरीले बताए ।
यसका साथै पर्साका ग्रामिण क्षेत्रमा कच्ची, ग्राभेल सडकका धूलो बस्दा राहत भएको छ ।
गर्मीयाम शुरू भएसँगै ग्रामीण क्षेत्रका कच्ची, ग्राभेल सडकहरूमा हावा चलेर धूलो उड्दा हिंडिनसक्नुभएको तर दुईपटक पानी परेपछि केही दिनका लागि राहत भएको पटेर्वासुगौली गापा कार्यालयमा कार्यरत कर्मचारी राजकुमार चौधरीले बताए ।