राधेश्याम पटेल, परवानीपुर, ५ चैत/

वीरगंज नाकाबाट विगत ५० वर्षदेखि हुँदै आएको कबाडको तस्करी विगत दुई महीनादेखि बन्द थियो ।

तत्कालीन गृहमन्त्री रवि लामिछाने, मधेस प्रदेशको डिआइजीमा वसन्त कुँवर तथा पर्साको प्रहरी उपरीक्षकमा कोमल शाह आएपछि पर्साका सीमावर्ती क्षेत्रमा प्रशासनले सुरक्षा निगरानी बढाएको थियो भने नेपाल–भारतको खुला सिमानामा गरिने विभिन्न मालवस्तुको तस्करीलाई नियन्त्रण गरिएको थियो । केही दिन त रक्सौलबाट एक बोरा चामल ल्याउँदा पनि शङ्कराचार्य द्वारमा चेकजाँच गर्दा आम सर्वसाधारणलाई प्रहरीले दुःख दिएको आरोपसमेत लागेको थियो । तर अहिले अवस्था फेरिएको छ ।

रवि लामिछानेले सांसद पद गुमाउँदा उनको गृहमन्त्रीको पद पनि गयो । साथै, डिआइजी कुँवर एआइजीमा बढुवा भएसँगै वीरगंजमा तस्करी फेरि शुरू हुने सुरसारमा छ ।

वीरगंजको सबैभन्दा चर्चित तस्करीको नाका वीरगंज–१६ इनर्वा गाउँबाट तस्करी फेरि शुरू भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

भारत, रक्सौलनजप्ककै अहिरवा टोला जाने बाटो अर्थात् इनर्वाको पीपलबोट चौतारानजीकै दिनमा कबाडका १० वटा ठेला खडा गरिने र रातिको समयमा भारत तस्करी भइरहेको छ । ठेलामा लोड कबाडका विभिन्न सामग्री लोड गरी क्यारिङ गर्ने तस्कर गिरोहका व्यक्तिहरू प्रतिकिलो रु १० देखि १५ सम्म ढुवानी खर्च लिएर रक्सौलको रामेश्वर फलमण्डीभित्र रहेको कबाड गोदाममा पुर्याउँछन् ।

कबाडका ठेलाहरू इनर्वा गाउँमा तयारी अवस्थामा राखिएको दृश्य हेर्न सक्छन् । रजतजयन्तीनजीककै इन्डो–नेपाल अस्पतालभन्दा पूर्व इनर्वा गाउँ जाने बाटो वरपर कबाडी व्यवसायीको गोदामनजीकै तथा बाइपास सडक क्षेत्र, भुटनदेवी मन्दिर जाने बाटो वरपरलगायतका क्षेत्रमा पनि तस्करी गरिने कबाड तयारी अवस्थामा राखिने गरिएको सो वडाका वासी बताउँछन् ।

दुई महीनादेखि प्रहरी प्रशासनसँग सेटिङ गर्दै आएको तर हाल आएर सेटिङ भएपछि तस्करी शुरू भएको तस्कर स्रोतले बतायो । “पहिले गृहमन्त्री र डिआइजी कडा स्वभावका थिए, प्रहरी प्रशासनले पनि कडाइ गरेको थियो, तर अहिले कुरा मिलेको कारण काम शुरू भएको हो,” तस्कर स्रोतले भन्यो । जिल्लादेखि माथिल्लो निकायसम्म मासिक लाखौं रुपैयाँ नजराना चढाएर तस्करी शुरू भएको तस्कर स्रोतको दाबी छ ।

नेपाल र भारतका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस्तरीय दुई देशबीचको सम्झौता अनुसार आफ्नो देशबाट उत्सर्जित फोहोरमैला तथा कबाड आफ्नै देशमा रिसाइकल वा तह लगाउनुपर्ने बाध्यात्मक शर्तसहितको सम्झौता भए तापनि स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा पारी यो अवैध धन्दा चलिरहेको छ ।

वीरगंजको कबाड भारतको रक्सौल हुँदै दिल्ली पुग्छ । त्यहाँ रिसाइकल गरी कच्चा पदार्थ बनाइन्छ ।

पानीका बोतल दिल्ली पुगेपछि प्लास्टिकका सामान उत्पादन गर्न चाहिने कच्चा पदार्थ दाना बनाइन्छ । एकदमै सस्तोमा खरीद गरिएका ती सामग्री तस्करी गर्न नेपाल र भारतका करीब एक दर्जन तस्कर सक्रिय छन् । एक थान तीन पाङ्ग्रे ठेल्लामा आठ सय किलोदेखि १३ सय किलोसम्म कबाडी सामान जान्छ ।

कबाडको तस्करी हुन थालेपछि दैनिक इनर्वा र मुख्य भन्सार नाका भएर मात्रै दैनिक १५० देखि दुई सयसम्म ठेला कबाड तस्करी गरी रक्सौल पु¥याउने गरिन्छ । कबाडको तस्करीमा तस्कर गिरोहले बिचौलियामार्फत प्रहरी प्रशासनलाई सेटिङ गर्न लाखौं रुपियाँ नजराना चढाउने गर्दछ ।

के के कुराको हुन्छ तस्करी

कबाडको तस्करी भनेपछि प्रयोग भई कबाड भइसकेका पैड बन्डल (पानीको बोतलको बन्डल), रङ्गीन क्रिस्टल, स्टील ३१६, स्टील ३०४, स्टील पिसी, स्टील भाँडा, प्रिफम, प्रिफम ढेला, रेडबूल केनको बन्डल, जनावरको हाड, जनावरको छाला, ब्याट्री, ब्याट्रीको धूलो, किट, एक्स–रे, सिमेन्टको बोरा, कापी, किताब, टायर, केबल, सिडी चक्का, नेचुरल पिपी (कटिङ गरिएको), ह्वाइट पिपी, हेडलाइट, रिलायन्स पाइप, ह्वाइट सिलिकन, ग्लोकोज स्लाइन बोतल, सि पाइप, किसान पाइप, ब्लास्टी रोल, कालो बारुद डस्ट, जार कटिङ, बाल्टिन कटिङ, कन्डुल, बिट, फलक्स सेतो, फलक्स कालो, कसकुट पिस्टन, एलडी प्लेट, जिङ्क, जिङ्क एस, हाड, साबुनको माटो, औषधिको खोल (रेपर),नाइलन, कार बम्पर, सिरिन्ज, मेडिकल पञ्जा, ह्वाइट एभिएसलगायतका सामान कबाडी सामान भनी तस्करी हुने गर्छ ।

के भन्छन् पर्साको जनपद र सशस्त्र प्रहरी ?

सीमा सुरक्षाको जिम्मा लिएको १३ नम्बर सशस्त्र प्रहरी हेडक्वाटर, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले सीमा क्षेत्रमा कबाडी सामान बोकेका ठेला खडा गरेको ठाउँ आफू पनि निरीक्षण गर्न गएको तर तस्करी नभएको दाबी गरे । “मलाई पनि तस्करी शुरू भयो भन्ने सूचना आउँदा म आफैं गएर हेरेको हुँ, तर तस्करी नै भएको हो भन्ने प्रमाण फेला परे सो क्षेत्रमा ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई कारबाही गर्छु,” सप्रउ थपलियाले भने । उनले सो क्षेत्रमा तस्करीको लागि तयारी अवस्थामा राखिएका ठेला अन्त खडा गर्न निर्देशन दिएको बताए ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले यस विषयमा आफूलाई जानकारी नभएको र एसपी सरसँग छलफल गरी आवश्यक कारबाही प्रक्रिया चलाउने प्रतिक्रिया दिए । उनले कबाडको तस्करी बन्द नै रहेको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here