राधेश्याम पटेल, परवानीपुर, ३ चैत/
उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवका गाउँवासी गदगद भएका छन् ।
बारा, सिम्रौनगढ नगरपालिका वडा नं ९ बसवरिया गाउँमा उनी निर्वाचित भएको खबर सञ्चारमाध्यममा आए लगत्तै गाउँवासी तथा उनको परिवारजनले खुशियाली साटासाट गर्न थालेका छन् । शनिवार गाउँभरि मिठाइ बाँडेर खुशियाली साटासाट गर्ने उनको परिवारजनले जनाएका छन् ।
जसपाको संसदीय दलका नेतासमेत रहेका रामसहायकको छवि सन्त नेताको रहेको उनका दाइ रामधारीप्रसाद यादव बताउँछन् ।
राजनीतिमा पार्टीप्रति निष्ठा र त्यागको प्रतिफल नेपालकै सबैभन्दा दोस्रो सम्मानजनक पदमा भाइ पुगेकामा उनको खुशीको सीमा छैन । “जुन दिनदेखि राजनीतिमा आएका छन्, एक प्रभावशाली राजनीतिज्ञ भएर देखिएका छन्,” उनले भने, “गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपतिमा परमानन्द झापछि रामसहाय उक्त पदमा पुग्नु नै नेपाल एवं मधेसी जनताको लागि खुशीको कुरा हो ।” प्रसाद रायका कान्छा छोरा रामसहायकी पत्नीको नाम चम्पा देवी हो । उनी हाल बाराको सदरमुकाम कलैया, बरेवास्थित गोरु बजारनजीकैको १० धुरमा बनेको घरमा बस्छिन् । दुई छोरा र एक छोरीका बुबा रामसहायको उमेर ५२ वर्षको छ ।
कक्षा ३ सम्मको अध्ययन पुख्र्यौली गाउँ बसवरिया माविबाट र कक्षा ८ सम्मको अध्ययन कचोर्वा माविबाट गरेका रामसहायले एसएलसीसम्मको अध्ययन सिम्रौनगढ माविबाट गरे ।
त्यसपछि भारत बिहारको सीतामढीबाट आइएससी र बिएससीसम्मको अध्ययन सकेर शिक्षक बन्न वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा बिएडको अध्ययन गरे ।
२०४७ सालदेखि सरकारी शिक्षक भएर उनी कलैयास्थित पन्नादेवी माविमा विज्ञान विषयको अध्यापन गराउँदै आएका रामसहायको प्रारम्भिक राजनीतिक झुकाव तत्कालीन मधेसवादी दल गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीसँग थियो ।
मधेस आन्दोलनपछि २०६४ सालको प्रथम संविधानसभामा मधेसी जनअधिकार फोरमका अध्यक्ष एवं अहिलको जसपाका अध्यक्ष उपेन्द्र यादवको नजीक आएपछि उनी मजफोमा आबद्ध भए ।
प्रथम संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य बनेका रामसहाय २०७० सालको दोस्रो चुनावमा पार्टीको कम सिट आएपछि उनलाई सांसद पद दिइएन । उनी २०७४ सालमा बारा–२ बाट प्रत्यक्षमा निर्वाचित भएका थिए ।
हालै सम्पन्न २०७९ सालको प्रतिनिधिसभाको चुनावमा उनी बारा २ बाट माओवादीका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भए । त्यसपछि शेरबहादुर देउवाको पाँच दलीय गठबन्धनबाट केही महीनाको लागि वनमन्त्री बनेका रामसहाय अहिले आएर उपराष्ट्रपतिमा विजयी हुँदा उनको परिवार तथा गाउँमा खुशियाली छाएको छ ।
राजनीतिमा लागेका रामसहाय हाल काठमाडौंमा बस्दै आएका छन् । तर उनकी पत्नी चम्पा देवी कलैयाकै घरमा गाई पालेर बसेकी छन् । बुबाको एक कट्ठा घडेरी र अढाई बिघा खेतबाहेक उनको श्रीसम्पत्ति नरहेको परिवारजन बताउँछन् ।
राजनीतिमा टिक्नकै लागि कलैयाका केही जग्गासमेत बेच्नुपरेको उनको परिवारजनको भनाइ छ । दाइ रामधारीले जुन परिस्थितिमा रहे पनि भाइले सबैको फोन उठाउने र जुन बेला पनि जनताको कामको लागि जनताकै घरमा पुग्ने बानीका कारण बारा २ मा भाइको क्रेज बेग्लै रहेको दाबी गरे ।