प्रस, वीरगंज, ३ चैत/
वीरगंज महानगरपालिकाले महानगरमा रहेका छाडा कुकुरहरूको बन्ध्याकरण र रेबिजविरुद्धको जारी खोप अभियान अन्तर्गत शुक्रवारसम्म २११ वटा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप दिएको छ ।
महानगरमा रहेका छाडा कुकुरहरू सङ्कलन गरेर फागुन २९ गतेदेखि बन्ध्याकरण र रेबिजविरुद्धको खोप दिने अभियान महानगरपालिका कार्यालयले पहिलोपटक शुरू गरेको हो । पाँच दिनमा २११ वटा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाएको महानगरले जनाएको छ ।
महानगरले यो अभियान अन्तर्गत एक हजार छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप दिने लक्ष्य राखेको छ । दी जेन गुडअल इन्स्टिच्युट नेपालमार्फत महानगरले यो अभियान जारी राखेको छ ।
महानगरपालिकामा छाडा कुकुरको सङ्ख्या बढेपछि नगरवासीहरूको स्वास्थ्यप्रति जिम्मेवारी देखाउँदै नगरप्रमुख राजेशमान सिंहले बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउने कार्य शुरू गराएका थिए । महानगरमा छाडा कुकुर सङ्ख्या बढे पनि एक दशकदेखि जनावर अधिकारवादीका कारण महानगरले छाडा कुकुर नियन्त्रण गर्न सकेको थिएन । यसअघि महानगरले छाडा कुकुर नियन्त्रण गर्न विषसेवन गराएर कुकुर मार्ने अभियान चलाउने गरेको थियो । जनावर अधिकारवादीहरूको कारण अहिले महानगरले बन्ध्याकरण र रेबिजविरुद्धको खोप दिने कार्य शुरू गरेको हो ।