• राजेश मिश्र

“जीत जायेंगे हम

जीत जायेंगे हम

तू अगर सँग है

जिन्दगी हर कदम

एक नयी जंग हैं …”

उपरोक्त गीत सन् १९८५ मा रिलिज हिन्दी फिल्म ‘मेरी जंग’को हो । यस फिल्मको माध्यमबाट प्रतिकूल समय, सङ्घर्ष र सफलताबारे दर्शाइएको छ । जीवन सङ्घर्षमय गोरेटो हो । यात्राको क्रममा आरोह–अवरोह नआउने होइन । यद्यपि सुखमा अति खुशी र दुःखमा अति चिन्तामग्न हुनुहुँदैन । लक्ष्यप्रति केन्द्रित हुनुपर्छ । समभावले यात्रालाई निरन्तरता प्रदान गर्नुपर्छ । लक्षित दिशामा ऊर्जा खपत गर्ने व्यक्तिको जीवनमा सफलता प्राप्त नहुने कुरै हुँदैन । यस तथ्यलाई प्रमाणित गर्ने युवाहरू हिजो पनि थिए, आज पनि छन् र भविष्यमा पनि प्रकट हुने नै छन् ।

हाम्रो समाजमा सङ्घर्षशील युवाहरू थुप्रै होलान्, जसको सङ्घर्षका उदाहरणीय कथाहरू ओझेलमा हुन सक्छन् । त्यस्ता युवाहरूको जमातमध्ये वीरगंजको एक युवासँग भेट भयो । घण्टौं भलाकुसारी भयो । २५ वर्षीय युवाको सङ्घर्षको कथा मननयोग्य छ । सफलता प्राप्त गरेका ती युवकका अनन्य मित्रहरूमध्ये वीरगंजका राहुल गुप्ता पनि हुन् । राहुलले आफ्नो साथीप्रति सद्भाव प्रकट गर्दै भने, “उसले आफ्नो कर्मठताले सफलता प्राप्त गरेको छ । म गौरवान्वित महसूस गरिरहेको छु । लाखौंलाख शुभकामना छ, मेरो प्यारो साथीलाई ।”

ती युवाको बाल्यकालमैं आमाको ममत्व के कारणले अस्त भयो ? उनको पढाइ झन्डै दुई वर्ष के कारणले अवरुद्ध भयो ? के कारणले बाल्यकालमैं बुबाको व्यावसायिक सारथि बन्नै पर्ने परिस्थिति उत्पन्न भयो ? आर्थिक अभावमाझ इन्जिनीयरिङ सङ्कायमा स्नातक तह पढ्न कसरी सम्भव भयो ? क्याम्पस पढ्दै गर्दा परिवारलाई कसरी आर्थिक सहयोग गर्न भ्याए ? नेपाली सेनामा प्राविधिक उपसेनानी पदमा कसरी नाम निकाल्न सफल भए ? लगायतका सेरोफेरोमा आधारित वीरगंज मनपा–२४ रामगढवाका रञ्जीतकुमार गुप्ताको सङ्घर्षपथबारे जानौं ।

रञ्जीतकुमार गुप्ता, वीरगंज

विसं २०७८ मा इन्जिनीयरिङ स्नातक तह उत्तीर्ण भएँ । स्नातक तहपछि लोकसेवा आयोगको तयारी गर्ने र नाम निकाल्ने अठोट थियो । फलानोमैं प्रतिस्पर्धा गर्छु भन्ने थिएन । मेरो शैक्षिक योग्यतासँग मेल खाने जुनसुकै निकायमा विज्ञापन भए प्रतिस्पर्धा गर्छु भन्ने थियो । नेपाली सेना र नेपाल बैंकको लागि विज्ञापन खुलेको थियो । चासोका साथ दुवैमा फाराम भरें । तयारी तीव्र पारें ।

साथीहरूको लहलहैमा लाग्ने, घुम्ने र मौजमस्ती गर्ने जस्ता क्रियाकलापहरू मेरो रुचिको विषय न थियो, न छ, न हुनेछ । महाभारतमा अर्जुनले घुमिरहेको माछाको आँखामा तीर हान्ने अठोट गरेझैं लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्ने र नाम निकाल्ने अर्जुन अठोटका साथ म कर्तव्यपथमा अडिग थिएँ ।

नेपाल बैंकको परीक्षा दिएँ । पास भएँ । अन्तर्वार्ता दिएँ । अन्तिम नतीजा प्रकाशित भयो । म वैकल्पिकमा परें । तर निराश भइनँ । किनभने पहिलो प्रयासमा अन्तर्वार्तासम्म पुग्नु, वैकल्पिकमा भएपनि नाम निस्किनु मेरोलागि अहोभाग्य थियो । आफू आफैंसँग पे्ररित भएँ । आफूले आफैंलाई बधाई तथा धन्यवाद दिएँ । यसैबीचमा नेपाली सेनातर्फको प्रतिस्पर्धामा केही चरणहरू पास भइसकेको थिएँ । लगनशीलताका साथ नेपाली सेनातर्फको तयारीमा जुटें ।

नेपाली सेनामा प्रतिस्पर्धी यात्रा

श्री भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जङ्गी अड्डाद्वारा २०७८/१२/१४ गते विभिन्न पदका लागि विज्ञापन भएको थियो । सोहीमध्ये विज्ञापन नं २०७८/७९/६५ प्राविधिक सेवाको लागि सैन्य इन्जिनीयरिङ समूह तथा मरम्मत तथा सम्भार उपसमूहमा माग पद सङ्ख्या खुलामा दुई तथा आदिवासी जनजातिको एक गरी जम्मा तीनवटा थिए ।

वियरिङ, बिएमआई र प्रारम्भिक स्वास्थ्य परीक्षणका साथै शारीरिक परीक्षा गरी तीन चरणको परीक्षामा उत्तीर्ण भएँ । चौथो चरणको लिखित परीक्षा दिएँ । परीक्षा राम्रोसँग दिएको थिएँ । यद्यपि नतीजा प्रकाशित नहुन्जेलसम्म मानसिक व्यग्रता नहुने कुरै थिएन । अन्ततः पर्खाइको घडी समाप्त भयो । लोकसेवा आयोगले २०७९ मङ्सिर १ गते लिखित परीक्षाको नतीजा प्रकाशित गर्यो । उत्तीर्ण हुनेहरू नौजनामा एकजना म पनि थिएँ । लिखित परीक्षामा उत्तीर्ण भएपछि झन् ऊर्जाले भरिएँ । त्यसैगरी, क्रमशः प्रयोगात्मक परीक्षा, गुणमापक परीक्षा र विस्तृत स्वास्थ्य परीक्षणमा पनि उत्तीर्ण भएँ । आठौं चरण अर्थात् छनोटको अन्तिम चरण हो, अन्तर्वार्ता । तनमनले तयारी गरें र अन्तर्वार्ता दिएँ ।

२०७९ फागुन १२ गते अन्तिम नतीजा प्रकाशित भयो । योग्यताक्रमको पहिलो स्थानमा मेरो नाम छ । यसरी प्राविधिक उपसेनानी पदको लागि प्रतिस्पर्धी यात्रा सफलतापूर्वक तय गरें । घरपरिवार, आफन्तजन, छिमेकी तथा साथीसङ्गीहरूबाट बधाई तथा शुभकामना आउने क्रम जारी छ । उहाँहरूप्रति म श्रद्धासुमन प्रकट गर्दछु ।

यो सफलतालाई मैले आमाको प्रसादको रूपमा ग्रहण गरेको छु । सायद आज आमा जीवित हुनुभएको भए उहाँको ममतामयी म्वाइँले मेरो गाला र निधार भरिपूर्ण हुन्थ्यो । यद्यपि मेरा हजुरबुबा र हजुरआमाले वर्षौंदेखि आमाको कमी पूरा गर्दै आइरहनुभएको छ । अप्रत्यक्षरूपमा आमाको र प्रत्यक्षरूपमा घरपरिवारको ममता पाउँदै आइरहेको छु र आज म यो स्थान प्राप्त गर्न सफल भएँ । मेरो बुझाइमा अथक प्रयास आवश्यक छ नै, साथै घरपरिवारको साथ, सहयोग र ममत्वविना सफलताको गोरेटो तय गर्न सकिंदैन ।

बाल्यकालदेखि जिम्मेवारी बोध

घरपरिवारको भरणपोषण बुबाको व्यवसायमा निर्भर थियो । जिल्ला प्रशासन कार्यालय, पर्सानजीकै बुबाले गीताञ्जलि क्यासेट भन्ने पसल सञ्चालन गर्नुभएको थियो । म सानो थिएँ । बुबाले कहिलेकाहीं साइकलमा चढाएर मलाई पसलमा लिएर जानुहुन्थ्यो । समयक्रमसँगै मेरो उमेर बढ्दै गयो । विद्यालयमा नामाङ्कन भयो । विद्यालय जान थालें । केही वर्षपछि म विद्यालय सकेपछि साँझपख पसलमा पुग्थे । सेवाग्राहीहरूको मागबमोजिम बुबाले सादा क्यासेटमा गीत भर्ने काम गर्नुहुन्थ्यो । प्रतिदिन हेर्दै र सिक्दै बुबाको रेखदेखमा म पनि क्यासेटमा गीत भर्ने काम सिक्न थालें । बिस्तारै बुबाले सञ्चालन गरेको व्यवसायमा सहयोग गर्न थालें । शनिवार तथा विद्यालयमा छुट्टी भएको दिन पसल मेरो जिम्मामा हुन्थ्यो । व्यवसाय र पढाई, दुवैतर्फ उत्तिकै जिम्मेवारी बोध थियो ।

आमाको तस्वीर प्रतिविम्बित हुन्छ

आमा रीता देवीको निधन भएको झन्डै डेढ दशक भयो । परिवारजनको मुहारबाट हराएको खुशी नेपाली सेनामा म छनोट भएपछि फर्केको महसूस हुँदैछ । अहिले परिवारमा हजुरबुबा बङ्कालाल प्रसाद, हजुरआमा रामदेवी, बुबा नन्दकिशोर प्रसाद तथा मसमेत तीन दाजुभाइ तथा एक बहिनी गरी सातजना छौं । तर मलाई लाग्छ हामीमाझ आमा पनि हुनुहुन्छ र हामी आठजना छौं ।

भाइबहिनीहरूमध्ये म जेठो हुँ । हाँसीखुशी जीवनयापन भइरहेको परिवारको दुःखको दिन शुरू भयो । आमा बिरामी पर्न थाल्नुभयो । चेकजाँचपछि आमाको मिर्गौलामा समस्या भएको घरपरिवारले थाहा पाए । म बुबाको दिनचर्या तनावग्रस्त महसूस गर्थें । सधैंजसो बुबाको समय अस्पताल र उपचारमा व्यतीत हुन थाल्यो । सके जति मैले पसलको काम सम्हाल्न थालें । पसलबाहेक आर्थिक स्रोतको कुनै विकल्प थिएन । आमाको उपचार र पसल सञ्चालन गर्नु दुवै आवश्यक थियो । हामी ससाना भाइबहिनीहरूलाई मिर्गौला रोगबारे विस्तृत कुरा थाहा हुने कुरै भएन । हजुरबुबा र बुबाबीच हुने चर्चा र अनुहारमा प्रकट चिन्ताले ठूलै रोग हो कि भन्ने भान चाहिं हुन्थ्यो ।

आमाको उपचारमा दिन प्रतिदिन ऋणको भार बढ्दै गइरहेको थियो । लाखौं खर्च गरी मिर्गौला प्रत्यारोपण गराउनु आर्थिक क्षमताले सम्भव थिएन । यद्यपि हजुरबुबा र बुबाको प्रयास जारी थियो । यसैबीच आमाको स्वर्गारोहण भयो । परिवारमा बज्रपात भयो । रुवावासी हुन थाल्यो । आमाको ममत्व अस्त भयो । त्यसताका दिनमा पनि अध्यारोझैं महसूस हुन्थ्यो ।

समय गतिमान हुन्छ । बिस्तारै बुबाले पसलमा समय दिन थाल्नुभयो । मेरो पढाइले पुनः निरन्तरता पायो । आमाको निधनपछि हामी हजुरबुबा, हजुरआमा र बुबाको छत्रछायामा हुर्किन थाल्यौं । समयको गतिसँगै दुःखसुखका साथ विसं २०६९ मा उत्कृष्ट श्रेणीले (८२ प्रतिशत) एसएलसी पास भएँ । विसं २०७२ मा प्रथम श्रेणीले विज्ञान विषयमा दश जोड दुई उत्तीर्ण भएँ । मेरो हरेक सफलतामा आमाको तस्वीर प्रतिविम्बित हुन्छ ।

छात्रवृत्तिमा स्तानतक तह

इन्जिनीयरिङ पढ्ने इच्छा थियो । तर आर्थिक अवस्था इच्छा अनुकूल थिएन । इच्छापूर्तिको एकमात्र विकल्प थियो, छात्रवृत्ति । त्रिभुवन विश्वविद्यालयको लागि प्रवेश परीक्षाको तयारी गर्न थालें । अन्ततः पूर्ण छात्रवृत्तिमा नाम निकालें । यद्यपि काठमाडौंमा खाने र बस्ने अर्काे चुनौती थियो ।

छात्रवृत्तिमा नाम निकालेपछि पारिवारिक वातावरण खुशीमय भयो । यद्यपि शून्य आर्थिक भार थेग्ने पारिवारिक हैसियत थिएन । यो कुरा मलाई थाहा थियो । मैले अभिभावकसँग कर गर्न उपयुक्त ठानेन । पछि हजुरबुबा र बुबाबीच सल्लाह भयो । जसोतसो गरी रु पाँच/छ हजारसम्म पाउने आश्वासन पाएँ । यतिले एक महीनाको खर्च पुग्ने अवस्था थिएन । यद्यपि पारिवारिक प्रोत्साहन मेरो जीवनयात्राको सञ्जीवनी साबित भयो । दुईजना साथी मिलेर सानेपामा कोठा भाडामा लियौं । इलेक्ट्रोनिक एन्ड कम्युनिकेशन इन्जिनीयरिड्ढो पढाइ शुरू भयो । विसं २०७८ मा ७०.८५ प्रतिशतले प्रथम श्रेणीमा उत्तीर्ण भएँ ।

इन्जिनीयरिड्ढो पढाइसँगै काम

क्याम्पसको समयबाहेक काम गर्ने बाध्यता महसूस गरें । खोज्दै जाँदा एक विदेशी कम्पनीबारे थाहा पाएँ, जहाँ कम्प्युटरसम्बन्धी ज्ञान भएको जनशक्ति आवश्यक थियो । सोही कम्पनीमा प्रयास गरें । अन्तर्वार्ताको लागि बोलाइयो । ल्यापटप थिएन । साथीको ल्यापटप लिएर गएँ । अन्तर्वार्ता दिएँ । भोलिपल्ट फोन आयो । म छनोट भएँ । धेरै खुशी भएँ । तलब पन्ध्र हजार पाउने भएँ ।

बिहान ६ः४५ देखि बिहान १०ः४५ सम्म जागीर र १०ः४५ देखि कलेज थियो । कलेज र जागीर गर्ने कार्यालयबीचको दूरी हिंडेर १५ मिनेटको थियो । शुरूका तीन/चार महीना साथीको ल्यापटपले कम्पनीको काम गरें । चार/पाँच महीनाको तलबले ल्यापटप किनें । पछि केही रकम घरमा पनि पठाउन थालें ।

अविष्मरणीय २५औं वार्षिकोत्सव

विसं २०६९ को कुरा हो । प्रतीक दैनिकको २५औं वार्षिकोत्सवको अवसरमा पहिलोपटक पुरस्कृत भएको त्यो क्षण जीवनपर्यन्त बिर्सन सक्दिनँ । ‘वीरगंजमा पत्रकारिताको अवसर र चुनौती’ विषयक उच्च माविस्तरको  निबन्ध प्रतियोगितामा म प्रथम भएको थिएँ । मैले अन्तिम दिनको साँझपख लेख बुझाएको मलाई झल्झल्ती याद छ । लगनशीलता र परिश्रमको फल सधैं मीठो हुन्छ भनेझैं प्रतीक दैनिकको २५औं वार्षिकोत्सवमा प्राप्त त्यो प्रथम पुरस्कार रु एक हजार मेरो आगामी जीवनको लागि प्रेरणाको स्रोत बन्यो । मेहनत गरे सफलता अवश्य पाइन्छ भन्ने कुराको बोध भयो ।

मनको कुरा

सर्वप्रथम लक्ष्य निर्धारण गर्नुपर्छ । सोही अनुसार कर्म गर्नुपर्छ । समयको महत्व बुझ्नुपर्छ । समय खेर फाल्नुहुँदैन । सकारात्मक तवरले अघि बढ्ने हो भने लक्ष्य अवश्य प्राप्त हुन्छ । जीवनमा कैयौंपटक असफल भएर सफल हुने व्यक्तित्वहरू समाजमा छन् । उनीहरूको जीवन वृतान्तबाट प्रेरणा लिनुपर्दछ । म को हुँ ? मेरो लक्ष्य के हो ? लगायतका प्रतिवाद आफूले आफैंसँग गर्नुपर्छ ।

जुनसुकै पेशा वा जिम्मेवारीमा भए तापनि अनुशासन, कर्तव्यपरायण, लगनशीलता र वफादारिता प्रगतिपथका आवश्यक तत्वहरू हुन् । आज म हर्षित छु किनभने नेपाली सेनामा सेवा गर्ने अवसर पाएको छु । अनुशासित निकायमा प्रवेश गरेको छु । म ओहोदाको गरिमाप्रति सदैव तत्पर र समर्पित रहनेछु । आमालाई पुनः स्मरण गर्दै मलाई बधाई तथा शुभकामना प्रदान गर्नुहुने समस्त महानुभावजनमा दुवै हात जोडी प्रणाम गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here