• डा शिवशङ्कर यादव

ब्रेन यति नरम र नाजुक हुन्छ कि लैटिनमा यसको तुलना हलुवासँग गरिन्छ लैटिनमा ब्रेजनको मतलब नै हलुवाजस्तो हुन्छ । मृत्युपछि ब्रेन नै सबैभन्दा पहिले ओइलाउँछ । एक एलेक्जेन्डेरियन एनाटोमिस्टले सबैभन्दा पहिले ब्रेन पत्ता लगाएर यसका कतिपय भागको वर्णन गरे । तबदेखि आजसम्म वैज्ञानिकहरूले यसको रहस्य पत्ता लगाउनमा व्यस्त छन् तर सम्पूर्ण रहस्य पत्ता लगाउन सकेका छैनन् र पत्ता लाग्ने पनि छैन जस्तो लाग्छ । ब्रेनका सारा रहस्य उसको सतहमा होइन उसको भित्र छ । बाहिर त केवल जाइरस र सल्कस भन्ने नै देखिन्छ, जो ठीक जटामसीको फूलजस्तो देखिन्छ । सानो आकारमा सयपत्री फूल पनि त्यस्तै देखिन्छ । ब्रेनका तीन भाग हुन्छन् ः फोरब्रेन, मिडब्रेन र हाइन्डब्रेन । पाठकलाई लाग्न सक्छ कि मिडब्रेन ठूलो र फोर तथा हाइन्डब्रेनको बीचमा दुवैलाई जोड्ने काम गरेको होला । तर त्यसो होइन । बीचमा त छ तर केवल दुई सेमीको आकारमा मात्र र दुवैलाई जोड्ने काम होइन बरु स्पाइनल कर्डसँग जोड्ने काम गर्छ । यसको आकार मात्र दुई सेमी हुन्छ । जबकि फोर र हाइन्डब्रेन  कैयौं गुणा बढी हुन्छन् । सम्पूर्ण ब्रेनका केही मुख्य भागका नाम यस प्रकार छन्– फोरब्रेन, थैल्मस, हाइपोथैल्मस, पिट्युटरी ग्रन्थि, पिनियलग्रन्थि, एमाग्डेला, हिप्पोकैम्पस, मिडब्रेन, पोन्स, मेड्युला, सेरेबेलम, भेन्ट्रिकल आदि । मिडब्रेन, पोन्स र मेड्युलालाई एकसाथ ब्रेनस्टेम भनिन्छ किनभने यी तिनै मिलेर कुनै बिरुवा वा फूलको डन्ठलजस्तो देखिन्छ । डन्ठलसहित सयपत्रीको फूल तोडनुस् । जसरी तलबाट माथिसम्म फुलेको जस्तो देखिन्छ । ठीक त्यस्तै देखिन्छ– ब्रेनस्टेम र त्यसमाथिको ब्रेन फूलजस्तो । आज यसै ब्रेनस्टेमको विवरण पाठकसमक्ष पस्कने पालो छ ।

ब्रेनस्टेमको जम्मा लम्बाइ आठ सेमी हुन्छ, जसमा दुई सेमी मिडब्रेन र बाँकीमा पोन्स र मेड्युला हुन्छन् । मेड्युलालाई मेड्युला अब्लान्गाटा पनि भनिन्छ । मिडब्रेनमा कार्टेक्समा तल स्पाइनल कर्डबाट जाने मतलब एफेरन्ट र त्यहाँबाट उत्तर ल्याउने एफरेन्ट फाइबरहरू धेरै हुन्छन् । यसको साथै मिडब्रेनले धेरै भाइटल कार्यहरूको पनि नियमन आफैंले गर्छ, जसले गर्दा धेरै सेन्टर वा न्युक्लियसहरू पनि यसमा हुन्छन्, जसको क्रमवार विवरण दिने नै यस लेखको उद्देश्य हो । सुरुआत तलबाट अथवा मेड्युलाबाट गरौं ।

मेड्युला, अब्लान्गाटा ब्रेनको सबैभन्दा तलको भाग हो, जसबाट स्पाइनल कर्डका धेरै एसेन्डिङ र डिसेन्डिङ नर्भहरू पास हुन्छन् । यसको अतिरिक्त यसमा धेरै सेन्टर वा न्युक्लियसहरू पनि हुन्छन्, जसले शरीरका धेरै भाइटल कार्यको नियमन गर्छ यथाः रेसपिरेटरी सेन्टर जसले श्वासप्रश्वासको नियमन गर्छ । भासोमोटर सेन्टरः जसले रक्तवाहिनी नलीको चाप र हृदयगतिको नियमन गर्छ । डिग्लुटिसन सेन्टरः यसको मतलब हुन्छ भोजनको निल्ने कार्य जसको फेरिन्जियल र ओसोफैजियल दुई स्टेज हुन्छन् । यी स्टेजको नियमन पनि यहींबाट हुन्छ । भोमिटिङ सेन्टर पनि यही हुन्छ । जब आमाशय र आन्द्रामा सुजन वा इरिटेसन हुन्छ, तब यो सेन्टरले बान्ता गराएर मामिलालाई ठीक पार्न कोशिश गर्छ । सेलिभेटरी सेन्टर ः यसको लागि मेड्युलामा तलमाथि गरेर दुईटा न्युक्लियस हुन्छन् । एउटालाई सुपेरियर र अर्कोलाई इनफेरियर न्युक्लियस भनिन्छ र दुवैले र्यालको स्रावको नियमन गर्छन् । यसको अलावा यसमा क्रेनियल नर्भहरूका न्युक्लियस पनि हुन्छन् । क्रेनियल नर्भ सीधैं ब्रेनबाट निस्कने पेरिफेरल नर्भलाई भनिन्छ । यिनको सङ्ख्या १२ जोडी हुन्छन्, जसमा १२, ११, १०, का न्युक्लियसहरू र केही ८ र ५ का फाइबरहरूका न्युक्लियस पनि हुन्छन् । १२ को अर्को नाम हाइपोग्लोसल नर्भ हो, जसले जिब्रोको गतिको नियमन गर्छ । ११ नर्भको अर्को नाम एक्सेसरी नर्भ हो, जसले काँधको गतिलाई नियमन गर्छ । त्यस्तै १० नर्भको नाम भैगस नर्भ हो, जसले करीब सबै भाइटल कार्यको नियमन गर्छ यथाः कार्डियोभास्कुलर प्रणाली, श्वसन प्रणाली, पाचन प्रणाली आदि । आठFैं नर्भका दुई विभाजन हुन्छन्ः कोक्लियर र भेस्टिवयुलर । यसमा कोक्लियर शाखाको न्युक्लियस हुन्छ, यहाँ जसले सुन्ने क्रियाको नियमन गर्छ । त्यस्तै, भेस्टिब्युलर नर्भका चार न्युक्लियस हुन्छन्ः सुपेरियर, मेडियल, लैटरल र इनफेरियर । यसमा मेडियल र इनफेरियर भने मेड्युलामा र बाँकी पोन्समा हुन्छन् । यी सबै नियमन गर्ने न्युक्लियसको पनि नियमन सेरेब्रल कार्टेक्स र हाइपोथैल्मसले गर्छ ।

पोन्स ः लैटिनमा पोन्सको अर्थ हुन्छ, पुल । यो मेड्युला र मिडब्रेनको बीचमा एक पुलको सरहको काम गर्छ । यसले सेरेब्रम र सेरेबेलममा आउनेजाने नर्भको बाटो बनाउँछ । मतलब यो कि ती नर्भहरू पोन्स भएर नै जान्छन् । पिरामिड आकारको पिरामिडल ट्रैक्ट यहीं भएर पास हुन्छ । यसको अतिरिक्त १०, ९, ८ ७ र ६ वाँ क्रेनियल नर्भ फाइबरहरू यहीं भएर जान्छन् । यसको अलावा ९, ७ र ५ वाँको न्युक्लियस पनि यहFँ हुन्छ । रेसपिरेसनको नियमन गर्ने सेन्टर यहाँ पनि हुन्छ ।

मिडब्रेन ः यसमा टेक्टम, सिरेब्रल पेडङ्कल र पेडङ्कलको पनि टेग्मेन्टम भन्ने भाग हुन्छ । यसमा भ्रमित हुन जरुरी छैन । टेक्टमको मतलब भुइँ र टेग्मेन्टमको अर्थ छत हुन्छ । मतलब टेक्टम मिडब्रेनको तलको सतहमा र टेग्मेन्टम माथि छतमा हुन्छ । टेक्टमका पनि दुई भाग हुन्छन् ः सुपेरियर र इनफेरियर कोलिकुलस । सुपेरियरले टाउको, आँखा, घाँटी र हातखुट्टाको पोजिसनको नियमन राइट रिफ्लेक्सले गर्छ । यहाँ पनि भ्रमित हुन जरुरी छैन । हामी एक लाइनमा उभिन्छौं, केही दायाँ बायाँ झुक्ने काम पनि इच्छा अनुसार गर्छौैं । यसो गर्ने गराउने रिफ्लेक्सको नाम राइट रिफ्लेक्स हो । आँखामा प्रकाश परे आँखाको नानी सङ्कुचित हुन्छ । लाइट पर्नाले यही रिफ्लेक्स सक्रिय हुन पुग्छ । त्यस्तै, इनफेरियर कोलिकुलसले सुन्ने र बोल्ने रिफ्लेक्सलाई सक्रिय गर्छ । सेरेब्रल पेडंकल ः पेडङ्कलको अर्थ पनि डन्ठल नै हुन्छ । यसका तीन भाग हुन्छन्ः बेसिस पेडन्कुलोसिस, सब्सटान्सिया निग्रा र टेग्मेन्टम । टेग्मेन्टममा रेड न्युक्लियस भन्ने भाग धेरै महत्वपूर्ण हुन्छ । बेसिस पेडन्कुलोसिसमा टेम्प्रोपोन्टाइन र फ्रोन्टोपोन्टाइन नर्भ फाइबरहरूका पिरामिडल ट्रैक्ट हुन्छन् । सब्सटान्सिया निग्रा रेड न्युक्लियसको तलको मुख्य भाग हो । यसमा कम पिगमेन्टरहित र धेरै आइरन भएका पिग्मेन्टयुक्त नर्भ फाइबरहरू हुन्छन् र यस कारण नै यसको नाम निग्रा भएको हो । टेग्मेन्टम ः यो सब्सटान्सिया निग्राको पछाडिपट्टि हुन्छ । यो वास्तवमा पोन्समा भएको रेटिकुलर फर्मेसनको निरन्तरता हो । यसमा नर्भ फाइबरका तीन डिकसेसन हुन्छन् । यहाँ पनि भ्रमित हुन जरुरी छैन । शरीर आधा बायाँ र आधा दायाँ भाग मिलेर बनेको छ र दुवै भागमा उही ब्रेन र उही नर्भ फाइबर पनि हुन्छन् । जब बायाँको फाइबर दायाँतिर जान्छ र दायाँको नर्भ बायाँतिर लाग्छ, तब यसैलाई डिकसेसन वा क्रसिङ भनिन्छ र त्यसको दृश्य अङ्ग्रेजीको एक्स आकार जस्तो बन्छ । यो क्रसिङ तीन प्रकारका हुन्छन्, जसलाई क्रमशः सुपेरियर सेरेब्रल पेडङ्कल, फोरेल डिकसेसन र मिनर्ट डिकसेसन भनिन्छ । पहिलोमा सेरेब्रल र अर्कोमा सिएनसका स्नायु तन्तुहरू मात्र हुन्छन् । दोस्रोमा रुब्रो स्पाइनल ट्रैक्ट भन्ने नर्भहरू क्रस गरेका हुन्छन् । तेस्रोमा ३, ४ र ६ वाँ क्रेनियल नर्भ फाइबरहरू क्रस गरेका हुन्छन् ।

रेड न्युक्लियस ः यो ग्रेमैटरको अपेक्षाकृत ठूलो कोषहरूको डल्ला हो, जो सुपेरियर कोलिकुलस र हाइपोथैल्मसको बीचमा अवस्थित हुन्छ । यो धेरै नै महत्वपूर्ण भाग हो । यसका दुई भाग हुन्छन्ः न्युक्लियस मेगानोसेल्युलरिस र न्युक्लियस पारभोसेल्युलरिस । पहिलोमा अपेक्षाकृत ठूलो न्युक्लियस हुन्छ । यसका फाइबरहरूले मिलेर रूब्रो स्पाइनल र रूब्रो वल्वर ट्रैक्टको निर्माण गर्छन् । दोस्रोमा सेल्सहरू साना हुन्छन् र फाइबरहरूले रूब्रोरेटिकुलर नामक ट्रैक्टको निर्माण गर्छन् । रेड न्युक्लियसका कनेक्सनहरू निम्न छन् ः मोटर कार्टेक्सको एरिया ६ देखि पारभोसेल्युलरिससम्मका फाइबर जसलाई कार्डियोरुब्रल फाइबर भनिन्छ ।

ग्लोबस पैलिडस र सबथैल्मसदेखि मैग्नोसेल्युलरिससम्म जसलाई पैलिडोरूब्रल फाइबर भनिन्छ । अर्को साइडको डेन्टेट न्युक्लियसदेखि मैग्नोसेल्युरिससम्म जसलाई डेन्टेटोरूब्रल फाइबर भनिन्छ । यी त भए रेड न्युक्लियसका एफरेन्ट अथवा संवेदना पुर्याउने नर्भहरू । रेड न्युक्लियसमा एफरेन्ट अथवा संवेदनाको उत्तर पुर्याउने नर्भ फाइबर पनि हुन्छन् । यसमा रूब्रो स्पाइनल ट्रैक्टदेखि स्पाइनल कर्डसम्म र रूब्रोवल्वरदेखि मेड्युलासम्मका नर्भ फाइबरहरू आउँछन् । रूब्रोरेटिकुलरदेखि रेटिकुलर फर्मेसनसम्म, रूब्रोथैल्मिक ट्रैक्टदेखि थैल्मसको अगाडि भागको साइडसम्म, रूब्रोओलिभरी ट्रैक्टदेखि इनफेरियर ओलिभरी न्युक्लियससम्म र अन्य फाइबरहरू जो ३, ४ र ६ वाँ केनियल नर्भबाट आउँछन्, ती सबै एफरेन्ट फाइबरहरू हुन् । रेड न्युक्लियसले मांसपेशीको टोन र त्यसको जटिल गतिको इन्टिग्रेसन, आँखाको गति र स्किल्ड एक्टिभिटी जसरी स्वेटर बुन्ने या लेख्ने कामको नियमन गर्छ ।

पाठकबृन्द, यी सबै नाम र कनेक्सनहरूका विवरण धेरै जटिल छन् तर आत्तिनुपर्ने कारण छैन । जसरी पोलहरूमा तार दगुर्छन्, त्यस्तै यहाँ पोलरूपी न्युक्लियसमा नर्भ फाइबरहरू दगुर्छन् । फरक यति छ कि न पोलका नाम हुन्छन्, न त तारहरूको । तर वैज्ञानिकहरूले यहाँ त्यसका नामाङ्कन मात्रै गर्दैनन्, बरु त्यसका सङ्ख्या पनि गिन्ती गर्छन् र आगामी खोजको बाटो प्रशस्त गर्छन् । ग्रह नक्षत्रका नाम नराखिएको भए पतै पाउन सकिंदैनथ्यो कि कुन ग्रह र तारा कुन हो र कहाँ छन् । यति याद राखे पुग्छ कि ब्रेनका यी भाग सूचना ल्याउने र लग्ने कामका अतिरिक्त स्वयंले पनि केही निर्णय लिन्छन् । यो कुरा जिल्ला, उच्च र सर्वाेच्च अदालत जस्तो छ । केही फैसला जिल्ला अदालतमा नै टुङ्गिन्छ, केहीको अधिकार उच्च अदालतमा हुन्छ र सर्वोच्चमा अधिकतम हुन्छ । ब्रेनमा त्यसरी नै ब्रेनस्टेम, सेरबेलम र सेरेब्रम गरी तीन अदालत छन् । नाम र कनेक्सनको ज्ञान रङ्गीन तस्वीरले राम्ररी बुझ्न सकिन्छ । अस्तु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here