• उमाशङ्कर द्विवेदी

मेरा पिता रणभूमिमा मृत्यु प्राप्त गरेर अवश्य नै वीरहरूको लोकमा गएका छन्, अतः उनको निम्ति मेरो मनमा कुनै किसिमको शोक छैन तर धर्ममा प्रवृत्त रहँदारहँदै पनि उनको कपाल समातियो, सबै सैनिकको सामु उनको अपमान गरियो–यसले मेरो मर्मस्थानलाई छेडिरहेको छ । मजस्तो पुत्र जीवित छँदाछँदै पनि उनलाई यो दिन हेर्नुपर्यो । दुरात्मा धृष्टद्युम्नले मेरो अपमान गरेर यो महान् पाप गरेको छ, यसको भयङ्कर परिणाम उसले छिट्टै भोग्नुपर्नेछ । युधिष्ठिर पनि कत्रो भूmटो हो । उसले बडो अन्याय गरेर छलपूर्वक मेरो पिताको हतियार बिसाउन लगायो, अतः आज यो पृथ्वी त्यस धर्मराज भनाउनेको रक्तपान गर्नेछ । आज म आफ्नो इष्टापत्ति कर्महरूको शपथ खाएर भनिरहेको छु कि सम्पूर्ण पाञ्चालको संहार नगर्दासम्म म कदापि जीवित रहनेछैन । हरेक प्रकारले उपाय गरेर पाञ्चालहरूको नाश गर्ने प्रयत्न गर्नेछु । कोमल वा कठोर कर्म गरेर भएपनि पापी धृष्टद्युम्नको नाश गरिछाड्नेछु । पाञ्चालहरूको संहार नगरुन्जेलसम्म मैले शान्ति पाउन सक्नेछैन । संसारका मानिसहरूले पुत्रको चाहना यसै कारणले राख्छन् कि पुत्र इहलोक र परलोकमा महान् भयबाट पिताको रक्षा गरोस् तर म जीवित नै छु र मेरो पिताको पुत्रहीनझैं दुर्दशा भइहाल्यो । धिक्कार छ मेरा दिव्यास्त्रहरूलाई, धिक्कार छ मेरा यस भुजाहरू र मेरो पराक्रमलाई, मजस्तो पुत्र छँदाछँदै पनि मेरो पिताको कपाल समातेर तानियो । अब म यस्तो काम गर्नेछु, जसबाट म पिताको ऋणबाट उऋण हुन सकूँ । श्रेष्ठ पुरुषले आफ्नो प्रशंसा स्वयम् आफूले नै गर्नुहुँदैन, तथापि आफ्नो पिताको वध सहन गर्न गार्हो छ, त्यसैले आफ्नो पौरुषको बारेमा भन्दैछु । आज कृष्ण र पाण्डवहरूले मेरो पराक्रम हेर्नेछन्, उनीहरूको सम्पूर्ण सेनालाई माटोमा मिसाएर प्रलयको दृश्य उत्पन्न गरिदिनेछु । रथमा बसी संग्रामभूमिमा पुगेपछि आज मलाई देउता, गन्धर्व, असुर, नाग र राक्षसहरूले पनि जित्न सक्नेछैनन् । संसारमा मभन्दा वा अर्जुनभन्दा अर्को कोही अस्त्रवेत्ता छैन । मलाई एउटा यस्तो अस्त्रबारे थाहा छ, जसको बारेमा न कृष्णले जान्दछन्, न त अर्जुनले नै जान्दछन् । भीमसेन, युधिष्ठिर, नकुल, सहदेव, धृष्टद्युम्न, शिखण्डी तथा सात्यकिलाई पनि यसको ज्ञान छैन ।

पूर्वकालको कुरा हो, मेरा पिताले नारायणलाई नमस्कार गरेर उनको विधिवत् पूजन गरेका थिए । भगवान्ले उनको पूजन स्वीकार गरेर वर माग्नलाई भने । पिताजीले उनीसित सर्वोत्तम नारायणास्त्रको याचना गरेका थिए । अनि भगवान् नारायणले भनेका थिए–मैले यो अस्त्र तपाईंलाई दिंदैछु । अब युद्धमा तपाईंको सामना गर्न सक्ने कोही पनि रहनेछैन तर ब्राह्मण देउता, यसको सहसा प्रयोग गर्नुहुँदैन, किनभने यो अस्त्र एकचोटि प्रहार गरेपछि यसले शत्रुलाई नमारी फर्कनेछैन । अवध्यको पनि वध गरिछाड्छ । यसलाई शान्त पार्ने उपाय यस्ता छन्–शत्रु आफू चढेको रथ त्याग गरी भुइँमा उभिएमा, हतियार बिसाएर हात जोडी यसको शरणागत भएमा । अन्य कुनै उपायबाट यसको निवारण हुन सक्दैन । भगवान् नारायणले यति भनेर नारायणास्त्र मेरो पिताजीलाई प्रदान गरेका थिए तथा पिताजीले मलाई सिकाइदिएका थिए । भगवान् नारायणले यो अस्त्र दिने बेलामा पिताजीसित भनेका थिए–तपाईंले अब यसबाट कुनै पनि दिव्यास्त्रलाई नष्ट पार्न सक्नुहुनेछ र संग्राममा बडो तेजस्वी देखिनुहुनेछ । यति भनेर भगवान् नारायण आफ्नो परमधाम गइसके । यो नारायणास्त्र मलाई मेरो पिताजीबाट प्राप्त भएको छ । यसबाट म युद्धमा पाण्डव, पाञ्चाल, केकय र मत्स्यहरूलाई मारेर धपाउनेछु । पाण्डवहरूको अपमान गरेर सम्पूर्ण शत्रुको विध्वंस गरिदिनेछु । ब्राह्मण र गुरुसित द्रोह गर्ने पाञ्चालकुलकलङ्क धृष्टद्युम्नलाई पनि जीवित छाड्नेछैन ।

अश्वत्थामाको यस्तो कुरा सुनेर भाग्दै गरेको कौरवसेना फर्किआयो । सबै महारथीले आआफ्ना शङ्ख बजाउन थाले । भेरी, मृदङ्ग तथा दमाहाहरू बजाउन थालिए । ती बाजाहरूको तुमुल ध्वनिबाट आकाश र पृथ्वी गुञ्जायमान भयो । मेघको गम्भीर गर्जना समानको त्यस तुमुल नादलाई सुनेर पाण्डव महारथीहरू एकत्र भई परामर्श गर्न थाले । यसैबीचमा अश्वत्थामाले आचमन गरेर नारायणास्त्र प्रकट गरे । क्रमशः …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here